के.बि. मसाल
पर्यटनभित्र एउटा पक्ष छ ग्रामीण पर्यटक । पर्यटन भन्ने वित्तिकै धरैको बुझाइमा कैला कपाल, कुहिरो आँखा भएका तेस्रो मुलुकको मानिसहरूलाई लिने गरिन्छ । तर त्यस्तो बुझाइ गलत हो । पर्यटक जो पनि हुन सक्दछ । पछिल्लो समय हामी नेपालीहरूमा पनि घुमघामको संस्कृतिको विकास भएको छ । पर्यटनको विकासमा यसलाई राम्रो मान्नुपर्दछ । जाजरकोट ग्रामीण पर्यटनको लागि उपयुक्तस्थल मानिन्छ । जाजरकोटमा पर्यटनसँग जोडिएको इतिहास र दर्जनौ सम्पदा र संस्कृति रहेका छन् ।
नेपाल सरकारले सार्वजनिक गरेको देशभरका एक सय पर्यटकीय गन्तब्यमा जाजरकोट दरबारलाई पनि सूचीकृत गरिएको छ । यो दरबार जाजरकोटको ऐतिहासिक, राजनैतिक तथा पुरातात्विक महत्व बोकेको साढे दुई सय वर्ष पुरानो दरबार हो । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको खलंगामा रहेको दरबार पर्यटकको गन्तब्य मात्र होइन जिल्ला प्रशासनको केन्द्र पनि हो ।
जाजरकोट घुमघामको लागि जाने पर्यटकहरूको अध्ययन अवलोकन धेरै पर्यटकहरूको यहि दरबारबाट सुरू हुन्छ जाजरकोट जिल्लामा बाह्य पर्यटकहरू धेरै नपुगे पनि ग्रामीण पर्यटनको लागि घुमफिर गर्ने धेरै स्थलहरू छन् । जाजरकोटको खलंगाबाट रूकुम र सल्यान जिल्लाका धेरै गाउँहरू अवलोकन गर्न सकिन्छ । डोल्पादेखि बग्दै आएको भेरी नदीको नागबेली आकारको सुन्दरताले जाजरकोट पुग्ने सबै पर्यटकहरू आकर्षित हुन्छन् ।
जाजरकोटको राजधानी सुरूमा जगतीपुरमा थियो । जाजरकोट राज्य तत्कालिन राजा देवसिंहको घोडाले चरिचरण गर्दा खलंगाको टाकुरामा मन पराएको र बाईसे–चौबीसे राज्यको लडाइँ चलिरहेका बेला सुरक्षा दृष्टिूकोणले पनि उपयुक्तस्थान भएकोले १६आँै शताब्दीमा जगतीपुरबाट खलंगामा राजधानी सारिएको थियो । खलंगामा सुरूमा सामान्य दरबार निर्माण भएपनि १८आँै शताब्दीको ३० को दशकमा तत्कालीन राजा गजेन्द्रनारायणले साततले दरबारको निर्माण गरेका थिए ।
दरबार निर्माण गर्न भक्तपुरका कालिगढले डिजाइन गरेका थिए । दरबारमा रूकुमको चौरजहारीको इँटा प्रयोग भएको थियो । दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयुरद्वार, नारायण थान गायत रहेको थियो ।
वि.सं. १९९० सालको भूकम्पले दरबार भत्किएपछि पुनः निर्माण गर्दा अहिलेको स्वरूप चार तला मात्र बनाइएको हो । दरबारबीच रानीहरूले नुहाउने तलाउ र दुई सिंहले खुट्टा उचालेर आक्रोस व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्वार भने अहिले छैन । वि.सं. १९१४ मा ताक्लाकोटको लडाइँमा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले विजय हासिल गर्दाका छालाको तोप र अन्य हतियार अहिले राष्ट्रिय संग्रहालय छाउनीमा रहेको छ ।
सरकारले २०१७ सालमा राजा रजौटाको उन्मूलन गरेपछि जाजरकोट राज्यका अन्तिम राजा प्रकाशविक्रम शाहले २०४२ सालमा जिल्ला पञ्चायतलाई ६० हजार रूपैयाँमा दरबार बिक्री गरेका थिए । त्यसपछि दरबारमा जिल्ला प्रशासन कार्यालय बस्दै आएको छ । इतिहासमा रूचि भएका पर्यटकहरूलाई यो दरवारको अध्यन अवलोकनले धेरै कुरा सिकाउँछ ।
जाजरकोट संस्कृतिको धनी जिल्ला मानिन्छ । जाजरकोटमा धामी झाक्रीको विश्वास गर्ने प्रचलन छ । मेला पर्वमा गाउँमा धामी नाच हुने गर्दछ । ग्रामीण भेगमा घुमफिर गर्दा धामी संस्कृति र नाचहरू पर्यटकहरूले देख्न सक्दछन् । पैंक, नायकबाडा, रामीडाडा, रोकायगाउँ, सक्ला, लहा, टालेगाउ, अर्छानी, दसेरा, पजारू, थालारैकर, मजकोट, ढिमे, गर्खाकोट लगायतका विभिन्न गाउँमा अझै पनि धामी नाच नाच्ने प्रचलन छ । गाउँमा भएका मष्ट्रा, महादेव, भइयाँर, मठोभइयार, बर्मा, पितर, सुवाकोटी, बुवाकोटी, रागामाजिलो, नदाइदेवीलगायतका देवीदेवताको पूजाआजामा धामी नाच नाच्ने गर्दछन् ।
देवीदेवताको पूजाआजा र नाचले विभिन्न रोग नलाग्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने, अन्नबाली तथा पशुचौपाया उत्पादनमा वृद्धि हुनेलगायतका भाकल पूरा हुने विश्वास अधिकांश जाजरकोटीको छ । जाजरकोटका स्थानीयका लागि यो ठूलो पर्व मानिन्छ । माओवादी जनयुद्धमा समेत यो संस्कार रोकिएन । देवताको पूजाआजा गर्न र धामी नाच हेर्न हजारौंको ग्रामीण पर्यटकहरूको भीड लाग्ने गर्दछ ।
धामीहरू दमाहा, शंख, घण्ट, झ्याली, ट्याम्का, सहनाईजस्ता बाजागाजाको तालमा रमाउदै नाच्ने गर्दछन् । लामा लटा पालेका, हातमा ध्वजा, त्रिशुल, चौंरी गाईको पुच्छर, अक्षता, घण्ट र फलफूल समातेका उनीहरू उफ्रदै नाच्दै बीच–बीचमा झारफुक, ग्रहदशा हेर्दै भूतप्रेत भगाउने कार्यसमेत गर्ने गर्दछन् ।
जाजरकोटमा ग्रामीण पर्यटकहरूको लागि प्रशस्त सम्भावना रहेको छ । समुद्री सतहदेखि ५ हजार ४ सय १२ मिटरसम्मका अग्ला पहाड र जाजरकोटबाट सिस्ने एवं जलजला हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । भेरी नदी किनारमा तत्कालीन जाजरकोटी राजा दिपनारायण शाहले आफ्नी आमाको सम्झनामा बनाएको महामुक्तेश्वर तथा दिप दुर्गेश्वर मन्दिर र पछि निर्माण भएको शिवेश्वर मन्दिरमा जाजरकोट पुगेपछि तीर्थाटनका पर्यटकहरू पुग्ने गर्दछन् ।
यी मन्दिरहरूमा खासगरी तीज, चैते दसँै शिवरात्री र शिवालय क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ । जाजरकोटको सबैभन्दा अग्लो डाँडा भैरीको लेक पर्दछ । भैरी लेकमा हिमाली मृगहरूको चरिचरन क्षेत्र हो । भैरी लेकबाट कैलाली, अछाम, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, सल्यान, रोल्पा, डोल्पा र हिमाली दृष्य पनि देख्न सकिन्छ ।
जाजरकोटी राजा हरिविक्रम शाहीकी छोरी बालकुमारीको विवाह श्री ३ चन्द्रशमशेरसँग भएको थियो । चन्द्रशमशेरले विवाह गरेपछि जाजरकोटमा वि.स.१९८५ मा रूकुमको चौरजहारी र जगतिपुर, मटेला जाजरकोट जोड्ने भेरी नदीमा पुल बनाएका हुन् । यो पुल नै नेपालको पहिलो झोलुङ्गे पुल हो ।
वि.स.१९८५ सम्म नेपालमा झोलुङ्गे पुल नै थिएन । सर्वसाधारण नागरिक पौडेर वा विभिन्न माध्यमबाट नदीहरू तर्नुपर्ने बाध्यता थियो । भेरी नदीको यो पुल ब्रिटिसहरूको सहयोगमा स्कटल्याण्डको इञ्जिनीयरद्वारा निर्माण भएको हो । मटेला भेरी नदीको पुल अझै केही बिग्रिएको छैन–जस्ताको तस्तै छ । चन्द्र शमसेरले जाजरकोट खलंगामा खानेपानीको व्यवस्थासमेत गरिदिएका थिए । जुन खानेपानी अहिलेसम्म पनि जाजरकोटको सदरमुकाम खलंगाका जनताले खान पाइराखेका छन् ।
कुशे गाउँपालिकाअन्तर्गत पर्ने ढिमे, पैंक, पजारू, टालेगाउँ र अर्छानी गाउँमा ग्रामीण पर्यटकहरूलाई घुमघामका धेरै स्थलहरू छन् । कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइँमा रहेको छ । कुशे पाटन सरूगाड र चैयागाडका दुई ठूला जलाधारको प्रमुख श्रोतसमेत हो । यी गाउँमा घुमघाम गर्दा पर्यटकहरूले विभिन्न प्रजातिय जडिबुटी, बहुमुल्य रत्नपत्थर काइनाइट टुरमालिन र कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डासमेतको अवलोकन गर्न सक्दछन् ।
जुम्ला र जाजरकोटको सिमाको रूपमा रहेको कुशे पाटन पर्यटकहरूलाई आकर्षणको थलो पनि हो । च्याखुरे देउराली पाटनमा अर्थात् जुम्ला र जाजरकोटको सिमानामा पर्ने साइक्वारी दह तीर्थाटन पर्यटकहरूको गन्तब्य हो । यस धार्मिकस्थलमा विशेषगरी जुम्ला र जाजरकोट मात्र होइन अन्य जिल्लाका धेरै ग्रामीण पर्यटकहरू पनि श्रावण पूर्णिमामा पुजाआजा गर्न पुग्ने गर्दछन् । यहाँ पुग्दा जाजरकोटको भूगोलमा सातभन्दा बढी दहहरू र जुम्लाको भूगोलमा तीन भन्दा बढी दहहरू छन् ।
जाजरकोटको चाखुरे हिमाल अर्थात् कुशे मुसे लेक पनि भनिन्छ । कुशे लेककाट जुम्ला जाने पैदल मार्ग छ । जाजरकोट घुमघाममा जाने पर्यटकहरूले खलंगा, पाँचकाटे, ढिमे हँुदै सरूखोला भएर कुशेको लेक पार गरी जुम्ला जान सकिन्छ । जुन मार्गबाट पहिला जुम्लाका व्यापारीहरू घोडा लिएर व्यापारको लागि जाजरकोट हुँदै सल्यान दाङ झर्ने छोटो र प्रमुख पैदल मार्ग हो ।
जाजरकोट खलंगादेखि पाँचकाटीया हुँदै बारेकोटबाट जुम्ला जोड्ने छोटो दुरीको सडक निर्माण हुन लागेको छ । कुशे लेकबाट जुम्ला र डोल्पामा पर्ने काञ्जिरोवा र कागमारा हिमालका लोभलाग्दा दृश्यहरू देख्न सकिन्छ । टालेगाउँ र अर्छानी गाउँको भूगोलमा काइनाइट र टुर्मालिन पत्थरका खानीहरू रहेका छन् । विश्वकै उत्कृष्ट बहुमूल्य काइनाइट, टुर्मालिन, गार्नेट, रूवीलगायतका रत्नपत्थरको भण्डार मात्र होइन जाजरकोटमा पाइने फलाम, तामा, ग्राफाइडजस्ता खनिजको बारेमा पर्यटकहरूले अध्ययन अवलोकन गर्न सक्दछन् ।
जाजरकोट छिन्चु–जाजरकोट मोटरमार्गले जोडिएको छ । भौगोलिक रूपमा कर्णाली प्रदेशको केन्द्रविन्दुमा जाजरकोट जिल्ला पर्दछ । भारत र चीनलाई जोडने त्रिदेशीय द्रूतमार्गका रूपमा रहेको भेरी करिडोर जाजरकोट जिल्ला भएर डोल्पा हुँदै चीनको सिमानामा जोडिन्छ । बाँकेको भारतीय सिमा जमुनवादेखि चीनको सिमासम्मको यो सडक एक हजार ७७६ किलोमिटर लम्बाई रहेको छ । अर्कोतर्फ निर्माणाधिन मध्यपहाडी लोकमार्गको कुल १ हजार ७६५ किलोमिटरमध्ये जाजरकोट खण्डमा ८२ किलोमिटर पर्दछ ।
अहिले जाजरकोटमा छिन्चु–जाजरकोट र जाजरकोट–डोल्पा दुनै सडक सञ्जालले छोएको छ । जाजरकोट दुनै सडक रूकुम र जाजरकोट जिल्लाको भूगोलमा पर्ने गरी निर्माण भएको छ । जाजरकोट खलंगादेखि एक सय १६ किलोमिटर लम्बाईको यो सडकमा अझै पनि धेरै ठाउँमा पुल बनेको छैन ।
जाजरकोटका महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई सरकारले सार्वजनिक गरिएको गन्तब्यमा परेको छैन । जाजरकोटमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने जगतीपुर दरबार क्षेत्र, खलंगाका शिवालय मन्दिर, कालिका मन्दिर, मालिका मन्दिर, पैकको मष्टा मन्दिर, पजारूको चैत्य स्तुपा, बारेकोटका साइकुवारी, संख दह, कुकुर दह, राँगाबाचिलो, ठाकुरजीलगायतका पर्यटकीय क्षेत्रहरू छन् । जाजरकोटमा पर्यटन विकासको लागि यी पर्यटकीयस्थलको पूर्वाधार निर्माणको सुरूवात भएको छ । पर्यटन विकासका लागि जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकाहरूमा पदमार्ग र भौतिक संरचनाहरू निर्माण कार्य हुन थालेको छ ।
सामुदायिक वन क्षेत्रभित्र पर्यापर्यटन प्रवद्र्धन विकासको लागि बडालेख–झ्याकुरे टाकुरा पदमार्गको निर्माण भएको छ । पल्सेनी–बाल्यतरा–फेरा पर्यटन पदमार्ग पनि निर्माण हुन थालेको छ । त्यसैगरी कुशे गाउँपालिकाको ताँकाचौर–अरछानी–नदहीडाब पर्यटन पदमार्गको निर्माण कार्य भइरहेको छ ।
अर्कोतर्फ कुशे गाउँपालिकाको खुर्पा, समाईला, हानिसल्ला–बारेकोट पर्यटन पदमार्गको पनि निर्माण कार्य हुन लागेको छ । नलगाड नगरपालिका–१३ औलगुर्ता, खेत्तमा, व्युरूपा, सिउन हुँदै मुटकेचुला पर्यटन पदमार्गको पनि निर्माण कार्य भइरहेको छ । पछिल्लो समय जाजरकोटमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेका र प्राकृतिक सुन्दरताले भरिएका ७५ भन्दा बढी पर्यटकीयस्थलको नाम सूचीकृत गरिएको छ ।
डोल्पा जिल्लाको प्रवेशद्वारको रूपमा रहेको जाजरकोटको जलाशययुक्त नलगाड जलविद्युतले पर्यटन विकासमा सहयोग पुग्ने अनुमान गरिएको छ । जाजरकोटमा घुमघाममा जाने ग्रामीण पर्यटकहरूले विभिन्न गाउँका जङ्गलमा पाइने ५० भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटी, विश्वकै दुलर्भ वन्यजन्तु रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, जलेवा, डाँफे, मुनाल, कस्तुरीलगायतका जनावर र पंक्षीले पनि पर्यटहरूलाई आकर्षण गर्दछ । छेडाखोलाका माछा, पाली, कल्पत र मैदेको कात्तिके मह र बारेकोटी गाभालाई जाजरकोट पुग्ने पर्यटकहरूको रोजाइमा पर्दछ ।
जाजरकोटको नाम झारकोट शब्दको अपभ्रंश भै जाजरकोट भएको हो । जाजरकोटमा पहिले चारैतिर बाक्लो झारजंगल भएको र बीचमा कोट भएकोले यसलाई झारकोटभन्दा भन्दै जाजरकोट भएको भन्ने भनाइ छ । खलंगाको अर्थ डाँडामा रहेको र पर्खालले घेरिएको किल्ला हो । जाजरकोटको खलंगा समुद्री सतहबाट करिब १२ सय मिटरको उचाइँमा रहेको छ । राजनीतिक रूपबाट जाजरकोट अहिले तीन नगरपालिका र चार गाउँपालिकामा विभाजन गरिएको छ ।
जाजरकोटबाट प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई सदस्य निर्वाचित हुन्छन् । जाजरकोट जिल्लाको सिमाना पूर्वमा रूकुम र डोल्पा जिल्ला पश्चिममा– सुर्खेत र दैलेख जिल्ला उत्तरमा– जुम्ला र कालिकोट जिल्ला दक्षिण– रूकुम र सल्यानले सिमा दिएको छ ।
जाजरकोटको इतिहास
नेपाल एकीकरण हुनुभन्दा पहिले अर्थात् २०१८ सालभन्दा पहिले जाजरकोट जिल्ला सल्यानमा थियो । सल्यान, रूकुम, रोल्पा र जाजरकोटको गौडा सल्यानमा रहेको थियो । ०१८ सालपछि १४ अञ्चल र ७५ जिल्ला नेपालको प्रशासनिक क्षेत्र विभाजन गर्ने समयमा जाजरकोट छुट्टै जिल्ला बनेको हो । भुरे टाकुरे शासन कालमा कर्णाली भेगको जुम्ला जिल्लाको सिंजा क्षेत्रमा खस जातिका मल्ल राजाहरूले एउटा विशाल राज्य थियो ।
अहिलेको जाजरकोट क्षेत्र पनि त्यसबेला सिजा राज्यमा थियो । धेरै राजाहरूले राज्य गरिसके पछि ई.स.१८३३ मा जुम्ला राज्य टुक्रिएर ससाना बाईसे–चौबीसे राज्य भयो । त्यसै समयमा अर्थात् शाके सम्वत् १३००–१४५५ को अवधीमा भेरी नदीको पश्चिमी जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य सञ्चालन गरेका थिए । त्यो समयमा जाजरकोट एउटा साम्राज्य राज्यको रूपमा विकसित भएको थियो । त्यसको सिमाना जुम्लाबाट दक्षिण गंगा नदीसम्म, पश्चिममा दैलेख र पूर्वमा गण्डकी नदीसम्म फैलिएको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण बेलामा समेत जाजरकोटलाई हमला नगरी छुट्टै राज्यको रूपमा मान्यता दिएका थिए ।
कसरी पुग्ने जाजरकोट
काठमाडौँ, नेपालगंज र सुर्खेतदेखि दैनिक सार्वजनिक बस सेवा छ । जाजरकोट पुगेपछि गाउँमा घुमघाम गर्न अधिकांश गाउँमा पुग्न कच्ची सडक छन् । तर पनि पैदल यात्रामा घुमघाम गर्न रूचाउने ग्रामीण पर्यटकहरूका लागि छुट्टै मज्जा र प्राकृतिक मनमोहक आनन्द लिन सकिनेछ ।