दाङ, २५ पुस । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा सोमबार थारू कल्याणकारी सभा राजपुरले माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । थारू कल्याणकारी सभा राजपुरका अध्यक्ष मंगल चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवको विशेष अतिथिमा कार्यक्रम भएको हो ।
राजपुर गाउँपालिका र वडा नम्बर ४ को वडा कार्यालयको संयुक्त आर्थिक सहयोग तथा थारू कल्याणकारीसभा राजपुरको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले राजपुर गाउँपालिका भित्रका थारू समुदायको लागि गाउँपालिका सधै लागि परेको र आगामी दिनमा निरन्तर लागिपर्ने बताए ।
थारूहरूको महान पर्व नजिकै आउँदै गरेको माघी पर्वको शुभकामना दिदै अध्यक्ष बुढाथोकीले थारू कल्याणकारी सभा राजपुरको कार्यालय भवन निर्माणका लागि आफुले राजपुर पालिकाबाट पाँच÷पाँच लाख गरी दुई पटकमा १० लाख बजेट विनियोजन गरिदिएको र अहिले कार्यालय भवन पनि निर्माण भइसकेको बताए । त्यस्तै अध्यक्ष बुढाथोकीले सोमबार नै नवनिर्मित कार्यालय भवनको उद्घाटनसमेत गरे ।
कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादव, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी, थारू कल्याणकारी सभा दाङ क्षेत्र नम्बर १ का सभापति प्रकाश चौधरी, थारू कल्याणकारी सभा क्षेत्र नम्बर १ का पार्षद् हल्लुप्रसाद चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
थारू कल्याणकारी सभा राजपुरका सदस्य खुशीराम चौधरीको स्वागत मन्तव्यबाट सञ्चालन भएको कार्यक्रममा थारू कलासम्बन्धी विभिन्न प्रतियोगिताहरू प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन सभाका सचिव रामबकश चौधरीले गरेका थिए ।