गढवा,
पाँच बर्षसम्म साधारणसभा र लेखापरिक्षणसमेत नभएर अस्तब्यस्त अवस्थामा रहेको गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिबार विषेश भेला भएको छ । २०६६ सालमा स्थापना भएको यस संस्था २०६९ सालमा साधारणसभा गरेको थियो । सो समयपछि हालसम्म उक्त संस्थाले न त बार्षिक साधारणसभा राख्यो न आर्थिक हिसाव किताबको अडिट र सार्वजनिक सुनुवाई नै गरायो । स्थानीय राजनीतिक दल तथा उपभोक्ताहरुबाट सर्वत्र विरोध आएपछि गत असारको तेस्रो साता स्थानीय अगुवाहरु उमाकान्त पन्त, मोहन बुढा र कपिलदेव खनाल रहेको तीन सदस्यीय आन्तरिक लेखा छानविन समिति गठन गरेपछि बिशेष भेलाको गरेको हो ।
नौ बर्ष अगाडि स्थापना भएको यो संस्था हालसम्म पनि जिल्ला प्रशासन कार्यालयमा दर्ता नभएको पाइएको छ । २०६९ सालमा भएको साधारण सभामा संस्थापक अध्यक्ष मोहन कुमार पाण्डेयले प्रस्तुत गरेको लेखा परिक्षण प्रतिवेदन र बरबुझारथ भएका जिन्सी तथा नगदका सबै विवरणहरु गायव पारिएको श्रोतले जनाएको छ । हालसम्म कुल २ सय ६९ घरमा धारा जडान गरिएको र त्यसको यथार्थ आम्दानी खर्चको अभिलेख समेत अस्तब्यस्त रहेको आन्तरिक लेखा छानविन समितिले जनाएको छ । विद्युत कार्यालयमा अहिले पनि १ लाख २४ हजार १ सय विस रुपियाँ पाउन बाँकी रहेको गढवा विद्युत्त प्रालिका हरि चौधरीले जानकारी दिए । संस्थामा उपभोक्ताहरुको अभिलेखसमेत दुरुस्त नभएको, खानेपानी ट्याङ्कीको तारवार नभएका कारण ट्याङ्कीको वरिपरि पशु चौपायाहरु चर्ने गरेको र ट्याङ्कीको छानोसमेत खिया लागेर फाटेको हुँदा कुनै अपराधिक गतिविधि हुनसक्ने संवेदनशील अवस्था रहेको उपभोक्ताहरुबाट गुनासो आएको छ ।
यसैबीच शनिबार संस्थाका कार्यवाहक अध्यक्ष तेजप्रसाद न्यौपानेको अध्यक्षता र गढवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकुरी हमालको प्रमुख आतिथ्यमा भएको विशेष भेलाले लेखबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत नेतृत्वको चयन गरेको छ । खानेपानी संस्था र त्यसका गतिविधि नै अस्तब्यस्त रहेकोले सबैको अनुरोधमा पुरानो कार्यसमितिले तत्काल भेलाको आयोजना गरेको बताइएको छ ।
समितिको उपाध्यक्षमा शारदा पौडेल, सचिव नारायण पण्डित, कोषाध्यक्ष लिला थापा, सहसचिव हुकुमराज यादव र सदस्यहरुमा खुमा आचार्य, शिवलाल पोखे्रल, मोहम्मद जमिर, नारायण शाही ठकुरी, खडक बहादुर जिसी र अनन्तराम चौधरी रहेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का रामप्रसाद गैरे, नेपाली काँगे्रसका कृष्णराज पाण्डेय, राष्ट्रिय जनमोर्चा दाङका सचिवालय सदस्य गुणनिधि शर्मा, राजमो गढवाका अध्यक्ष कपिलदेव खनाल, जनता मावि गढवाका निवर्तमान अध्यक्ष गणेश कुमाल, गढवा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल, गढवा बहुमुखी क्याम्पसका प्रमुख देवराज पाठक, शुभतारा बोर्डिङका अध्यक्ष लेखबहादुर थापा र लमही खानेपानीका प्राविधिक जगनारायण चौधरीलगायतले गढवाको अस्तब्यस्त खानेपानी संस्थालाई ब्यवस्थित गर्न आवश्क रहेको बताए । कार्यक्रममा आन्तरिक लेखा छानविन समितिका संयोजक उमाकान्त पन्तले आर्थिक प्रतिवेदन पेश गरेका थिए । नारायण पडिण्तको स्वागत मन्तब्यबाट सुरु भएको बिशेष भेलाको सञ्चालन पटवारी यादवले गरेका थिए ।
Stay Connected
Must Read