तुलसीपुर, २७ पुस । तुलसीपुर उपमहानगरपालिका वडा–१२ सितलपुरदेखि कचिला गाउँसम्म पक्की नाला निर्माण गरिने भएको छ । पक्की नाला निर्माणको लागि सघन सहरी तथा भवन डिभिजन कार्यालय संघको एक करोड बजेट प्राप्त भएको वडा अध्यक्ष खुशीराम चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीका अनुसार सितलपुरदेखि कचिला गाउँसम्म दुवैतर्फ गरी करिब एक हजार आठ सय मिटर पक्की नाला निर्माण हुने भएको छ । त्यसको लागि स्थानीयहरूसँग छलफल गरिएको उनले बताए । यस्तैकचिला गाउँकै रामनगर टोलमा एक हजार मिटर पक्की नाला निर्माणको लागि प्रदेशको बजेट परेको उनले बताए ।
एकीकृत बस्ती विकास योजना अन्तर्गत तुलसीपुर उपमहानगरको १५ लाख र वडाको पाँच लाख गरी २० लाख बजेट रहेको वडाले जनाएको छ । १२ नम्बर वडामा सडक कालोपत्रे र नाला निर्माण काम धेरै ठाउँहरूका सम्पन्न भइसकेको छ ।
शहरी तथा भवन डिभिजन कार्यालय प्रदेशको दुई करोड ८० लाख बजेटमा रझेनामा नौ सय मिटर कालोपत्रे सहितको पक्की नाला, रझेनि थारू गाँउमा आठ सय मिटरको कालोपत्रेसहितको पक्की नाला, हरिपौरीमा तीन सय मिटरको पक्की नालालगायत विभिन्न ठाँउमा काम सम्पन्न भएको वडा अध्यक्ष चौधरीले बताए । अरू निर्माणको प्रक्रियामा रहेको उनले बताए ।