Friday, October 10, 2025
Homebreaking-newsआगो विपद्मा तयारी के छ ?

आगो विपद्मा तयारी के छ ?

- Advertisement -spot_img

जीत सागर जी.एम.

विपद् पूर्वसूचना दिएर आउँदैन् । तर पूर्वतयारी भयो भने विपद्बाट हुने क्षति भने कम गर्न सकिन्छ । केहीदिन अघि तुलसीपुरमा जुत्ता, चप्पल गोदाममा भएको आगलागीमा पाँचजनाको मृत्यु भएको घटनाले सबैलाई विक्षिप्त बनाएको छ । तुलसीपुरको पछिल्लो उदाहरणमात्रै हो । जिल्लामा आगलागीबाट वर्षेनी भौतिक तथा मानवीय क्षति हुने गरेको छ । अझ विषेशगरी गर्मी मौसममा आगलागीका घटना बढी हुने गरेका छन् । गाउँमा मानवीय लापरबाही र सहरमा विद्युतीय उपकरणका कारण आगलागीका घटना हुने गरेका छन् । आगलागीबाट क्षति न्यूनीकरण पालिकाहरूले कस्तो तयारी थालेका छन् त । प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा पालिकाहरूलाई ल्याएका छौं । – सम्पादक


जनशक्ति र उपकरण व्यवस्थापन

तुलसीपुर उपमहानगरपालिकामा विस्तारै बजारीकरण हुँदैछ । नगरमा बजारीकरणसँगै जनघनत्व पनि बढ्दै गरेको अवस्थामा आगलागीजन्य विपद्जन्य घटनाको जोखिम पनि बढ्दै गएको छ । पछिल्लो समय केहीदिन अघिमात्रै तुलसीपुरमा भएको आगलागीबाट धेरै मानवीय तथा भौतिक क्षति भयो । यसैले पनि आगलागीजन्य घटनाबाट क्षति कम गर्न लागि अहिलेको अवस्थामा आवश्यक जनशक्ति, भौतिक सामग्री आवश्यक छ । अहिले भएका जनशक्ति, दमकललगायतका भौतिक सामग्री पर्याप्त छैनन् भन्ने देखिएको छ । यसबाट हामीले धेरै कुराको पूर्वतयारी गर्न आवश्यक छ भन्ने ठानेर नै दशौँ नगरसभाबाट आगलागी नियन्त्रणमा आवश्यक जनशक्ति, भौतिक सामग्रीका विषयमा गहन छलफल गरेका छौँ ।

तुलसीपुर उपमहानगरपालिकाले आगलागीजन्य घटना न्यूनीकरण तथा क्षति कम गर्नेका लागि विभिन्न योजनाहरू बनाएको छ । यसका लागि संघ र प्रदेश सरकारसँगको सहयोगमा उच्च प्रविधियुक्त सामग्री सहयोग खरिद गर्ने प्रक्रियाका लागि अघि बढेका छौँ । नगरमा अहिले एउटा दमकल छ । यसलाई व्यवस्थित गरेर अझै अर्को ठूलो क्षमताको उच्च प्रविधिको दमकल किन्ने योजना अघि बढेको छ । अहिलेको अवस्थामा आगो नियन्त्रणका लागि यो दमकल पर्याप्त भएन् । बजारका घरहरू विस्तार अग्ला बन्दै गएका छन् । बस्ती बाक्लिदै जाँदा जोखिम पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

यस्तो अवस्थामा आगो नियन्त्रणका लागि उच्चस्तरिय प्रविधियुक्त सामग्रीको खरिद गर्नका लागि प्रक्रिया अघि बढाएका छौँ । नगरले दमकलमात्रै होइन्, आगो निभाउने अन्य प्रविधि भित्र्याउने योजना बनाएको छ । यतिमात्र नभएर विषेशगरी सहरमा मापदण्ड बाहिरका संरचना बन्दै गरेको अवस्थामा आगलागीजन्य घटनामा बढी क्षति हुने गरेको केही दिनअघिको घटनाले देखाएको छ ।

मापदण्डभित्र बनेको भवन भएको भए मानवीय क्षति कम गर्न सकिन्थ्यो । पाँच तलाको भवन तर बाहिरभित्र गर्नका लागि एउटै गेट हुँदा आगलागीमा त्यस्तो किसमको समस्या भएको हो । मापदण्डमै रहेर भवन निर्माणका लागि नगरले बनेका आचारसंहिता कडाइका साथ कार्यान्वयनमा लैजाने छ । यसका लागि नगरले भवन निर्माण आचारसंहित नीति बनाइसकेको छ । कार्यान्वयनमा केही ढिलाइ भएको छ । अबदेखि बन्ने भवन सोहि आचारसंहितामा रहेर निर्माण गर्नुपर्ने छ ।

आचारसंहिता विपरीत भवन बनाउनेलाई कस्तो किसिमको कारबाही हुने भन्नेमा सोहि आचारसंहिताले बताउने छ ।
नगरमा अहिले आगोजन्य विपद्बाट क्षति कम गर्नका लागि दमकलसँगै एम्बुलेन्स, सञ्चार सेट र सामान्य किसिमको आगो निभाउनका लागि फाइर एक्सट्रेङ गुसरलगायतका सामग्री छन् । ति सामग्री हिजोका दिनमा पर्याप्त थिए तर अहिलेको अवस्थामा अत्याधुनिक प्रविधियुक्त सामग्रीको आवश्यकता देखिएको छ ।

जसले गर्दा आगोजन्य विपद्बाट हुने क्षति धेरै कम गर्न सकियोस् । यतिमात्रै नभएर आगलागी नियन्त्रणका लागि स्थानीय विपद् प्रतिकार्य समूह निर्माण गर्नका लागि नगरले आवश्यक तयारी गरिरहेको छ । आगलागीजन्य घटना न्यूनीकरणका लागि आवश्यक जनशक्तिका लागि प्रक्रिया अघि बढाएका छौँ । उपमहानगरमा नगर प्रहरी राख्नका लागि ऐन पारित गरिसकेका छौँ । अब नगरमा नगर प्रहरी भर्ना गर्न सकियो भने उनीहरूलाई नै आगलागीजन्य विपद्मा परिचालन गर्न सहज हुने छ । विपद्जन्य घटना खटिनका लागि तालिमप्राप्त टिमको आवश्यक छ । त्यसका लागि नगर प्रहरीलाई तालिमप्राप्त बनाएर त्यस्ता विपद्मा प्रयोग गर्न सकिन्छ ।

अब विषेशगरी आगलागीजन्य घटना न्यूनीकरणका लागि स्थानीय आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई प्रभावकारी बनाउने, संघ र प्रदेशसँगको सहकार्यमा उच्च प्रविधियुक्त सामग्री गर्ने योजना छ भने भवन आचारसंहितालाई पूर्णरूपमा पालना गराउनेछौं । त्यसैगरी व्यवसाय सञ्चालन गर्दाखेरी सुरक्षा मापदण्ड र विद्युत प्राधिकरणलाई विद्युतीय सुरक्षाको पूर्णरूपमा पालना गराएर अघि बढ्ने योजना बनाएका छौँ । बजेटकै लागि हामीले संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने हो ।


पूर्ण तयारीमा उद्धार टिम

आगलागीजन्य विपद्बाट क्षति न्यूनीकरण गर्नका लागि घोराही उपमहानगरपालिकाले सबैभन्दा पहिला त दमकल नै दुईवटा राखेको छ । घोराहीमा एउटा दमकल पहिलेदेखि नै थियो, तर पुरानो हुँदै गएको र कम क्षमता भएका कारण अर्को दमकलको आवश्यकता देखिएको हो । पाँच वर्षअघि म निर्वाचित भएर आउँदाखेरी घोराहीमा आगोजन्य घटनाबाट क्षति कम गर्नका लागि अर्को दमकल पनि आवश्यकता छ भन्ने बुझेर पहिलेको भन्दा बढी क्षमताको दमकल खरिद गरिएको हो ।

बढ्दो सहरीकरणसँगै ठूला–ठूला भवनमा पनि आगो निभाउनका लागि पछिल्लो दमकल उपयुक्त छ । केहीदिन अघि तुलसीपुरमा भएको आगलागीमा पनि घोराहीको दमकल पुगेको थियो । तुलसीपुरमा आगलागी भएको जानकारी आउने बित्तिकै मैले नै अत्याधुनिक दमकल पठाएको थिएँ । त्यसले पनि आगो निभाउनमा धेरै सहज भएको कुरा प्रमुख जिल्ला अधिकारीले बताउनुभएको थियो । घोराहीले दमकल किन्यो भने तुलसीपुरलाई, तुलसीपुरमा भएको दमकल घोराहीलाई । यी कुरा भनेको एकले अर्कालाई पर्ने समस्या भएका कारणले पनि सहकार्य गरेर जाने नै हो ।

आगोजन्य घटनाबाट मानवीय तथा भौतिक क्षति कम गर्नका लागि पूर्वतयारी हुनु नै पर्छ । घोराहीमा अहिलेको अवस्थामा दमकलमात्रै होइन् । आगलागीमा परेका नागरिकलाई तत्काल उद्धार गर्नका लागि चारजनाको उद्धार टिम पनि छ । त्यो टिमलाई दशैँतिहार भन्ने केही हुँदैन् । २४सैँ घण्टा त्यो टिम त्यस्ता विपद्जन्य घटनामा उद्धारका लागि खटिन्छ । तुलसीपुरमा भएको घटनामा पनि त्यो टिम पुगेको थियो तर केही ढिलाइ भएका कारण हामीले मानवीय क्षति बेहोर्नुपरेको हो ।

समयमै जानकारी भएको भए सायद मानवीय क्षति कम गर्न सकिन्थ्यो कि भन्ने सबैलाई लागेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग तालिम सिकेर त्यो टोली निर्माण गरिएको हो । टोलीसँग आगोजन्य घटनामा उद्धारका लागि आवश्यक सामग्रीहरू पनि छन् । तर पर्याप्त छन् भन्दैन्, अझै अत्याधुनिक सामग्रीको खाँचो त छ नै ।

घोराहीमा अहिले भएका अग्नी नियन्त्रण गर्ने सामग्रीले बढ्दो सहरीकरणसँगै बनेका भवनमा आगो निभाउन निकै मुस्किल भने अवश्य पर्छ । यसका लागि अब भवन बनाउँदा पनि निश्चत मापदण्ड अपनाएर बनाउनुपर्ने नीति बनाउँछौँ । सकेसम्म आगलागी नै हुन नदिने प्रकारले भवनको संरचना निर्माण गर्ने र आगलागी भइहालेमा तत्काल आगो नियन्त्रणमा ल्याउन सकियोस् । त्यस्तो किसिमले भवन बनाउन आवश्यक छ । यसका लागि घोराही उपमहानगरपालिकाले नीति बनाएर अघि बढ्ने छ । यस्तै साँघुरा सडक, अर्थात् गल्लीमा दमकल पुग्न सक्ने अवस्था हुँदैन् । त्यस्तो ठाउँमा खानेपानीका पाइपको चेम्बर बनाउने योजना पनि बनाएका छौँ । आपत्कालिन अवस्थामा खानेपानीको पाइपबाटै आगो निभाउन सक्ने व्यवस्था गछौँ । यसले पनि आगोजन्य घटनाबाट हुने क्षति धेरै कम गर्न सक्छ ।

त्यसैगरी घरमा विद्युत जोखिममुक्त बनाउनु पनि पर्छ । अहिले सहरमा हुने आगलागी भनेको खरको छानो भएर होइन्, अधिकांश आगलागी विद्युतीय उपकरणको प्रयोगको बेलामा नै आगलागीका घटनाहरू हुने गरेका छन् । त्यस्ता घटनाबाट जोगिनका लागि विद्युतीय उपकरण प्रयोगमा उच्च सावधानी अपनाउनका लागि सचेतना दिने काम पनि नगरले गरिरहेको छ । नगरले आगो निभाउनका लागि उच्चतम प्रविधि खरिदका लागि अघि बढ्ने योजना बनाएको छ । सायद तत्कालै ति प्रविधिको खरिदका लागि प्रक्रिया अघि बढ्छ ।


संघसंस्थाको समन्वयबाट कार्य

आगलागीजन्य विपद्का घटनाबाट क्षति कम गर्नका लागि हामीसँग दमकल वा अन्य प्रकारका अत्याधुनिक प्रविधि केही छैन् । राजपुरमा अधिकांश सडकको पहुँचभन्दा बाहिर भएका कारण आगो निभाउनका लागि दमकल सम्भव छैन् । अहिले तत्कालको अवस्थामा गाउँपालिकामा रेडक्रसले ठाउँ–ठाउँ आगो नियन्त्रण गर्ने समिति निर्माण गरेको छ । अहिले कहिकतै आगलागीका घटना भइहालेमा सोही टोलीले स्याउला र पानीले आगो निभाउने हो । गाउँपालिकाले अहिले तत्कालको अवस्थामा अत्याधुनिक प्रविधि खरिद गर्ने योजनामा पनि छैन् । गाउँपालिकामा अधिकांश बस्ती सिमानाकामा पर्छन् । ति बस्ती सडक सञ्जालसँग नजोडिएका कारण आगोजन्य विपद्मा निकै समस्या हुन्छ । माटो, स्याउला, पानीको भरमा आगो निभाउने गरेका छौं ।

गाउँपालिकामा अधिकांश बस्तीका घर खरको छानोले बनेका छ । त्यसकारण पनि आगलागीको जोखिम झन् बढी देखिन्छ । वर्षा र हिउँदमा भन्दा पनि गर्मी मौसममा आगलागीको जोखिम बढी हुने गरेको छ । तर पनि गाउँपालिकाले मात्रै आगो निभाउने प्रविधि भित्र्याउन सक्ने अवस्था छैन् । अहिलेसम्म भगवान भरोसामै आगोजन्य विपद्बाट क्षति कम गरिरहेका छौँ । आगो लाग्नै नदिनका लागि सचेतना दिने र यदि आगो लागिहालेमा आगो निभाउनका लागि छिमेकी गाउँलेको सहारा लिनुको विकल्प छैन् । भौगोलिक विकटताका कारण विपद्जन्य घटनामा क्षति कम गर्न निकै मुस्किल पर्छ । आगलागीका घटनाबाट बच्नका लागि सकेसम्म खरको छानो विस्थापित गर्ने हो तर धेरै बस्ती खरको छानोले बनेका छन् । संघीय सरकारको खरको छानोमुक्त अभियानमार्फत राजपुरमा पनि प्राथमिकताका आधारणमा खरको छानो विस्थापित गराउने काम भइरहेको छ ।

अहिलेसम्म आगलागीबाट ठूलो क्षति भोग्नुपरेको त छैन् तर जोखिम भने निकै छ । अधिकांश बस्तीहरू वनको नजिक छन् । त्यसकारण पनि गर्मी समयमा आगलागीको जोखिम बढी हुन्छ । तर पनि स्याउला र पानीभन्दा आगो निभाउने विकल्प अरू छैन् । आगो नियन्त्रणका लागि दमकलको कुनै पनि सम्भव नभएकाले यसको परिकल्पनासमेत गरेका छैनौँ । यसका लागि सर्वप्रथम सडकको पूर्वाधार विकास गर्नुपर्छ भनेर नै सडक बस्तीमा पु¥याउन स्थानीय सरकारको ध्यान बढी पुगेको छ । सडकको विकास भएमात्रै अरू विकास सम्भव हुन्छ भन्ने सोचका साथ सडक पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।

सडकको पहुँच सबै बस्तीसमम पुग्न सक्यो भने आगो नियन्त्रणका लागि दमकल खरिद गर्ने प्रक्रिया अघि बढ्न सक्छ । यसका लागि हामीले सोच्न सक्छौँ । आगो नियन्त्रणका लागि दमकलबाहेकको वैकल्पिक उपायबारे सोचेका छैनौँ । आगो निभाउने वैकल्पिक उपायमा पालिकाले लगानी लगाएको छैन् । सानो आगो निभाउनका लागि ग्याँस र आगोमा परेकालाई उद्धार गर्ने सामग्री पनि छैनन् । यसका लागि हामीले अहिले नै योजना बनाएका छैनौं, तर आवश्यकता देखिएकाले यसको खरिदका लागि पनि छलफल गछौँ र निर्णय प्रक्रियामा अघि बढ्छौँ ।


दक्ष जनशक्ति उत्पादन

बंगलाचुली गाउँपालिकाको भूगोल नै पाखा–पखेरा भएकाले गर्मी समयमा आगलागीका घटनाहरू बढी हुने गर्छन् । पहाडी भूभाग भएका कारण पनि दमकलले आगो नियन्त्रण गर्ने पनि असम्भव हुन्छ । बंगलाचुलीमा आगो नियन्त्रण गर्ने भनेको अहिलेको अवस्थामा त स्थानीय समुदाय नै हो । उनीहरूलाई नै आगो नियन्त्रणका लागि कसरी चनाखो बनाउने ? भन्ने विषयमा गाउँपालिकाले सचेतनाका कुराहरू प्रदान गरिरहेको छ ।

सकेसम्म आगलागीका घटना हुन नदिने र आगलागी भइहालेमा आगो नियन्त्रणका लागि विभिन्न समितिहरू बनेको छ । स्थानीय टोल विकास संस्था, जनप्रतिनिधि सम्मिलित समिति बनेको हुँदा पनि आगो नियन्त्रणमा अहिले सोहि समिति नै सक्रिय बनेको छ । भूगोल नै अप्ठेरो भएकाले आगलागी भइहालेमा क्षति कम गर्न निकै समस्या हुन्छ । सबै ठाउँमा मोटरबाटो पुगेको छैन् । मोटरबाटो पुगे पनि पहाडी भूगोलमा खरका छानोले घरहरू बनेकाले आगो नियन्त्रणमा निकै समस्या हुन्छ । पहाडी क्षेत्रमा आगोबाट क्षति कम गर्नका लागि गाउँपालिकाले विभिन्न समयमा उद्धार टोलीलाई सक्रिय बनाउन भूमिका खेलिरहेको छ ।

गाउँपालिकामा अधिकांश घरहरू खरको छानोले बनेका छन् । ति खरको छानोलाई विस्थापित गर्ने गाउँपालिकाले योजना प्राथमिकतामा राखेको छ । कम्तिमा पनि सबै घरहरू खरको छानोमुक्त हुनसके भने आगलागीका घटना न्यूनीकरणमा समस्या हुनेछैन् । तर अहिले तत्काल घरको छानो विस्तार हुन्छन् भन्ने छैन् । बजेट अभावका कारण सबै घरमा खरको छानोमुक्त हुनका लागि समय लाग्ने देखिएको छ । गाउँपालिकाले जतिसक्दो छिटो खरको छानो भएका घरमा जस्तापाता लगाउने काम गरिरहेको छ । कामलाई तिब्रगति दिन सक्यौँ भने पनि यसवर्षको गर्मी मौसममा आगोजन्य घटना न्यूनीकरणमा थप सहयोग पुग्छ । तर तत्काल असम्भव देखिएको छ ।

गाउँपालिकाले सम्भव देखिएका कामलाई तत्काल प्रक्रिया अघि बढाउँछ । पछिल्लो समय तुलसीपुरमा भएको आगलागीको घटनाले पनि पूर्वतयारीलाई व्यापकता दिनुपर्छ भन्ने सिकाएको छ । तर भौगोलिक विकटताका कारण हामीले दमकल ल्याउन सक्ने अवस्था भएन् । अहिलेको अवस्थामा तत्काल दमकल खरिद गर्ने योजना पनि बनाएका छैनौँ । दमकल खरिद गर्न बजेट पनि धेरै चाहिने र पहाडी भूगोलमा समस्या हुने भएकाले अहिले नै दमकल खरिदको योजना बनाएका छैनौं ।

गाउँपालिकाले दमकल खरिद नगरेपनि आगो निभाउने अन्य वैकल्पिक सामग्री खरिदका लागि छलफलमा छौँ । आगलागी भनेको पूर्वसूचना दिएर हुने कुरा होइन्, तर आगो नियन्त्रणको पूर्वतयारी भने हुन आवश्यक छ । त्यसका लागि बंगलाचुली गाउँपालिकाले आगो नियन्त्रण गर्ने जनशक्ति, खरका छानामुक्त गराउने र आगो निभाउने ग्याँसको खरिद गर्ने योजना बनाएको छ । गाउँपालिकामा विपद्जन्य घटनामा परेकाहरूलाई तत्काल उपचार गर्नका लागि दुईवटा एम्बुलेन्स गाउँपालिकासँग छ ।

विषेशगरी पालिकामा अहिले भएका सामग्री सबै पर्याप्त छैनन् । यसका लागि गाउँपालिकाले खरिद गर्न गम्भीर रूपमा छलफल प्रक्रियालाई अघि बढाएका छौं । सम्भव भएसम्म छिटो खरिद गर्ने गरी अघि बढ्छौं । यस्तै विद्युतीय उपकरणको प्रयोगबारे पनि सकेसम्म धेरै जानकारी गराउने र त्यसबाट हुने क्षति कम गर्ने योजनाका साथ अघि बढेका छौँ । बजेट अभावका कारण सबै सामग्री पूर्ण नहुन सक्छन् तर आगोजन्य विपद्बाट जतिसक्दो कम क्षति गर्नका लागि हामीले प्रक्रिया अघि बढाएकाछौँ ।0

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here