Monday, April 29, 2024
Homebreaking-newsराष्ट्रिय सभाको निर्वाचन, लुम्बिनीमा सात जनाको उम्मेदवारी

राष्ट्रिय सभाको निर्वाचन, लुम्बिनीमा सात जनाको उम्मेदवारी

- Advertisement -spot_img

दाङ, २४ पुस । राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ ।

मधेश प्रदेशमा पनि महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । लुम्बिनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसका विष्णु कुमारी सापकोटा र राप्रपाबाट बिजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

कांग्रेसका सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दंगीशरण गाउँपालिका शम्भु गिरी रहेका छन् भने दाङका एमाले नेता केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरूलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी रहेका छन् । त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, राप्रपाबाट निरञ्जन कुमार थापा र जनमत पार्टीका बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी रहेका छन् भने माओवादीका सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका छन् । यस्तै जनमत पार्टीका बालगोबिन्द चौधरीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङ रहेका छन् ।

लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २ सय १८ पालिकाका जनप्रतिनिधि गरी ३ सय ५ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । यस्तै कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

आगामी माघ ११ हुने राष्ट्रियसभा निर्वाचनका पुस २४ गते (आज) उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here