कमिरेचौर (दाङ), २८ असार ।
बंगलाचुली गाउँपालिकाले असार ९ र १० गते प्रस्तुत गरेको आर्थिक वर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम बिहीबार पारित गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभाले ३२ करोड ८० लाख २५ हजार बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । जसमध्ये चालु प्रशासनिक खर्चतर्फ ४ करोड ९१ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । जुन कूल बजेटको १५ प्रतिशत हो ।
त्यसैगरी पुँजीगततर्फ १३ करोड ७० लाख ५० हजार बजेट विनियोजन गरिएको छ जुन कूल बजेटको ४२ प्रतिशत हो । त्यसैगरी शसर्त अनुदानतर्फ १४ करोड १६ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ । जुन कूल बजेटको ४३ प्रतिशत हो । गाउँसभाले पँुजीगततर्फ छुट्याएको बजेटमध्ये सडक, खानेपानी, सिंचाई, पर्यटनजस्ता पूर्वाधार निर्माण गर्न ९ करोड १८ लाख ५० हजार अर्थात् कुल बजेटको ६७ प्रतिशत बजेट विनीयोजन गरेको छ ।
त्यस्तै गाउँपालिका एवं वडा कार्यालय व्यवस्थापन सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर, मेसीनरी औजार, सवारी साधन आदि जस्ता पुँजीगत निर्माण तथा कृषि, सहकारी, पशुसेवाजस्ता विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम र गाउँपालिकाबाट सञ्चालन हुने विशेष कोषहरुका लागि बाँकी पुँजीगत ४ करोड ५२ लाख अर्थात् कुल बजेटको ३३ प्रतिशत बजेट विनियोजन गरेको छ ।
यस्तै गाउँपालिकाको वडा नम्वर १ देखि ८ सम्मका वडाहरुले विविधखालका योजनाहरु सम्पन्न गर्नका लागि ६० लाखको दरले बजेट विनियोजन गरेको छ । जसमा वडा नम्वर १ ले खानेपानी तर्फ १५ लाख ५० हजार, शिक्षातर्फ १० लाख, पर्यटनतर्फ ३ लाख ५० हजार र स्वाथ्य तथा सरसफाईतर्फ २ लाख बजेट विनियोजन गरिएको छ । वडा नम्वर २ ले विभिन्न भौतिक पूर्वाधारतर्फ ७५ लाख ४० हजार र लक्षित वर्गका लागि २ लाख ६० हजार बराबरको बजेट विनियोजन गरेको छ । वडा नम्वर ३ ले भौतिक पूर्वाधारतर्फ ३३ लाख ७० हजार, खानेपानीतर्फ १४ लाख २५ हजार, र विद्युत विस्तारका लागि १२ लाख ५ हजार बजेट बिनियोजन गरेको छ । त्यस्तै वडा नम्वर ४ ले ६० लाखलाई विभिन्नखालका भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
यस्तै वडा नम्वर ५ ले कृषितर्फ १० लाख, भौतिक सुधारका लागि २० लाख, पर्यटनतर्फ ५ लाख, सडकतर्फ १० लाख, विद्युत विस्तारतर्फ ५ लाख, खानेपानी र अन्यतर्फ १० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी वडा नम्वर ६ ले भौतिक पूर्वाधारतर्फ २७ लाख ८५ हजार, शिक्षातर्फ १७ लाख २० हजार, लक्षिततर्फ ६ लाख ५५ हजार, खानेपानीतर्फ २ लाख, सिंचाईतर्फ २ लाख, वन तथा वातावरणीय विपद् व्यवस्थापनतर्फ २ लाख, स्वाथ्यतर्फ १ लाख ९० हजार, युवातर्फ ५० हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी वडा नम्वर ७ ले यातायात तथा पूर्वाधारतर्फ ३३ लाख ५० हजार र भौतिक पूर्वाधारतर्फ २६ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
वडा नम्वर ८ ले भौतिक पूर्वाधारतर्फ ३५ लाख ५० हजार, अन्य पूर्वाधारतर्फ २२ लाख ३५ हजार, कृषि तथा पशु विकासतर्फ १ लाख र विविधतर्फ १५ हजार बजेट विनियोजन गरेको छ । प्रत्येक वडाहरुले विनियोजन गरेको ६० लाख बजेटको कुल रकम ४ करोड ८० लाख रहेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष यमुना थापा मगरले आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
बंगलाचुली गाउँपालिकाले भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, महिला बालबालिका तथा लक्षित वर्ग, सडक यातायात, खानेपानी सिंचाई लगायतका क्षेत्रलाई समेट्ने गरी आवश्यक बजेटको व्यवस्था गरेको छ । गाउँपालिकाले करिव पौने दुई करोड बराबरको शैक्षिक क्षेत्रको विकासका लागि बजेटको विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिए ।
यस वर्ष बंगलाचुली गाउँपालिकाले आर्थिक विकासका लागि कृषि तथा सहकारीलाई जोड दिएको छ । जसअनुसार वस्तुको निकासी समृद्ध बंगलाचुलीबासी भन्ने मुल नाराका साथ विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
Stay Connected
Must Read