तुलसीपुर, १६ असार ।
संसद हलको ढोकामा कडा सुरक्षा ब्यवस्था गरिएको छ । सुरक्षाकर्मी र संसदका मर्यादापालकहरु लामबद्ध छन् । हल प्रवेशका लागि आफ्नो परिचय र पहिचान चाहिन्छ । सबै ब्यक्ति संसदहलमा जान पाउँदैनन् । संसद हलभित्र तोकिए अनुसारको आफ्नो स्थानमा बस्नुपर्छ । तोकेको स्थानभन्दा फरक स्थानमा बसे तत्काल मर्यादापालकहरु नियममा ल्याउन अग्रसर हुन्छन् ।
अगाडि मञ्चमा सभामुख छन् । मञ्चको अघिल्लो बाँया रोमा सरकारका प्रधानमन्त्री, मन्त्रीहरु छन् । बाँयातिर पछिल्लो रोमा सत्ता पक्षका सांसद, दायाँतिर प्रतिपक्ष सांसद, त्यसपछि पत्रकार, विशिष्ठ ब्यक्तिहरु क्रमशः संसदमा छन् । संसदमा राष्ट्रपतिले आगामी वर्षको लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । संसदहरु त्यसलाई सुनिरहेका छन् । यसलाई हेर्दा लाग्थ्यो साच्चिकै संसद चलिरहेको छ । तर यो दृश्य हो, दाङको दंगीशरण गाउँपालिकामा युवाहरुले सञ्चालन गरेको नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रमको ।
युवाहरुले राजनीतिक नेतृत्वलाई युवाका
मुद्दाप्रति सचेत गराउन र युवाहरुलाई
संसदीय अभ्यासमा लैजान युवा संसद
सञ्चालन गरिएको राष्ट्रिय युवा परिषद्
दाङका अध्यक्ष सुरेश कुमार रावतले जानकारी दिए ।
युवाहरुले राजनीतिक नेतृत्वलाई युवाका मुद्दाप्रति सचेत गराउन र युवाहरुलाई संसदीय अभ्यासमा लैजान युवा संसद सञ्चालन गरिएको राष्ट्रिय युवा परिषद् दाङका अध्यक्ष सुरेश कुमार रावतले जानकारी दिए । उनले राष्ट्रिय युवा परिषदको आयोजनामा देशभरिका १४ वटा स्थानीय तहमा युवा संसद सञ्चालन गर्ने नीति अनुसार दाङको दंगीशरण गाउँपालिकामा संसद सञ्चालन गरिएको बताए । उनले गाउँपालिकाका प्रत्येक वडाबाट दुईजना, राजनीतिक दलबाट एक÷एक जना र गाउँपालिकाका चारजना गरेर २५ जना सांसद् निर्वाचित गरेर तीन दिनसम्म उनीहरुलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिइ संसद सञ्चालन गरिएको बताए ।
युवाहरुले सञ्चालन गरेको नमूना युवा सांसद अभ्यास कार्यक्रममा प्रदेश सांसद, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, सदस्यहरु प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । युवाले संसदभित्रको महङ्खव सिकाएको भन्दै अब गाउँपालिकामा सञ्चालन हुने गाउँसभाहरुमा पनि त्यो सिको आत्मसात गरिने दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले बताए । हामी हाम्रो सभामा त्यति जिम्मेवार भएको म देख्दिन, उनले भने, तर युवा सांसदले त्यो जिम्मेवारी गर्न सिकाए । तीन दिनसम्म युवा सांसदहरु सँगै रहेका चौधरीले संसदभित्र सभ्यता, जिम्मेवारी बोध, प्रक्रियाको बारेमा स्पष्ट पारिदिएको बताए ।
संसदको भूमिकामा रहेका युवाहरुले संसदीय अभ्यासमार्फत युवाका मुद्दाहरुलाई स्थानीय तहबाट स्थापित गर्ने दबाव दिएको बताएका छन् । आफ्नो आफ्नो जिम्मेवारी बहन गरेर संसद चलायौँ सभामुखको जिम्मेवारी बहन गरेका युवा पारस खड्काले भने, जिम्मेवारी तोकिएमा छुट्टै मनोविज्ञान आउँदो रहेछ । यो अवस्थामा नेतृत्व विकास गर्ने समेत अवसर पाएको उनले बताए ।