सरद बिष्ट
प्यूठान, २६ पुस । स्वर्गद्वारी नगरपालिकास्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० को उपाधि जनता मावि बर्जिवाङले जितेको छ । बुधबारदेखि सुरू भएको प्रतियोगिता मंगलबार सम्पन्न भएका हो । चार दिनसम्म सञ्चालन हुने भनेता पनि सबै विधाका खेलहरू समयमै नसकिएकोले थप तीन दिन थप्नु परेको स्वर्गद्वारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख प्रेम बहादुर जिसीले जानकारी दिए ।
पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रतियोगितामा स्वर्गद्वारी नगरपालिका–८, स्थित जनता मावि बर्जिवाङ प्रथम भएको छ । यस विद्यालयले १० स्वर्ण, ४ रजत र २ कास्यसहित प्रथम भयो । प्रतियोगितामा स्वर्गद्वारी नगरपालिकाकै पुरानो विद्यालयको रूपमा सुपरिचित अमर मावि भिंग्री ९ स्वर्ण, ६ रजत र ५ कास्यसहित दोस्रो भयो । त्यस्तै बेल्बास मावि तापा ६ स्वर्ण, २ रजत र ५ कास्यसहित तेस्रो भयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न विधामा प्रथम, दोस्रोे र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएका थियो । प्रतियोगिताको विभिन्न विधामा विभिन्न स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि मेडल, प्रमाणपत्र तथा नगद रूपैयाँसमेत प्रदान गरिएको थियो । प्रतियोगितालाई सफल बनाउन भूमिका खेलेका सहभागी विद्यालय, उत्कृष्ट खेलाडी र रेफ्रिहरूलाई पनि मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोगमा पुस १८ गते बुधबार नगरपालिकाकै नगर गौरव आयोजनाको नामले चिनिने आफ्नै खेल मैदान बाँझीपुरमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको थियो । प्रतियोगितामा भलिवलतर्फ छात्रछात्रा, कवड्डीतर्फ छात्रछात्रा, एथ्लेटिक्सतर्फ छात्रछात्रा र मार्सलआर्टअन्तर्गत तेक्वान्दो खेलमा १० वटा सामुदायिक र २ वटा संस्थागत गरी जम्मा १२ वटा विद्यालयका छात्रछात्राहरूको सहभागिता रहेको थियो ।
नगरपालिकाको नगर प्रमुख टेकप्रसाद भण्डारीको प्रमुख आथित्य तथा नगर खेलकुद समितिका अध्यक्ष दुर्गाबहादुर बुढाथोकीको अध्यक्षतामा पुरस्कार वितरण तथा समापन भएको थियो । समापन कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख मिनराज राना, कार्यपालिकाको सदस्यहरू, वडा कार्यालयका अध्यक्षहरू, शिक्षा शाखाका प्रमुख प्रेम बहादुर जिसी, विभिन्न पार्टीका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, पत्रकार, सुरक्षाकर्मी, खेलाडीहरू, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
नगर खेलकुद समितिका सदस्य तथा अमर माविका प्रधानाध्यापक बासुदेव खनालको स्वाागत मन्तब्यबाट शुभारम्भ भएको समापन कार्यक्रममा विभिन्न तह तप्काका व्यक्तिहरूले मन्तव्य व्यक्त गरेका थिए ।