रोल्पा, २५ पुस । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । कार्यालयले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गता–अशक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमअन्तर्गत रोल्पाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै गई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श दिन थालेका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिए । उक्त कार्यक्रम स्वास्थ्य कार्यालयको आयोजना तथा स्थानीय तहको सहकार्यमा भइरहेको उनले जानकारी दिए ।
यसको लागि रोल्पामा करिब तीन सय स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । रोल्पामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकको कुल संख्या दुई हजार दुई सय ६२ रहेको कार्यालयले जनाएको छ ।