सम्पादकीय
विश्वमा नै महामारीका रुपमा फैलिएको कोरोनाले नेपाल पनि ठप्प पारेको छ । सबै गतिविधिलाई ठप्प बनेको छ । २४सैं घण्टा हुने व्यस्त बजार हिजोआज सुनसान देखिएका छन् ।
महामारीको संकटबाट नेपाल पनि अछुतो रहन सकेको छैन् । अहिलेसम्म नेपालका ५४ जना कोरोना भाइरसको संक्रमण देखिसकेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दीको घोषणा गरेको एक महिना बढी भइसकेको छ ।
सहर सुनसान बनेका छन् । गाउँ भरिदै गएका छन् । बन्दाबन्दी अर्थात् लकडाउनको समस्याले विभिन्न पेशा व्यवसायका लागि घरभन्दा बाहिर रहेका नागरिक घरमा फर्किएका छन् ।
कोरोनाकै कारण वर्षौदेखि अलग्गिएका मनहरु एक भएका छन् । कर्मथलोबाट जन्मथलो फर्किनेको कारुणिक दृश्यहरु पनि देखिएका छन् ।
आर्थिक क्रियाकलाप लामो समयदेखि ठप्प अवस्थामा छन् । कोरोनाको कहरले गाउँमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुदेखि सहरमा हजारौ भाडा तिरेर व्यवसाय गर्नेको वस्तु बिक्री वितरण हुन सकेको छैन् ।
विवाहोत्सवमा जन्तीदेखि मर्दाको मलामीसमेत नपाउने अवस्था सिर्जना भएको छ । विश्वका शक्तिशाली राष्ट्र पनि निरीह बनेका छन् ।
नेपालमा पनि कोरोना संक्रमणको दर फैलिदै गएपछि श्रम गरेर खाने मजदुरहरु बढी समस्यामा परेका छन् । कतिपयले राहत पाउन सकेका छैनन्, कतिपयले राहत पाएपनि राहतको नाममा कनिका पाएका छन् । विश्वका विभिन्न मुलुकमा ५० बढी नेपालीले कोरोना भाइरसको कारण मृत्युवरण गरेका छन् ।
कोरानाको संकट कहिलेसम्म रहन्छ, अहिले पनि यसै भन्न सकिने अवस्था छैन् । शक्तिशाली राष्ट्रहरु कोरोनाबाट थलिदा नेपालमा त्यति निराशाजनक अवस्था भने आएको छैन् ।
कोरोना रोकथामका लागि चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेपछि संक्रमणको दर दैनिकजसो देखिएपनि भयावह बनिसकेको स्थिति छैन् तर पनि हामीले यसबाट अपनाउनुपर्ने सजता अपनाउन भने छोड्नु हुँदैन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लकडाउन अर्थात् बन्दाबन्दीको पूर्णपालना नै उत्तम उपाय हो । कोरोना महामारीका बीचमा पनि केही विकास निर्माणका गतिविधि सक्रिय हुन थालेका छन् । यसले नागरिकमा फेरि संक्रमण फैलिन त होइन् भनेर त्रास उत्पन्न पनि भएको छ ।
कोरोनाकै कारण घरमा फर्किएका युवा जनशक्तिलाई कृषि कर्ममा समावेश गराई बाझो जमिनलाई हराभरा बनाउन सक्नुपर्छ ।
अहिले आएको संकटले नागरिक रोगले भन्दा पनि भोकले मर्ने चिन्ता थपिएको समयमा यसको समाधानका लागि कृषि कर्मलाई जोड दिनु नै प्रमुख उपाय हो । अरुका लागि भन्दा पनि म मेरो सुरक्षाका लागि लाग्छु भन्ने सोच्न सक्नुपर्छ । सबै सुरक्षित हुन आवश्यक छ ।