घोराही, २५ पुस । राप्ती इन्जिनियरिङ कलेजमा शिक्षण सिकाइसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डा. शैलेन्द्र गिरीले विद्यार्थीहरूका बीचमा सामाजिक र अन्य क्लवहरूको प्रयोग गरेर नियमित रूपमा विद्यार्थी शिक्षकको सामूहिक अन्तरक्रियाको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी रूपमा अगाडि बढाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले आफू जापानको शैक्षिक भ्रमणमा रहदा र विश्वविद्यालयको अवलोकन गर्दा हासिल गरेको अनुभव विद्यार्थीलाई पस्केका थिए । राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले गुणस्तरिय शिक्षण सिकाइमा विद्यार्थीहरूको भूमिकाको बारेमा प्रशिक्षण दिएका थिए ।
साथै डा. गिरीले विद्यार्थीहरूले आफ्नो समग्र विकासको लागि आफू नै अग्रसर भएर लाग्न सकेमात्र लक्ष्य प्राप्त गर्न सकिने कुरामा जोड दिए । बिई सिभिल र विसिए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसूदन वैद्यले गरेका थिए ।
जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेश्नल स्कुल र राप्ती इन्जिनियरिङ कलेजबीच एक आपसमा शैक्षिक अनुभव, ज्ञान, सीप र विद्यार्थी आदानप्रदान, सांस्कृतिक आदानप्रदान, अनुसन्धानमा सहयोग र भाषा शिक्षालाई अगाडि बढाउने गरी सम्पन्न भएको समझदारी पत्र कलेजका प्रिन्सिपल रेशम गिरीलाई कलेज सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हस्तान्तरण गरेका थिए ।