नीता चौधरी
दाङ ,२्४ पुस । दाङको तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ संचालन हुने भएको छ । मानवसेवा आश्रमको मानविय स्मारक भवन निर्माणका लागि महायज्ञ लगाउन लागिएको हो । सहयोगापेक्षी सडक आश्रित मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूका लागि भवन बनाउन श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ लगाउन लागिएको महायज्ञ मूल आयोजक समितीले सोमबार पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
‘मानवताको कुनै सिमा हुदैन’ भन्ने मुल भावनाका साथ महायज्ञ संचालन गर्न लागिएको मुल आयोजक समितिले जनएको छ । सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै महायज्ञ संचालनबारे जानकारी गराइएको हो । महायज्ञ आउदो माघ १३ गतेदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा संचालन हुने मूल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका–४ हलवार स्थित कालिकामालिका मन्दीर व्यवस्थापन समितिले १ बिगाह २ कठ्ठा जमिन प्रदान गरेको र सो स्थानमा मानव सेवा आश्रमको मानवीय स्मारक निर्माणका लागि महायज्ञ लगाउन लागिएको उनले बताए । मानविय स्मारक निर्माणका लागि करिब १५ करोडको लागत अनुमान गरिएको र महायज्ञबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानवसेवा आश्रमका केन्द्रिय महासचिव शुशिला केसीले बताइन् । ‘मानवीय स्मारकको ड्राफ्ट तयार भैरहेको छ’ उनले भनिन्– ‘यसका लागि इन्जिनियरले डिजाइल गर्दै हुनुहुन्छ ।’
दाङ जिल्लालाई महायज्ञसंग जोड्ने उद्देश्य सहित तुलसीपुर, घोराही, लमही, भालुवाङ लगायतका क्षेत्रमा क्षेत्रगत ९ जना सह–संयोजकहरू मनोनयन समेत गरिएको छ । महायज्ञ संचालन गर्नुपूर्व माघ ७ गते मानवसेवा आश्रमको मानवीय स्मारकको शिलान्यास हुने उनले बताइन् । उक्त स्मारकको शिलान्यास लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्किले गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी महायज्ञको उदघाटन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । मावन सेवा आश्रमले देशभरका विभिन्न स्थानमा यो भन्दा पहिले पनि धेरै पटक महायज्ञ संचालन गरिरहेको महासचिव केसीले जानकारी दिइन् । ‘यो भन्दा पहिले जति पनि महायज्ञ संचालन भएका छन’् उनले भनिन्–‘हाम्रो सोच अनुसार नै भए, त्यसैले दाङमा पनि संचालन गर्ने प्रेरणा समेत प्राप्त भयो ।’
सहयोगापेक्षी सडक आश्रीत मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूलाई खाना, नाना र छानाको उचित व्यवस्थापन गरी विक्रम सम्वत् २०८२ सम्म नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त देश बनाउने उद्देश्यका साथ २०६९ भदौ १३ गते मकवानपुरको हेटौडामा स्थापना भएको थियो । मावन सेवा आश्रमले हाल देशका १९ वटा जिल्लामा २४ वटा सेवा केन्द्रद्धारा सेवा प्रदान गरिरहेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा २०७८ बैशाख ३ गते भाडाको घरमा गृह प्रवेश गरी २०७८ मंसिर ४ गतेदेखि औपचारिक रूपमा सेवा संचालन गर्दै आएको छ ।
मानव सेवा आश्रमले संचालन गरेको मानव आश्रममा नेपाल लगायत भारतीय, बंगाली रपाकिस्तानी नागरिकहरूले आश्रय लिइरहेका छन् । तुलसीपुरमा रहेको मानव सेवा आश्रमको केन्द्रमा हाल ७५ जना आश्रित छन् । स्थापनाकालदेखि अहिलेसम्म ४३ जनाको पारिवारिक पुनर्मिलन भएको छ भने १९ जनाको आश्रममै निधन भएको महासचिव केसीले जानकारी दिइन् । श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसिमितिका संयोजक सुशील बस्नेतले गरेका थिए ।
यसैबिच महायज्ञ प्रचारप्रसार उपसिमितिको संयोजक शुशील बस्नेतको संयोजकत्वमा सहसंयोजक नारायणी रजौरे, बंशीकुमार शर्मा, सदस्य सचिवमा उमा भण्डारी रहने गरी १७ सदस्यीय कमिटि गठन गरिएको छ ।