![](https://i1.wp.com/epradeshtoday.com/wp-content/uploads/2024/01/1st-6.jpg?resize=696%2C439&ssl=1)
जीतसागर जी.एम.
दाङ, २६ पुस । तुलसीपुरमा बढ्दो जनघनत्वलाई खानेपानीको सहज व्यवस्थापनका लागि बबई नदीको पानी लिफ्टिङ गरेर ल्याउनका लागि काम तिब्र बनेको छ । पाइप विस्तार, ओभरहेट ट्यांकीलगायतका काम तिब्रगतिमा भइरहेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए ।
‘बबईको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउनका लागि अहिले काम तिब्रगतिमा भइरहेको छ’ उनले भने– ‘अहिलेसम्म करिब ४० प्रतिशत काम सकिएको छ । आयोजनाको काम आगामी २०८२ साल असारमा २८ मा सक्ने गरी भइरहेको उनले बताए । पानीको बढदो मागलाई धान्न बबईको पानी तुलसीपुरमा ल्याउन लागिएको हो । करिब ५७ करोड लागतमा बबईको पानी लिफ्टिङ गरेर ल्याउन लागिएको हो ।
आयोजनाअन्तर्गत चारवटा ओभरहेड ट्यांकी निर्माण हुन लागेको छ भने पाँचवटा ग्राउण्ड ट्यांकी बन्दै गरेको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार बसपार्कमा पाइप विस्तारको काम तिब्रगतिमा अघि बढेको छ । बसपार्कमा पानी वितरणका लागि ट्यांकी निर्माण भइसकेको अध्यक्ष भण्डारीले बताए ।
‘बसपार्कमा पानी वितरणका लागि ट्यांकी निर्माणको काम भइसकेको छ’ उनले भने– ‘पाइप विस्तारको काम पनि अघि बढेको छ ।’ नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा आयोजनाको काम भइरहेको छ । पानीका मुहान सुक्दै जाने तर पानीको माग बढ्दै गएकाले बबईको पानी लिफ्टिङ गरेर पानी ल्याउन लागिएको उनले बताए ।
‘बबईको पानी आयो भने तुलसीपुरमा करिब १७ हजार धारा हुनेछन्’ उनले भने– ‘अहिले करिब सात हजार थप धारा विस्तार गर्न सकिने छ ।’ उनका अनुसार अहिले तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठवटा ग्राभेटी मुहान छन् । त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेड्क्रस परिसरमा भूमिगत मुहानस्रोत रहेका छन् । त्यस्तै रानीजरूवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।
बबईको पानी टरिगाउँ एयरपोर्टस्थित ट्यांकी र तत्कालिन अञ्चल प्रहरी कार्यालय नजिकको ट्यांकीमा पानी ल्याइने छ । त्यसपछि अन्य सहायक ट्यांकीमा पानी वितरण हुने कोषाध्यक्ष भोला थापाले बताए । उनका अनुसार ट्यांकी निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ भने पाइप विस्तारको काम पनि तिब्रगतिमा अघि बढेको छ । खानेपानी कार्यालय परिसरमा रहेको ट्यांकी र बबई नदीमा ट्यांकी निर्माण भइसकेको उनले बताए । ‘
मोतिपुरको ट्यांकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ’ उनले भने– ‘तुलसीपुर–१२ को ट्रिटमेन्ट प्लान्टको रिजर्भ ट्यांकी निर्माणको काम भइसकेको छ भने गार्ड हाउसको काम पनि अन्तिम चरणमा पुगेको छ ।’ यस्तै करिब ११ किलोमिटर मुख्य पाइप लाइनमध्ये करिब सात किलोमिटर गाड्ने काम भइरहेको उनले बताए । ‘बबईको पानी ल्याउनका लागि मुख्य पाइप ३५० एमएमको प्रयोग भइरहेको छ’ उनले भने– ‘यसको काम अब करिब पाँच किलोमिटर बाँकी छ ।’
यस्तै उपभोक्ताको धारामा पानी वितरणका १२५ किलोमिटर पाइप विस्तार गरिने कोषाध्यक्ष थापाले बताए । ‘ट्यांकीबाट उपाभोक्ताको घरसम्म पु¥याउनका लागि १ सय २५ किलोमिटर पाइप विस्तार गरिने छ’ उनले भने–‘यसमध्ये करिब २० किलोमिटर पाइप आइसकेको छ, त्यसलाई अब तत्कालै व्यवस्थापन गर्ने पक्षमा छौँ ।’
उनका अनुसार माघ महिनादेखि बबईको पानी लिफ्ट गर्ने योजना छ । ‘तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर तीनवटा सम्पवेल (इनारजस्तै पानी सङ्कलन गर्ने प्रविधि) मा पानी लिफ्ट गर्नेछौँ’ उनले भने– ‘त्यसको पानी ट्रिटमेन्ट गरेर एयरपोर्टको पश्चिम साइडमा ट्रान्जिट हुँदै साविक अञ्चल प्रहरीको कार्यालयमा ल्याइने छ ।’