सम्पादकीय
दाङ पर्यटकीय क्षेत्रले भरिपूर्ण जिल्ला हो । जिल्लाका प्राय सबै ठाउँहरू पर्यटकीय स्थलका रूपमा रहेका छन् । कति ठाउँ पर्यटकीय गन्तब्यको रूपमा विकास भइरहेका छन् भने कति चरणमा छन् । दाङका केही पर्यटकीय स्थलहरू पर्यटनको गन्तब्य बन्न थालेका छन् । तुल्सीपुर उपमहानगरपालिकाले पछिल्लो समय पर्यटकीय स्थलहरू पहिचान गरेर सार्वजनिक गरेको छ । पर्यटनको आकर्षणमा स्थानीय पर्यटकीय स्थलहरू परिरहेका छन् ।
पछिल्लो समय तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यान अहिले पर्यटकीय गन्तब्यका रूपमा विकास भइरहेको छ । यहाँ पर्यटकहरू अहिले भरीभराउ हुन थालेका छन् । कुनै बेला सुनसान हुने उद्यान अहिले प्रवेशमा समेत लाइन लाग्नुपर्ने अवस्था देखिनुले विशेष महत्व राखेको छ । यसले स्थानीय पर्यटकीय क्षेत्रहरू पनि पर्यटकको गन्तब्य बन्ने रहेछन् भन्ने देखाएको छ । स्थानीयस्तरबाट केही वर्ष अघिदेखि भएको प्रयास अहिले पर्यटकीय स्थलका रूपमा पुग्ने यस क्षेत्रकै लागि फलदायी हो ।
दाङको तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ७ गणेशपुरमा रहेको सामुदायिक वनभित्रको उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्नुले पर्यटन प्रवद्र्धनमा टेवा नै पु¥याएको छ । पर्यटकीय गन्तव्यको रूपमा पनि विकास भएको छ । स्थानीय अगुवाहरूको अगुवाईमा १७ वर्ष पहिलेदेखि निर्माण सुरू गरिएको गणेश सामुदायिक वनभित्रको पार्क आवश्यक पूर्वाधार निर्माण भएसँगै पर्यटकीय गन्तव्य बनेको देखिन्छ ।
यसमा स्थानीय र केन्द्रीय सरकारको भूमिका पनि देखिन्छ । अहिले पार्क हेर्न र पार्कमा घुम्न दैनिक सयौको संख्यामा पर्यटकहरू आउने गरेको तथ्यांकले देखाउँछ । जिल्ला बाहिरबाट पनि यहाँ आउनेको संख्या बढ्दै जानुले यहाँको पर्यटक विकासको सम्भावना बलियो देखिएको छ । पर्यटन वर्ष २०२० लाई पनि यसले टेवा पु¥याउने देखिन्छ । पार्कभित्रका बालउद्यान, आकर्षक पूर्वाधार मिनी जु, फनपार्क, पिकनिक स्पर्ट थपिदै गएका नयाँ पूर्वाधारले पर्यटक तानिरहेका छन् । यस क्षेत्रको महत्व झनै बढाएका समेत छन ।
दाङमा धेरै पर्यटकीय स्थलहरू अस्तित्वमा रहेका छन् । कति पर्यटकीय स्थल नेपालकै नमुनायोग्य पनि बनेका छन् भने कति विकासको क्रममा छन् । जिल्लामा रहेका धारपानी, चखेरा ताल, कालिका मन्दिर बाह्रकुने, जयामिरे, पुरन्धारा झरना, चमेरे गुफा, अम्विकेश्वरी, छिल्लीकोट, घोडदौरा, चौघेरा, त्रिसिद्धेश्वरी मन्दिर, सितलपुर, रिहारलगायतका क्षेत्रहरू पर्यटकीय गन्तव्यको रूपमा रहेका छन् ।
यस्ता पर्यटकीय स्थलहरूको विकास र प्रवद्र्धन, प्रचारप्रसार गर्नसके जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउन र विकास गर्न सकिने थियो । यसतर्फ स्थानीय सरकारहरूले चासो दिनु जरूरी छ । केही स्थानहरूमा स्थानीय सरकारको पहलले नै राम्रो गन्तव्य बनेको छ ।