शान्तिनगरमा सार्वजनिक सुनुवाई …
शान्तिनगर, २७ मंसिर । शान्तिनगर गाउँपालिकाका स्थानीयहरुले स्थानीय सरकारलाई विकासको योजनाको खाका प्रस्तुत गरेका छन् । उनीहरुले स्थानीय सरकारसंग गुनासो नभएको भन्दै गाउँको विकासका लागि योजनाको खाकासहित सल्लाह दिएका छन् । गाउँको विकास गर्न सबैको भूमिका अनिवार्य र अपरिहार्य भएको बताएका स्थानीयहरुले गाउँपालिकालाई विकासमा गति दिन गुरुयोजना तयार पारेर विकासको काम थाल्न गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सुझाएका हुन् ।
शान्तिनगर गाउँपालिकाले बुधबार आयोजना गरेको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले गाउँपालिकाप्रति गुनासा नभएको बरु विकासका लागि गुरुयोजना आवश्यक भएको भन्दै विकासका केही खाकाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय तिलक केसीले गाउँपालिकाले चार महिनामा के–के ग¥यो भन्दा पनि अब कसरी जानुपर्छ ? भन्नेमा बढी ध्यान दिनुपर्ने बताए । उनले गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका सडकलाई कालोपत्रे गरेर लैजान, नदीजन्य बस्तुको ब्यवस्थापन र उत्खनन्लाई सहज बनाई योजना निर्माणमा तिव्रता दिन, शाखागत रुपमा भएका कमिकमजोरीलाई सुरधारले सेवा प्रभावह प्रभावकारी बनाउन लाग्नु पर्ने बताए । ‘हामी विकासमा ढिलो भएका छौँ, उनले भने, पुरानो बाटो छोडेर विकासमा नयाँ ढङ्गले सोच्नु पर्छ । उनले आर्थिक वर्षको अन्त्यमा योजना पूरा गर्ने भन्दा पनि पहिले नै पूरा गर्ने र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनसमेत आग्रह गरे । स्थानीय प्रताप दाहालले विकासका लागि गुरुयोजना बनाएर जान सुझाए । क्रियामा धेरै गुनासा छन् तर ती गुनासालाई सम्बोधन गर्दै पालिकाको विकासका लागि गुरुयोजना आवश्यक छ, त्यहि अनुसार विकास गरौँ । उनले रकमलाई एकीकृत गरेर दीर्घकालिन विकास खोज्नु पर्ने भन्दै उनले गुरुयोजना विनाको कनिका विकासले दीर्घकालिन विकास नहुने बताए । नवराज पुनले जनप्रतिनिधि, कर्मचारी, र जनता तीनतिर हुन नहुने भन्दै सबै एक भएमा मात्रै विकास पूरा हुने बताए ।
‘हामी विकासमा ढिलो भएका छौँ, पुरानो बाटो छोडेर विकासमा नयाँ ढङ्गले सोच्नु पर्छ । उनले आर्थिक वर्षको अन्त्यमा योजना पूरा गर्ने भन्दा पनि पहिले नै पूरा गर्ने र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनसमेत आग्रह गरे ।
गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले नदीजन्य वस्तुको उत्खनन् रोकिदा योजना निर्माणमा असर पुगेको भन्दै नदीजन्य वस्तुको सहजताका लागि प्रयास हुनुपर्ने बताए । उनीहरुले यही कारणले विकासपूर्ण रुपमा रोकिएको उल्लेख गरे । उनीहरुले गाउँपालिकाले सबैको सुझावलाई समेटेर विकासका खाका बनाई अघि बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डाँगीले जनताको गुनासो, सुझाव र सल्लाहबाट नै विकास अघि बढ्ने बताए । उनले गुरुयोजना बनाएर नै विकास गर्न लागिएको भन्दै त्यसका लागि पञ्चवर्षिय आवधिक योजनासमेत तयार भइसकेको जानकारी दिए । गाउँपालिकाले पाँच वर्षभित्रमा देखिने गरी विकास गर्ने अध्यक्ष डाँगीको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले आएका सुझावहरुलाई गाउँपालिकाले पालना गर्ने बताए । उनले यो वर्ष विकासका योजनाहरु जेठ महिनामै सक्ने तयारी गाउँपालिकाले गरेको र योजना अनुसार विकास निर्माण हुने बताए । शान्तिनगरमा यसै वर्ष केही सडक कालोपत्रे समेत गरिने योजना प्रस्तुत गरे । प्राकृतिक स्रोत साधन संरक्षण गर्न र विकास गर्न सबै लाग्नुपर्ने भन्दै केसीले विकासमा ढिलाइ नहुने बताए । कार्यक्रममा लेखा अधिकृत टोपबहादुर पार्धेले गाउँपालिकाको आर्थिक गतिविधि, सालिकराम लामिछानेले योजना तर्जुमा, हरिबहादुर पुनले स्वास्थ्यको चौमासिक प्रगति, गुप्ता अधिकारीले महिला विकास शाखाको प्रगति, देवराज आचार्यले पशु विकास शाखाको चौमासिक प्रगति प्रस्तुत गरेका थिए । त्यसै गरेर वडा अध्यक्षहरु जंगबहादुर पुन, फर्साराम डाँगी, बुद्धिराम तिवारी, धनबहादुर केसी, गिरिराज बस्नेत, रवि बुढाथोकी, पिमलाल वलीले आ–आफ्नो वडाको चौमासिक प्रगति प्रस्तुत गरेका थिए । कार्यक्रममा जगत केसी, चित्रा रानालगायतले धारण राखेका थिए । गाउँपालिका उपाध्यक्ष मिथिला शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको उद्देश्यमाथि प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले प्रकाश पारेका थिए । भने कार्यक्रमको सहजीकरण पत्रकार गोपाल शर्मा भट्टराईले गरेका थिए ।