सम्पादकीय
सरकारी अस्पतालको उपचार सेवाप्रति नागरिक कहिल्यै सन्तुष्ट हुन सकेका छैनन् । लाखौं रकम खर्चेर स्थापना गरिएका सरकारी अस्पतालमा न जनशक्तिको पर्याप्त हुन्छ न त भौतिक सामग्रीको नै । दुवै पर्याप्तता भएपनि उपचारमा प्रभावकारिता ल्याउन नसकेको देखिन्छ ।
स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन नसक्दा सरकारी अस्पतालको सेवाप्रति सधैं प्रश्न उठ्ने गरेको छ । ठूला भनिएका अस्पतालले सेवालाई प्रभावकारिता बनाउन नसक्दा ति अस्पताल रिफर सेन्टरको रूपमा परिचित हुने गरेका छन् ।
सल्यान जिल्ला अस्पतालमा पनि आवश्यक जनशक्तिको अभावमा आइसियु, एनआइसियु सेवा सञ्चालन हुन सकेको छैन् । आइसियु र एनआइसियु मेसिन खरिद गरेको लामो समयसम्म पनि प्रयोगमा नआउँदा अहिले बिग्रिने अवस्थामा पुगिसकेका छन् । सरकारी ढुकुटी खर्च गरेर बिरामीलाई उपचार सेवा दिनका लागि बनाइएका अस्पतालले सेवालाई प्रभावकारी बनाउन नसक्दा सरकारी अस्पतालको उपचार सेवाप्रति नागरिकको असन्तुष्टी बढेको छ ।
उपचारलाई प्रभावकारी बनाउनतर्फ न अस्पताल प्रशासनले ध्यान दिने गरेको छ, न त जनप्रतिनिधिले नै । सरकारी अस्पतालको सेवा गुणस्तरिय हुन नसेकेपछि निजी अस्पताल फस्टाएका छन् । सरकारले सरकारी अस्पतालमा करोडौं रकम खर्च गरेपनि सेवालाई गुणस्तरिय भए÷नभएकोतर्फ ध्यान दिने गरेको छैन् ।
अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन, भएका जनशक्ति सहीरूपमा परिचालन गरिएका छन् कि छैनन्, नागरिक अस्पतालको सेवाप्रति सन्तुष्ट छन् कि छैनन् आदि कुराहरूमा कहिल्यै खोजी हुने गरेको छैन् । सेवाप्रति गुनासो पोख्ने सम्बन्धित बिरामीको पहुँच पुग्दैन्, पहुँचवालाले त्यस्ता कुरामा ध्यान दिन नसक्दा सरकारी अस्पतालको सेवा विगतजस्तै छ । उपचार सेवाको अभावमा बिरामीहरू निजी अस्पतालमा महंगो खर्च गरेर सेवा लिन बाध्य छन् ।
सरकारी अस्पतालको सेवा सुधार गर्नका लागि नागरिकदेखि नेतृत्वसम्म सबैको उत्तिकै महत्वपूर्ण भूमिका छ । सरोकारवाला निकायको ध्यान पुग्न नसक्दा सरकारी अस्पतालको सेवाप्रति जहिले पनि प्रश्न उठ्ने गरेको छ । यस्तो अवस्था ल्याउन नदिनका लागि बेला–बेलामा अस्पतालको अनुगमन हुन आवश्यक छ । अस्पताल व्यवस्थापन समितिले अस्पतालमा आवश्यक कुराको माग सम्बन्धित ठाउँमा माग गर्ने, बिरामीलाई निजी अस्पतालमा जानु नपर्ने वातावरण निर्माण गर्नका लागि बढीभन्दा बढी ध्यान पुग्न आवश्यक छ ।
समस्या नभएको ठाउँ हुँदैन्, तर ति समस्यालाई सहजरूपमा समाधान गर्दै लैजानु बुद्धिमानी ठहरिन्छ । सरकारी अस्पतालको सेवा सुधार गर्नका लागि सम्बन्धित सरोकारवाला सबैको ध्यान पुग्न आवश्यक छ । अस्पतालमा भएका संरचनालाई प्रयोगमा ल्याउनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने र थप जनशक्तिका लागि पहल गर्ने कुरामा व्यवस्थापन पक्षको ध्यान पुग्न जरूरी छ ।