सल्यान, २३ पुस । सल्यानको कपुरकोट गाउँपालिकामा पालिकास्तरीय नेपाल स्काउटको गाउँ कार्यसमिति गठन गरिएको छ । स्काउटको ऐनबमोजिम गाउँपालिका उपाध्यक्ष अध्यक्ष हुने प्रावधान अनुसार गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सात सदस्यीय नेपाल स्काउट कपुरकोट गाउँ कार्यसमिति गठन गरिएको हो ।
गाउँपालिकामा आइतबार भएको प्रथम अधिवेशनबाट कपुरकोट स्काउटको आयुक्तमा हिमा डाँगी निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा तेजविक्रम महतरा, प्रदिप पुन, गीता खड्का, शिवराज उदास, द्रोण बुढाथोकी निर्वाचित भएको निर्वाचन अधिकृत चूडामणि केसीले जानकारी दिए ।
नेपाल स्काउटको प्रथम गाउँ अधिवेशनलाई उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले संस्थाको उद्देश्य अनुसार कपुरकोटका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकारिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाउनमा स्काउटले महत्वपूर्ण भमिका खेल्नुपर्ने बताए ।
स्काउटको संरक्षकसमेत रहेका अध्यक्ष पुनले स्काउट विपत्तिको समयमा निःस्वार्थ सहयोग गर्ने संस्था भएकाले स्काउटलाई चलायमान बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटका प्रत्येक विद्यालयमा स्काउट दल गठन गरिने बताए ।
स्काउट कपुरकोटका अध्यक्षसमेत रहेका भण्डारीले विद्यालयमा गठन गरिएका स्काउट दललाई संस्थाको उद्देश्यबमोजिम दैविक प्रकोपलगायत गाउँ समाजमा आईपर्ने हरेक किसिमको आपत्तिका बेला सहयोग गर्न सक्ने गरी तालिम प्रदान गरिने बताए ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वली, शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार केसी, कालिका माध्यमिक विद्यालयको प्रधानाध्यापक चूडामणि केसी, शिक्षा शाखा प्राविधिक सहायक रमेश कुमार आचार्यलगायतले स्काउटले समाज रूपान्तरणमा अझै प्रभावकारी भूमिका खेल्नका लागि शुभकामना दिए । द्रोण बुढाथोकीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा स्काउट कपुरकोट तदर्थ समितिका संयोजक भूपाल शाहुले दुई वर्षको अवधिमा स्काउटले कपुरकोटमा गरेका कार्यका बारेमा जानकारी दिए ।