सम्पादकीय
दाङमा अहिले कुकुरले धेरैजनालाई टोकेर बिरामी बनाएको छ । सडकमा रहेका भुस्याहा कुकुर बहुलाएपछि तीनको आक्रमण मावन र अन्य पशुमा हुन थालेको छ । त्यहि कारणले अहिले नागरिक त्रसित देखिन्छन् । दोहोरो अंकमा मानिसहरूलाई भुस्याहा र बहुला कुकुरले आक्रमण गरिरहेको छ । यो अवस्थालाई तत्काल नियन्त्रण लिन सकिएन भने यसले महामारीकै रूप लिने देखिन्छ ।
यति मात्रै हैन गम्भीर खालले घाउ भएमा त्यसको जिल्लामा सहज उपचारसमेत हुन सकेको छैन । धेरैलाई जिल्ला बाहिर रिफर गरिने अवस्था देखिएको छ । सडकमा हिड्ने मासिलाई कुकुरको आक्रमण बढेपछि त्यो नियन्त्रण स्थानीय सरकारसमेत कम चासो देखिएको छ । दाङको तुलसीपुर क्षेत्रमा बढेको बहुला कुकुरको बिगबिगी नियन्त्रणमा स्थानीय सरकार बढी सक्रिय हुनुपर्ने हो तर त्यो देखिएको छैन । सामान्य एउटा निर्णण गरेर घटनालाई सामान्ययीकरण गरिएको छ ।
कुनै पनि विपद् र भैपरी आउने अवस्थालाई जनताको पहुँचमा भएको सरकार स्थानीय सरकारले बढी गम्भीर भएर हेर्नुपर्छ । त्यसको समाधान र व्यस्थापनमा पनि चासो देखाउनुपर्छ । तर तुलसीपुरको हकमा त्यो देखिएको छैन । स्थानीय सरकारले बहुला कुकुरको बिगबिगीलाई सामान्यरूपमा हेरेर गएको जस्तो आभास भएको छ । बहुला कुकुरको बिगबिगी बढेको छ । बहुला कुकुरको टोकाईबाट २६ जना घाइते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बहुला कुकुरको बढी प्रभावित भएको छ । तर पनि स्थानीय सरकार यसको नियन्त्रणको उपायमा कुनै सोचविचार गरेको देखिदैन ।
त्यस्ता अवस्थामा रहेका घाइतेहरूको उपचारका लागि प्रयोग हुने भ्याक्सिनसमेत जिल्लामा छैन । स्थानीय सरकारले पनि त्यसको व्यवस्थापन गरेको देखिदैन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अहिले बढी मारमा छ । कुकुर व्यवस्थापनका लागि वडाले कुनै चासोसमेत दिएको देखिदैन, नगरले एउटा विज्ञप्ति निकालेर पन्छिएको छ । गन्तव्यमा हिडेका पैदलयात्रीलाई बहुला कुकुरले टोक्न थालेपछि सर्वसाधारण नागरिक त्रसित हुनु स्वभाविक हो त्यो अवस्थालाई तत्काल स्थानीय सरकार र सम्बन्धित निकायले टार्न सक्नुपर्छ ।
स्थानीयस्तरका भुस्याहा कुकुरहरू नियन्त्रण नहुँदा पटक–पटक यस्ता समस्या आउने गरेको छ । चौक–चौकमा समूहगत रूपमा रहेका भुस्याहा कुकुरहरूमा रेबिजको समस्या भयो भने त्यसले पूरै नगरमै समस्या ल्याउन सक्छ, अहिले वडा नम्बर ८ मा त्यहि भएको छ । भुस्याहा कुकुर नियन्त्रण गर्न नसक्दा मानिसमा आक्रमण बढेको छ । जिल्लाका सबै क्षेत्रमा भुस्याहा कुकरको संख्या बढ्दो छ । त्यो अवस्थालाई स्थानीय सरकारले मात्रै पनि योजनासहित व्यवस्थापनमा जुट्न सकेमा सहजता देखिनेछ भने भुस्याहा कुकुरको न्यूनीकरण हुँदै जानेछ ।