सम्पादकीय
देशको पहिलो ठूलो पार्टी नेकपा (एमाले) ले आफ्नो महाधिवेशन सकेको छ । महाधिवेशनबाट नयाँ नेतृत्वसमेत आएको छ । जम्बो केन्द्रीय कमिटी महाधिवेशनले तयार गरेको छ । ‘एकता महाधिवेशन’ भनिएको एमाले महाधिवेशन भने एकता जस्तो देखिएन । अध्यक्ष ओली हावी हुँदा भीम रावल लगायतका पूर्व पदाधिकारीहरू ओली नीतिको विपक्षमा उभिदा निर्वाचनबाट अध्यक्ष लगायतका पदहरू चुनिए ।
अध्यक्ष केपी ओलीले वडा अधिवेशनदेखि ‘सर्वसम्मत’को राग फलाप्दै आएको भए पनि महाधिवेशनबाट केन्द्रीय नेतृत्व चुन्दा भने ओलीको दबदबा कार्यान्वयन भएन निर्वाचन प्रक्रियामा गएर मतदानबाट नै टुङग्याउनु प¥यो । यद्यपि ओलीकै पद अध्यक्षमा समेत अर्काे उम्मेदवारी प¥यो । पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुन थालेको भन्दै एमालेभित्रै लोकतान्त्रिक अभ्यास बचाउन निर्वाचन हुनपर्ने तर्क गर्दै केही नेताहरूले महाधिवेशनलाई लोकतान्त्रिक बनाई दिए ।
देश लोकतान्त्रिक प्रद्धतिमा गइसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि राजनीतिक दलहरूले पनि त्यहिअनुसार आफूलाई संस्थागत गर्नतर्फ लागेका छन् । ठूला राजनीतिक दलहरूको अहिले धमाधम महाधिवेशन भइरहेको छ । एमालेले महाधिवेशन सकिसकेको अवस्था छ, भने नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, महाधिवेशनमा लागेका छन् । देश लोकतान्त्रिक प्रद्धतिमा गईसक्दा पनि पार्टीभित्रको अलोकतान्त्रिक विधि अपनाई रहेको देखिन्छ ।
यो राम्रो भने हुँदैन । महाधिवेशन गर्दै गर्दा एमालेभित्र यो अवस्था देखिएको छ । देशकै ठूलो राजनीतिक दलले लोकतन्त्रान्त्रिक व्यवस्थामा आफ्ना नेता कार्यकर्तालाई अलोकतान्त्रिक प्रक्रियामा समाहित गर्नतर्फ लाग्नुले विभिन्न शंका, उपशंकासमेत उब्जाउनु स्भाविक हो । महाधिवेशनको प्रक्रियामा सर्वसममत नारा दिएर प्रतिकूल नेता कार्यकर्तालाई वाइपास गरिनु स्वभाविक पनि हैन । राजनीतिक दलहरूको यो अवस्था आउनु पनि हुँदैन र ल्याइनु पनि हुँदैन ।
एमालेमा अहिले नयाँ नेतृत्व आएको छ । दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका केपी ओलीसहित पदाधिकारी र सदस्यहरूलाई शुभकामना । निर्वाचनमा देखिएको एकल निर्णयको प्रयास भने पार्टीका लागि सुखद् देखिएन । ओलीको हुँकारलाई भीम रावल, घनश्याम भुसाल, टंक कार्कीलगायतका नेताहरूले चुनौति दिएर महाधिवशेनको मूलमर्म र लोकतान्त्रिक अभ्यास के हो ? भन्ने प्रष्टाएका छन् ।
उनीहरूले मतबाट हारे पनि एमालेलाई भने विधिमा जिताएका छन् । कार्यकर्ता मास पार्टीमा नेताले नेता रोज्ने हैन कार्यकर्ताले नेता रोज्ने लोकतान्त्रिक अभ्यास हुनुपर्छ । अनि मात्रै पार्टी–पार्टी जस्तो हुन्छ । नत्र नेता सर्वाेपरि र कार्यकर्ता रैती जस्ता बाहेक केही हुन सक्दैन । पार्टीको महाधिवेशन वैचारिक र सैद्धान्तिक बहस, छलफल र निर्णय हुन्छ । त्यो देखिनु पनि पर्छ ।