Saturday, April 27, 2024
Homeराजनीतिराष्ट्रियसभा निर्वाचनको अन्तिम मतदाता नामावली सार्वजनिक

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतदाता नामावली सार्वजनिक

- Advertisement -spot_img

दाङ, २३ पुस । आउँदो माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्जजनिक भएको छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जसअनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ९, पालिकाका प्रमुख र उपप्रमुखतर्फ २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । यस्तै, मधेस प्रदेशमा प्रदेश सभा सदस्यतर्फ १०७ तथा पालिकाका प्रमुख र उपप्रमुखतर्फ २६७ गरी जम्मा ३७४ जना, बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ११० तथा पालिकाका प्रमुख र उपप्रमुख २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ६० तथा पालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० गरी जम्मा २३० जना, लुम्बिनीमा प्रदेश सभा सदस्यतर्फ ८७ तथा पालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ गरी जम्मा ३०५ जना, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ४० तथा पालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ गरी जम्मा १९६ जना र सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ५२ तथा पालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन् ।

एमालेका १९ उम्मेदवार

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धन नगरी एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रूक्मिणी कोइराला, अन्यबाट पर्शुराम अधिकारी तथा मधेसमा महिलाबाट उषादेवी थरूनी र अन्यबाट डाक्टर अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यस्तै बाग्मतीमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता–अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा, गण्डकीमा महिलाबाट सम्झना देवकोटा, अन्यबाट चक्रबहादुर पराजुली, अपाङ्गता–अल्पसंख्यकबाट हेमन्द्र शेरचन तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

यस्तै कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट, दलिततर्फ हिक्मत विक र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपाङ्गता–अल्पसंख्यकबाट रामचन्द्र जोशीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

माओवादीका छजना उम्मेदवार

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यको चुनावका लागि छजना उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बाग्मती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरूपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

सत्तारूढ गठबन्धनको बसेको बैठकले संयुक्तरूपमा उम्मेदवार उठाउने निर्णय गर्दैै सिट बाँडफाँट गरेको थियो । त्यही बाँडफाँटमा माओवादी केन्द्रको भागमा छवटा सिट परेको थियो । सत्ता गठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो । राष्ट्रिय सभा सदस्यका लागि सोमवार मनोनयन हुँदैछ । आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त सदस्यका लागि चुनाव हुँदैछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here