Wednesday, October 1, 2025
Homeखेलकुदखेलकुद महत्वपूर्ण पक्ष

खेलकुद महत्वपूर्ण पक्ष

- Advertisement -spot_img

खेलकुदको विकासका लागि अहिले स्थानीय तहहरु सक्रिय भएका छन् । तुलसीपुरमा मेयरकप सम्पन्न भइसकेको छ भने घोराहीमा मेयरकप प्रतियोगिता सञ्चालनको प्रक्रियामा छ । जिल्लाका अन्य स्थानीय तहहरुमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । यस्ता प्रतियोगिताहरुले जिल्लाको खेलकुदको विकासका लागि कस्तो भूमिका खेलेका छन् र यस्ता प्रतियोगिताले जिल्लाको खेलकुलाई कसरी प्रोत्साहन गर्न सकिन्छ ? भनेर प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेवलमा जिल्लाका सरोकारवाको विचार समावेस गरेका छौ ।

खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका लागि सर्वप्रथम खेलाडीहरुमा लगानी लगाउने वातावरणको विकास हुन आवश्यक छ । यदि कुनै पनि खेल क्षेत्रका खेलाडीहरुलाई राम्रोसँग मलजल एवं पालनपोषण गर्न सकिदैन तबसम्म खेल क्षेत्रको विकास हुुन असम्भव छ । देशको राजनैतिक व्यवस्थाका कारण अहिलेको खेलकुद क्षेत्र अस्ताउँदै जान थालेको छ ।

दक्ष खेलाडी उत्पादनमा खेलकुद गतिविधि आवश्यक

डिल्ली बहादुर डाँगी
अध्यक्ष
दाङ जिल्ला खेलकुुद विकास समिति

घोराही र तुलसीपुरमा मेयरकप सञ्चालन हुनु स्थानीय सरकार खेलकुुदको विकासका लागि जिम्मेवार बन्दैछन् भन्ने हो । तर खेलकुदको विकास गर्न मेयर कपले मात्र पुग्दैन् । स्थानीय सरकारले खेलकुदको विकासका लागि चासो देखाएका कारण दाङको खेलकुद विकास राम्रो हुदैँछ भन्ने विश्वास लिन सकिन्छ । पछिल्लो समय भएका मेयर कपले खेलाडीहरुको आकर्षण बढेको देखिन्छ, तर पनि खेल क्षेत्रको विकासका लागि तीन कुरा महत्वपूर्ण मानिन्छ ।
१. गतिविधि, २. प्रशिक्षक,
३. संरचना÷पूर्वाधार
स्थानीय सरकारले मेयर कप सञ्चालन गर्नु पनि गतिविधिलाई सक्रिय बनाउनु हो । प्रतियोगिताका कारण खेलाडी र अभिभावकमा खेलप्रतिको महत्व बढ्दै जान्छ । राम्रो दक्ष खेलाडी उत्पादन हुुनका लागि खेलकुदका गतिविधिलाई निरन्तरता दिनु आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा खेल र खेलाडीको महत्व बढ्दै गएको अवस्थामा हामीले जिल्लालाई खेल क्षेत्रको माध्यमबाट चिनाउन सक्दछौँ ।
दक्ष रुपमा खेलाडी उत्पादन गर्नका लागि खेल गतिविधि भैरहनुपर्छ । खेलकुुदको गतिविधि गर्नलाई फेरी संरचना वा पूर्वाधार निर्माण हुुन आवश्यक देखिन्छ । युवाहरुले खेलप्रति रुचि देखाएपनि पर्याप्त भौतिक संरचनाको अभावमा खेलकुुद सोंचे जसरी विकास हुुन सकिरहेको छैन् तर पछिल्लो समयमा स्थानीय सरकारले खेलकुुदको विकासका लागि गरेको लगानी गरिनुु खेल क्षेत्रमा लगानी इतिहासमै पहिलो पटक पनि हो । अब हामीले रकमलाई सहीरुपमा सदुपयोग गरेर भौतिक संरचना निर्माणसँगै प्रशिक्षकको व्यवस्था पनि गरिनुुपर्छ । प्रशिक्षक भएमात्रै खेलको राम्रो विकास हुुन्छ । खेलाडीहरुलाई समय–समयमा प्रशिक्षण हुुनुुपर्दछ र खेलप्रति युवाको आकर्षण बढाउन लाग्नुुपर्दछ । दाङमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिगतमा पनि उत्पादन भए, अब गुणात्मक हिसावले त्यस्तै खेलाडी उत्पादनतिर लाग्नुुपर्दछ । खेल क्षेत्रबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ जसका लागि खेलाडीलाई प्रोत्साहन, सम्मान र उनीहरुको वृद्धि विकासमा लाग्न जरुरी देखिन्छ । अब खेलाडीलाई व्यवसायीक रुपमा अघि बढाउन राज्यको लगानी हुनुपर्छ । दाङमै राष्ट्रियस्तरका खेल खेल्न संरचना तयार भइसकेका छन् । राष्ट्रियस्तरका खेलहरु अब दाङमै खेलाउन सक्यो भने खेलप्रति झनै आकर्षित गर्न सकिन्छ ।

अब खेलाडीलाई व्यवसायीक रुपमा अघि बढाउन राज्यको लगानी हुनुपर्छ । दाङमै राष्ट्रियस्तरका खेल खेल्न संरचना तयार भइसकेका छन् ।

खेललाई स्वास्थ्य, अनुशासन र आत्मीयतामा जोड्दै छौं

नरुलाल चौधरी
नगर प्रमुख
घोराही उपमहानगरपालिका

कुनै पनि खेल क्षेत्रलाई हामीले उच्च सम्मानका साथ स्थान दिएका छौँ । खेल क्षेत्रलाई मनोरन्जनमा मात्रै सीमित नबनाई स्वास्थ्य, अनुशासन, चिनारी र आत्मीयता जोड्ने माध्यमका रुपमा लिएका छौँ । हामी स्थानीय सरकारका रुपमा निर्वाचित भएर आएपछि खेल क्षेत्रलाई उच्च स्थानमा राखेर अघि बढेका छौँ । खेलाडीहरुको मनोबल बढाउन सम्मानदेखि लिएर मैदानसम्म विविधखाले सहयोग उपलब्ध गराउँदै आएका छौँ । नगरमा हुने कुनै पनि खेल र बाहिर प्रतिस्पर्धाका लागि जाने खेलाडीहरुलाई सहयोग गर्दै आएको म जानकारी गराउन चाहन्छु । हामीले उपमहानगरको स्थापना दिवससहित राष्ट्रिय अन्य दिवसका अवसरमा विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने र खेलाडीहरुलाई सम्मान एवं पुरस्कृत गरेर खेल क्षेत्रको हौसला बढाउने गरेका छौँ । साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी, पूर्व खेलाडीहरुलाई सम्मानमा समेत हामी पछि परेका छैनौँ ।
गत आर्थिक बर्षदेखि हामीले मेयर कप रनिङ फुटबल प्रतियोगिता सञ्चालनको सुरुवात गरेका छौँ । हामीले हाम्रो नीति मै एक वडा एक मैदान बनाउने सोंचलाई पारित गरेर त्यसको सुरुवातसमेत गरिसकेका छाँै । खेल मैदान बनाउनका लागि सक्दो आर्थिक सहयोग गर्दै आएका छौँ । त्यसैगरी प्रदेशस्तरीय क्रिकेट मैदान बनाउनका लागि घोराही उपमहानगरपालिका–१७ गुलरियामा जग्गा खरिदसँगै बजेटको समेत व्यवस्था गरेका छौँ । वडा नम्बर १८ नवलपुरमा बनेको फुटबल मैदानका लागि पनि आर्थिक सहयोग गरेका छौँ । त्यसैगरी वडास्तरमा हुने कुनै पनि खेलकुदका लागि वडाहरुले बजेटको व्यवस्था गरेका छौँ । खेल खेल्न चाहने खेलाडीहरुलाई उत्साह थप्नका लागि आवश्यक सक्दो सहयोग गरेका छौँ । हामीले खेल क्षेत्रलाई अन्य क्षेत्रको विकास झै स्थान दिएका छौँ । हामीले थालेको मेयर कपबाट नयाँ–नयाँ खेलाडीहरुलाई अभ्यास र अनुभवको प्लेटफर्म सिर्जना गरेका छौँ । खेल जित हारमा टुंगिए पनि हामीले खेलाडीको क्षमता विकाससँगै आकर्षण बढाउने सोंचलाई प्राथमिकता दिएका छौँ । आगामी दिनमा पनि खेल क्षेत्रलाई थप परिस्कृत गर्दै नगरलाई खेल क्षेत्रको पहिचानसँग जोड्न हामी प्रतिबद्ध रहेका छाँै ।

स्वास्थ्यका लागि खेलकुद

भरत अर्याल
संयोजक
मेयर कप सञ्चालन समिति
घोराही उपमहानगरपालिका

घोराहीको मेयर कपले खेलाडी उत्पादन र खेलकुद विकासमा सहयोग पुगेको छ । स्वास्थ्यका लागि खेलकुद अति महत्वपूर्ण भएकोले पनि स्थानीय सरकारले खेलकुदमा लगानी गर्न थालेको छ  । खेलकुदमा लगानी बढ्दै जाँदा खेलाडीको पनि खेल क्षेत्रप्रति आकर्षण बढ्न थालेको छ । खेलाडीको आकर्षण बढ्न थालेपछि राज्यले खेलका लागि गरेको लगानी सुरक्षित हुुन्छ पक्कै पनि । घोराही उपमहानगपालिकाले पनि बिगतदेखि नै खेलकुदका लागि लगानी गरेको छ । खेलकुदको भौतिक संरचनादेखि खेलाडी उत्पादनका लागि गरिएको लगानीले पनि खेलकुदप्रतिको स्थानीय सरकारको जिम्मेवारी थपिएको छ । मेयर कपले खेलाडी उत्पादन मात्र नभई आत्मीयता सम्बन्ध स्थापित गरेको छ । समग्र उपमहानगरपालिकालाई समेट्ने गरी हरेक वर्ष सञ्चालन हुुने मेयर कपले घोराही उपमहानगरपालिकाभित्रका खेलप्रति रुचि राख्ने सबैलाई जोडेको छ । मेयर कपमात्र नभई दाङमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल खेल्न सकिने भौतिक संरचना निर्माणको तयारीमा पनि छौँ । खेलप्रति अभिभावक र खेलाडीको आकर्षण बढ्दै गएको अवस्थामा हामी पूर्णरुपमा सहयोग गर्नका लागि तत्पर छौँ ।
उपमहानगपालिकाभित्र खेलकुुदको विकासका लागि पर्याप्त भौतिक संरचना निर्माण गरी खेलाडी र खेल क्षेत्रको विकासमा लागेको कुरा म जानकारी गराउँदछुु । अझ अर्को कुुरा के भने हामीले खेलाडी र खेलकुदप्रति पूर्ण जिम्मेवार रहेर स्वास्थ्य उपचार पनि प्रभावकारी बनाएका छौँ । खेल अवधिभर हुन सक्ने मानवीय क्षति हुुन नदिनका लागि प्राथमिक उपचार तथा एम्बुलेन्सको समेत व्यवस्थासमेत गरेका छौँ । खेलाडीलाई कुनैपनि समयमा दुर्घटना हुन सक्छ तर त्यसैले आइपर्ने समस्यालाई मध्यनजर गरेर स्वास्थ्य उपचारलाई प्रभावकारी रुपमा बढाएका छौँ । खेलकुुदमार्फत हार÷जितभन्दा पनि आत्मीयतासँग जोड्नका लागि स्थानीय सरकारले गरेको लगानीमा सबैको साथ अनिवार्य देखिन्छ । हाम्रो लगानी जनताको साथ अनिवार्य भएन भने लगानी बालुवामा पानी पनि हुुन्छ । खेलाडीलाई आवश्यक पर्ने खेल मैदान, खेल प्रशिक्षक, प्रतियोगिता, सम्मान सबै दिन सकियो भने मात्रै खेलकुुदको विकास गर्न सकिन्छ भनेर नै हामीहरु त्यसैअनुुसार अघि बढेका छौँ । खेलाडीको पनि रुचि त्यत्तिकै मात्रामा हुुन जरुरी देखिन्छ, किनकी खेलाडीको रुचि भएन भने हामीले सोचे अनुुसारको खेलकुदको विकास गर्न सक्दैँनौ । खेलाडीको साथ र हौसलाका लागि अभिभावकत्व स्थानीय सरकारले गरिरहेको छ ।

खेलको विकासमा प्रतियोगिता आवश्यक

अमर नेपाली
संयोजक
मेयर कप सञ्चालन समिति
तुलसीपुर उपमहानगरपालिका

समग्र खेलकुद क्षेत्रको विकासका लागि सर्वप्रथम प्रतियोगिताको आवश्यक पर्दछ । प्रतियोगितामार्फत खेल क्षेत्रको विकासमा केही फड्को मार्न सकिन्छ । यसको विकास र संरक्षणका लागि प्रतियोगितालाई नै पहिलो स्थानमा लिन आवश्यक छ । किनभने भविष्य उज्यालो बनाउन सन्तानलाई हुर्काउन आवश्यक छ । सन्तान हुर्काउनु भनेको खेल क्षेत्रका लागि खेलाडी उत्पादन गर्नु हो । जसको सुरुवाती प्रतियोगीताहरुको माध्यमबाट सम्भव छ । अवसर पाए भने कोहि पनि खेलाडी पर्दा पछाडि बस्न चाहदैन । जसलाई प्रतियोगिताहरुले पूरा गर्दछन्  । गाउँ तथा हरेक बस्तीमा रहेका खेल क्षेत्रका प्रतिभाहरुलाई अवसर दिएर प्रतियोगीताका माध्यमबाट अगाडि ल्याउन सकिन्छ । जबसम्म खेलाडीहरुको पहिचान र उनीहरुलाई यस क्षेत्रमा परिचालन गर्न सकिदै तबसम्म यस क्षेत्रको विकास हुन सक्दैन ।
तुलसीपुरमा जुन मेयर कप प्रतियोगिता सञ्चालन भयो त्यसले महिला तथा पुरुषहरुलाई प्रत्यक्ष रुपमा मैदानमै प्रतिष्पर्धा गर्ने वातावरण सिर्जना गरेको छ । विभिन्न समयमा यस प्रकारका प्रतियोगिताहरुको आयोजना भयो भने नव खेलाडीहरुले अवसर प्राप्त गर्दछन् । पुराना खेलाडीहरुले निरन्तरता पाउने गर्दछन् । कुनै पनि क्षेत्रको विकास र समृद्धिको लागि खेलाडीहरुलाई खेल क्षेत्रमा पोख्त बनाउन जरुरी छ । अहिलेको अवस्थामा खेल क्षेत्रको अवस्था निकै खस्किदो रहेको छ । यसको संक्षणका लागि पनि हामीले यस्ता प्रतियोगिताहरु सञ्चालन गरिरहेको छ । यस क्षेत्रलाई दृढ र दीर्घकालिन रुपमा जीवित बनाउनका लागि खेल क्षेत्रमा अब्बल र खेल खेल्ने सीपको पहिचान गर्नु पर्दछ र उनीहरुलाई विभिन्न अवसरहरु प्रदान गरी दक्ष खेलाडीको रुपमा स्थापित गराउन सकिन्छ । खेलाडीहरुको परिचालन, उनीहरुको आवश्यकता र व्यवस्थापनमा जति ध्यान दिन सक्यो त्यति यो क्षेत्रले फड्को मार्दै जाने हो । खेलाडीहरुको क्षमता, स्तरको पहिचान भयो भने उनीहरुले स्थान प्राप्त गर्दछन् । त्यसपछि भौतिक संरचनाको विकास गर्नुपर्दछ । वर्तमान समयमा बेरोजगारीको समस्याले युवाहरुलाई सताईरहेको छ । यसलाई समेत न्यूनीकरण गर्नका लागि यसले पनि टेवा पुयाउँदछ । खेलाडीहरुको क्षमतामा गुणस्तर ल्याउन सक्यो भने अन्य आवश्यकताहरुलाई विस्तारै पूरा गर्दै लैजान सकिन्छ । खेल क्षेत्रलाई व्यवसायीक बनाउनका लागि दक्ष एवं उत्कृष्ट खेलाडीहरुको आवश्यकता पर्दछ । जसका लागि प्रतियोगिता सञ्चालन गर्न अनिवार्य छ ।

खेलाडीमा लगानीको वातावरण सिर्जना

पदमा चौधरी
एथ्लेटिक्स प्रशिक्षक

समय–समयमा सञ्चालन हुने यस्ता प्रतियोगिताहरुले खेलाडीहरुमा लगानी गर्ने वातावरणको सिर्जना गर्ने गर्दछ । खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका लागि सर्वप्रथम खेलाडीहरुमा लगानी लगाउने वातावरणको विकास हुन आवश्यक छ । यदि कुनै पनि खेल क्षेत्रका खेलाडीहरुलाई राम्रोसँग मलजल एवं पालनपोषण गर्न सकिदैन तबसम्म खेल क्षेत्रको विकास हुुन असम्भव छ । देशको राजनैतिक व्यवस्थाका कारण अहिलेको खेलकुद क्षेत्र अस्ताउँदै जान थालेको छ । यस क्षेत्रमा रहेका सरोकारवालाहरुले खेल क्षेत्रको विकासका लागि ध्यान दिन नसकेपनि यस्ता प्रतियोगिताहरुले एउटा उत्प्रेरणाको महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । कुनै पनि खेल क्षेत्रको विकासका लागि जबसम्म खेलाडीहरुलाई मलजल गर्न सकिदैन तबसम्म यस क्षेत्रको विकास हुन सक्दैन । स्थानीयस्तरमा होस् या राष्ट्रियस्तरमा जहाँ जसरी प्रतियोगिता सञ्चालन गरिए पनि हरेक खेल क्षेत्रलाई समावेश गर्नुसक्नु पर्दछ । किनभने प्रतियोगिताहरु सञ्चालन हुने भएपछि ओझेलमा परेका प्रतिभाहरु बाहिर आउन खोज्छन् ।
नव खेलाडीहरुलाई अवसर प्रदान हुन्छ । यदि उनीहरुले अवसर पाए भने तालिम नयाँ खेल क्षेत्रको नयाँ जानकारी प्रदान गर्ने अवसरको प्राप्त हुने भएकाले खेलकुद प्रतियोगिताहरु सञ्चालन हुन आवश्यक मानिन्छन् । प्रतियोगिताहरु मात्र सञ्चालन गर्नु ठूलो कुरा होइन । तर यस्ता प्रतियोगिताहरुले यस क्षेत्रको पूर्वाधार र प्राविधिकको उपलव्धतासमेत टेवा पु¥याउन सक्नुपर्दछ । खेल क्षेत्रमा लगानी लगाउन नसकेकै कारण कतिपय राष्ट्रियस्तरका खेलाडीहरु घरमै बस्नु पर्ने अवस्थासमेत रहेको छ । कतिपय खेलाडीहरु विदेशी राष्ट्रहरुको आश्रयमा बस्नुपर्ने बाध्यता रहेको छ । त्यस्ता बाध्यताहरुलाई समेत सुल्झाउने वातावरणको सिर्जना गर्न आवश्यक छ । प्रतियोगिताहरु सञ्चालन भएसँगै खेलाडीहरुको समस्या, आवश्यक पूर्वाधार, प्राविधिकको विषयमा समीक्षा एवं छलफलसमेत हुने वातावरण सिर्जना हुने गर्दछ । जसले गर्दा सबै कुरालाई समेटेर समस्याहरुको समाधानका विषयमा छलफल एवं नयाँ योजनाहरु तय गर्ने अवसर प्रदान हुन्छ । भर्खरै मात्र सम्पन्न भएको जिल्लाका १० स्थानीयतह बीचको मेयर कप महिला तथा भलिबल प्रतियोगिता जिल्ला सम्पूर्ण तहका खेलाडीहरुलाई समावेश गर्ने प्रयास ग¥यौं । जसमा महिलाहरुले समेत प्रतिस्पर्धा गर्ने अवसर मिल्यो । अहिलेसम्म प्रतिस्पर्धामा नरहेका खेलाडी महिलाहरुले समेत अवसर प्राप्त गरे । यस्ता किसिमका प्रतियोगिताहरु निरन्तर रुपमा सञ्चालन भयो भने खेलाडीहरुलाई प्रोत्साहन र खेल क्षेत्रलाई नयाँ जोस मिल्ने छ । यसर्थ प्रतियोगिताहरुले खेलाडीहरुलाई लगानी गर्ने वातावरणको विकास गर्न मद्दत पुग्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here