प्रमुख पतिपक्ष दल नेपाली काँग्रेस अहिले आन्तरिक किचलोमा छ । संस्थापन पक्ष र पौडेल पक्षको चेपुवामा अहिले पार्टी परेको छ । जसका कारण चलाएमान हुनुपर्ने संगठन आरोप प्रत्यारोपले निष्क्रिय जस्तै भन्न थालेको छ ।
यो काँग्रेसका लागि हितकर छैन । आफैभित्रको किचलोले जेलिदा अरूलाई भन्दा पनि पार्टीलाई नै कमजोर बनाउने छ । पार्टीभित्रको दुईधार छताछुल्ल भएर पार्टीका गतिविधिहरू निष्क्रिय गराउनुले पार्टी कार्यकर्तामा मात्रै हैन पार्टी संरचनामा समेत धक्का पुग्नेछ । त्यो अवस्था यही प्रक्रियाले नेतृत्व र नेताहरू गएमा राम्रो पनि हुनेछैन ।
नेतृत्वले कमी कमजोरी गरेमा अरूले त्यसलाई सुधारको लागि पलह थाल्नु त ठिक हुन्छ तर, आरोप प्रत्यारोपमा गएर पार्टी नै धरासायी बनाउने अभियानमा कोही जान हुँदैन । संगठन बलियो बनाउन नेतृत्वले पनि सबैको आवश्यकता छ भन्ने महसुस गरेर गतिविधिहरू सञ्चालन गर्न सक्नुपर्छ । सबैको सम्मानको वातावरण निर्माण गर्नु नै उपयुक्त हुन्छ ।
प्रजातन्त्र र लोकतन्त्रको हिमाहित आफूलाई ठान्ने काँगेसभित्र केही वर्षदेखि नै लोकतान्त्रिक चरित्रभन्दा गुटतान्त्रिक चरित्र हावी भएको देखिन्छ । गुटगतरूपमै आरोप प्रत्यारोप भएको पनि प्रष्टरूपमा रहेको छ ।
पार्टीभित्रको गुटतन्त्रले नेतृत्वलाई त विभाजन गरेको छ नै कार्यकर्ताहरूसमेत विभाजित हुँदै जानुले काँग्रेसभित्रको आचरणले पार्टीको क्रियाशीलता सुस्ताउँदै गइरहेको देखाउँछ ।
गएको निर्वाचन बेलादेखि केही क्रियाशील देखिएको काँग्रेस महाधिवेसनको मिति र विभाग गठनले फेरी गुटमा लगेको छ । काँग्रेसजनहरूमा केही उत्साही देखिरहेकै बेला नेतृत्वबीचको गुटतन्त्रले फेरि काँग्रेसभित्रको समस्या छताछुल्ल बनाइ दिएको छ ।
वर्तमान अवस्थामा कमजोर प्रतिपक्षको रूपमा देखिएको काँग्रेसले आफ्नै संगठनलाई बलियो बनाउन नसक्दा विभिन्न समयमा आलोचनासमेत खेप्दै आइरहेको छ ।
यो अवस्थामा जुरमुराउनु साटो पार्टीलाई गतिहीन बनाउने कार्य गरिनुले कठिन अवस्था सिर्जना गर्नसक्छ । काँग्रेसले पार्टी र देशलाई क्रियाशील बनाउन सक्ला त भन्ने तर्क आइरहेका बेलाको काँग्रेसको यो चर्तिकलाले बाह्र वर्ष ढुङग्रामा हालेको पुच्छर जस्ताको त्यस्तै भनेजस्तै बनाइदिएको छ ।
नेतृत्वले ख्याल गरेमा र नेतृत्व एकीकृत बन्नसकेमा काँग्रेस नेता कार्यकर्ताका लागि अहिलेको समय उपयोगी सावित हुन सक्ने देखिन्छ । समयलाई चिन्न र बुझ्न सकेमा यो ठूलो अवसर पनि हो ।
काँग्रेस लामो समयसम्मका लागि सत्ता बाहिर हुनु । यसलाई सही सदुपयोग गर्न सके कार्यकर्ता सक्रिय बनाउन सके र गाउँ र बस्ती–बस्तीमा राम्रा गतिविधिहरूलाई लिन सकेमा संगठन सुदृढीकरणका साथै जनतामाझ पुल्ने अवसर राम्रो देखिन्छ । यसका लागि नेताहरूले गुट हैन जुटको नीति लिन सक्नुपर्छ । आन्तरिक रूपमा भएका असमझदारीहरूको निराकरण गर्न सक्नुपर्छ ।
Stay Connected
Must Read