गुरूङ जातिको आदिमथलो क्व्होलासोँथर हो । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखै अगाडि देखिने सेता हिमश्रृंखला र पहाडी दृश्य । बाह्रै महिना चिसो मौसम अनि ढुङ्गा बिछायका गाउँका बाटाहरू । बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै भेषभूषा र मातृभाषामा कुराकानी । यो हो लमजुङ जिल्लाको घलेगाउँको परिचय हो । आजभोलि सार्क राष्ट्रकै नमुना गाउँको उपाधि पाएको घलेगाउँ पर्यटकीय गाउँ बनेको छ । जहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन् ।
घले गाउँ लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा पर्दछ । क्व्होलासोथारको शाब्दिक अर्थ आदिमथलो हुन्छ । अर्थात् गुरूङ र घले जातिहरूको त्यो क्षेत्रजस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरूङ र घलेहरूको पुर्खाको थलो हो । घलेगाउँ नेपालको पहिलो ‘स्मार्ट भिलेज’ हो । तमुहरूको महान पर्व फो–ल्हो ल्होसार वर्ष २०७५ को अवसरमा घलेगाउँलाई नेपालको पहिलो स्मार्ट भिलेज घोषणा गरिएको थियो । होमस्टेमा चर्चा कमाएको घलेगाउँ ‘स्मार्ट भिलेज’ भएपछि पर्यटकहरूका लागि निःशुल्क इमेल इन्टरनेट सेवासमेत उपलब्ध छ ।
गाउँलाई ‘स्मार्ट भिलेज’ निर्माणका लागि घलेगाउँबासीले दैनिक सरसफाईमा जुट्ने गर्दछन् । घलेगाउँमा विसं २०५७ देखि सञ्चालनमा आएको होमस्टे अहिले ४२ घरमा सञ्चालनमा छ । पर्यटकको सत्कार सँगसँगै घरबास अर्थात् होमस्टेमा आफ्ना कला, भेषभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका छन् । घरवासमा बास बस्ने पर्यटकहरूलाई घलेगाउँबासीको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।
स्मार्ट सिटी पछिल्लो समयमा विश्वभर सहरी विकास योजनाका खाका र दस्तावेजहरूमा प्रयोग हुन थालेको अवधारणा हो । स्मार्ट सिटीको अवधारणाले सूचना प्रविधिको पहुँचलाई मात्र मापन गर्दैन यसले नगर र गाउँको सबै स्रोतको वितरण, स्रोतको परिचालन, भौतिक विकास र सुविधाको वितरणमा प्रविधिको प्रयोग अनिवार्य गरिएको हुन्छ ।
भिलेजमा स्थानीय सार्वजनिक सम्पत्तिहरू, जस्तैः विद्यालय, पुस्तकालय, यातायात, अस्पताल, खानेपानी, फोहोर व्यवस्थापन, कानुनी परामर्श वा सामुदायिक सेवाहरू सबैमा प्रविधि र दिगो विकासका सिद्धान्तको उचित तालमेल हुनु नै स्मार्ट सिटी अथवा भिलेजको अवधारणा हो । विश्वव्यापी रूपमा स्मार्ट सिटीको कुनै सर्वस्वीकार्य परिभाषा त छैन ।
तर, स्थानीय आवश्यकतामा आधारित भएर प्रविधिको प्रयोगले मानव जीवनको गुणस्तरताका लागि स्रोतसाधन समुचित वितरण, उपयोग र संरक्षण गर्नु भनेकै स्मार्ट सिटीको अवधारणा हो । स्मार्ट सिटीको अर्को कुरा हो रोजगारी । रोजगारीको समुचित व्यवस्था, उत्पादनशील प्रतिफलले भिलेजको न्यूनतम आवश्यकता पूरा गर्ने र व्यक्तिगत रोजगारीले आफ्नोलगायत परिवारको न्यूनतम आवश्यकता पूरा गर्ने किसिमको हुनुपर्दछ । घले गाउँले अब यसतर्फ पनि सोच्न जरूरी छ ।
घलेगाउँ समुन्द्री सतहदेखि २१ सय मिटरको उचाईमा रहेको छ । घलेगाउँबाट टाढासम्म दृश्यावलोकन सूर्योदयको अवलोकन गर्न सकिन्छ । आँखै अगाडि टल्किएको हिमालले पर्यटकलाई मोहनी लगाउँछ । गाउँमा रहेको उत्तरकन्या देवीको मन्दिर र कुवाले गाउँलाई आकर्षक बनाएको छ ।
पर्यटकहरूलाई घलेगाउँमा पुग्दा हिमालको मनोरम दृश्यले लोभ्याउँछ । हिमालको काखको घलेगाउँबाट पर्यटकहरूले माछापुच्छ«े, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बुद्ध, ङादीचुली डा. हर्क पिक हिमाल, गणेशलगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सक्दछन् । पर्यटक आँखा अगाडिको हिमालको दृश्यमा फोटो खिच्न मन पराउँछन् ।
मनोरम दृश्यका फोटो र भिडियोहरू मोवाइल र क्यामारामा कैद गर्नका लागि पर्यटक घलेगाउँ जाने गर्दछन् । त्यसमा पनि संस्कार, संस्कृति र स्थानीय उत्पादन पर्यटकको रोजाइ बनेको छ । घलेगाउँमा ‘स्मार्ट भिलेज’ बनाउने अभियानसँगै गाउँका १२० घरमा उस्तै देखिने गरी रातो रंगको जस्ताले छाना छाइएको छ । पाँचदशक पुराना टिनका छाना फेरेर राता रंगीन छानाले घलेगाउँलाई सजाइएको छ ।
पर्यटनको विकासले घलेगाउँलाई दक्षिण एशिया मै नमूना ग्रामीण पर्यटकीय गाउँका रूपमा चिनाएको छ । घलेगाउँ प्राकृतिक सौन्दर्यका साथै मौलिक कला, परम्परा र सांस्कृतिक पक्षले पनि उत्तिक्कै धनी छ । पर्यटकहरूका लागि गाउँमा हिडडुल गर्न गाउँभित्रका सिँढी मार्गहरू निर्माण एवं मर्मत गरी गाउँलाई सफासुग्घर गरी चिटिक्क बनाइएको छ । गाउँमा बाटो वरपर फूल रोपिएका छन् ।
घलेगाउँ समुन्द्री सतहदेखि २१ सय मिटरको उचाईमा रहेको छ । घलेगाउँबाट टाढासम्म दृश्यावलोकन सूर्योदयको अवलोकन गर्न सकिन्छ । आँखै अगाडि टल्किएको हिमालले पर्यटकलाई मोहनी लगाउँछ । गाउँमा रहेको उत्तरकन्या देवीको मन्दिर र कुवाले गाउँलाई आकर्षक बनाएको छ । देवीको मन्दिरका मूर्तिहरू उत्तर दिशातर्फ फर्किएको हुँदा यसअघि साविक गाविसको नाम पनि घले उत्तरकन्या राखिएको थियो ।
घलेगाउँमा गुरूङ र घले राजाको बगैंचा, गुरूङ जातिको हस्तकला, चिया बगानसमेत अवलोकन गर्न पाइन्छ । घलेगाउँको संस्कार र संस्कृतिमा घलेगाउँ धनी छ । गुरूङ जातिको संग्रहालयले क्व्होलासोँथरको झल्को दिन्छ । गाउँमा आउने पर्यटकहरूलाई मनोरञ्जनका लागि घलेगाउँबासीले परम्परागत पहिरनमा सजिएर गुरूङ संस्कृतिमा आधारित घाँटु, कृष्ण चरित्र, झ्याउरे, सोरठी नाच, घ्याब्रे नाच देखाउँछन् ।
घलेगाउँमा गाउँले परिवेश बुझ्न, स्थानीय घले तथा गुरूङ समुदायको संस्कृति हेर्न तथा प्रकृतिसँग रमाउन पर्यटकहरू जाने गर्दछन् । दक्षिण एशियाका सार्क राष्ट्रभरि नै यस किसिमको भौगोलिक बनावट, मौलिक संस्कृति तथा प्राकृतिक सौन्दर्य नपाइने भएकाले घलेगाउँले नमुना गाउँको उपाधि पाएको हो । अन्नपूर्ण आधार शिविरसम्म पुग्न घलेगाउँको पदमार्ग नै प्रयोग गरिन्छ । त्यसबाहेक घलेगाउँ पुगिसकेपछि कोदाको रोटी, गुन्द्रुक, ढिँडो, स्थानीय रक्सी नारे पा समेत चाख्न सकिन्छ । घलेगाउँबाट सूर्यास्तको दृश्यावलोकन पनि गर्न सकिन्छ ।
घलेगाउँबाट फर्कदा भेडा तथा चौंरीको उनबाट बनेका सामग्रीहरू उपहारस्वरूप किन्न पनि सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानवबस्ती मानिन्छ । घलेगाउँको प्रमुख आयश्रोत नै पर्यटन व्यवसाय हो । चार घले जातिमध्ये राल्दी घलेहरूले लेकबाट आएर बस्ती बसालेपछि घलेगाउँले विकसित रूप लिँदै गएको मानिन्छ । यो गाउँमा जन्म, मृत्यु, विवाहका लागि चाहिने सामग्रीमा स्थानीय उत्पादन मात्र प्रयोग गरिन्छ । मौलिकतालाई घलेगाउँले जोगाएर राखेको छ ।
घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको छ । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्दछन् । घलेगाउँमा पुगेका हरेक आन्तरिक पर्यटकले होमस्टेमा बस्ने र खाने सुविधा लागि आजभोलि प्रतिव्यक्ति एक रातको एक हजार दुई सय ५० सेवा शुल्क लिइन्छ ।
होमस्टेमा आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरूङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुटका, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरी गाउँमा पुगेका पर्यटकहरूलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा चढाइन्छ । विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँबासीको परम्परा नै बनेको छ । घले गाउँमा स्थानीय कला, संस्कृति र संस्कारका साथै स्थानीय पर्यावरणमा असर पुग्ने कुनै पनि क्रियाकलाप गर्न पर्यटकलाई निषेध गरिएको छ भने उनीहरूले तोकिएका नियम पालना गर्नुपर्ने पनि पर्यटन आचारसंहितामा उल्लेख छ ।
पर्यटकको मन लोभ्याउने मुख्य आकर्षण भनेकै घलेगाउँमा प्राकृतिक छटा हो । सूर्योदय र सूर्योअस्तसँगै मस्र्याङ्दी, मादी नदी नागबेली आकारमा सुसाएर बगेको मनोरम दृश्य पनि राम्ररी नियाल्न सकिन्छ । अन्नपूर्ण संरक्षण आयोजनाभित्र पर्ने यस गाउँका जंगलहरूमा वन्य पशुपंक्षीसँग समेत साक्षात्कार गर्न सकिन्छ । घलेगाउँबाट होचा अग्ला डाँडाकाँडासँगै अग्ला, होचा हिमाल, समथर तरेली परेका फाँटहरू राम्रोसँग अवलोकन गर्न पाउँदा त्यहा पुग्ने जो कोही पर्यटकहरूको मन फुरूङ हुन्छ । त्यसैले होला घलेगाउँमा बाह्य पर्यटकमात्र नभएर आन्तरिक पर्यटकको चाप बढी छ ।
पर्यटकलाई मनोरञ्जन दिनको लागि पौराणिक घाटु नाच घलेगाउँमा देखाइन्छ । घाटु नाच नाच्नुको प्रमुख उद्देश्य भनेको हिमचुली वर्चली देउतालाई पूजा गर्नको लागि हो । घाटु नाच दुई प्रकारको रहेको छ । एउटा बाह्रमासे र अर्को सति । बाह्रमासे घाटु नाच बाह्रै महिना नाचिन्छ भने सति नाच मागको श्रीपञ्चमीदेखि चण्डी पूर्णिमासम्म नचाउने गरिन्छ । चण्डी पूर्णिमाको दिन यसलाई सेलाउने कार्य गरिन्छ । सेलाउँदाको दिनमा एउटा निश्चित ठाउँलाई गाईको गोबरले लिपेर दूधको धारा दिएर अन्त्य गरिन्छ ।
घलेगाउँका मानिसहरूले कृष्ण चरित्र नाच नाच्ने गरेका छन् यो आयतित संस्कृति हो । यो नाच भारतबाट भित्रिएको मानिन्छ । भारतको सेनामा भर्ना भएका सेनाहरूले यो नाचलाई गाउँमा भित्राएको मानिन्छ । घलेगाउँ पुगिसकेपछि साँच्चिकैको गाउँ भनेको कस्तो हुन्छ भने अनुभव गर्ने सबैलाई मौका मिल्छ । यहाँको संस्कृति, कला र गाउँलेहरूको व्यवहारले झनै यहाँ रमाउने उत्प्रेरणा जगाइदिन्छ । हातैबाट बनाएका विभिन्न सामानहरू आन्तरिक तथा बाह्य पर्यटकहरूले मन पराउने गर्दछन् । जुन परम्परागत तरिकाले यस गाउँका मानिसहरूले बनाउँदै आएका छन् ।
यस गाउँमा आउने पर्यटक सबैलाई गाउँका सबैजना मिलेर स्वागत सत्कार गर्ने गर्दछन् । स्वागत गर्ने बेलामा स्थानीय भाषाका विभिन्न किसिमका श्लोक (गीत) गाउँदै स्वागत गरिन्छ । यस किसिमको नाच र गीतलाई यालामी भनिन्छ । यो गुरूङ समुदायको पाहुनालाई स्वागत गर्ने नाच हो । त्यसपछि गाउँमा कस्को–कस्को घरमा कसलाई राख्ने भनेर छलफल गरी तोकिएको घरमा पर्यटकलाई लगेर राखिन्छ । गाउँमा नै उब्जेको खाद्यान्नबाट स्थानीय परिकार बनाएर खुवाइन्छ । यसले गर्दा आउने सबै पर्यटक खुशी हुने गर्दछन् ।
घलेगाउँमा ५४ रोपनी जमिनमा विभिन्न जातका चियाका विरूवा लगाएको छ । चिया बगैचा गाउँको उत्तर कन्या मन्दिर नजिकै रहेको छ । मन्दिर अगाडि एउटा साना खोला उत्तर भएर बग्ने भएकोले गाउँलाई उत्तरकन्या भनिएको रहेछ । गाउँमा आपतविपत् पर्दा यही मन्दिरको नाम भाकल ग¥यो भने मुक्ति पाइने भन्ने विश्वास घलेगाउँमा रहेको छ ।
त्यस्तै घलेगाउँमा एउटा सुन्दर पोखरी रहेको छ । यस पोखरीको नाम देब्रे पोखरी रहेछ । गाउँबाट देब्रेपट्टी रहेकोले पोखरीको नामनै देब्रे भन्ने गरेका रहेछन् । सुन्दर घलेगाउँको जति बयान गरे पनि कमै हुन्छ । हिमालयको काखमा रेहको यो सुन्दर गाउँ स्वर्ग जस्तै छ । शहरको धुलो धुवामा कोहोलालमा बसेका मानिसलाई त्यहाँ पुगेपछि घर फर्कने मन नै हँुदैन । गाउँलेको आत्मीय व्यवहरले त झन यस गाउँलाई छोड्न नै मन लाग्दैन ।
घलेगाउँमा दैनिक तीन सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको होमस्टे छन् । होमस्टेमा आउने पर्यटकलाई खानाका लागि स्थानीय परिकारकै प्रयोग हुने गर्दछ । पर्यटकले प्रयोग गर्ने कोठाहरू सफा र आरामदायी छन् । सबै होमस्टेहरू मापदण्डअनुसार नै सञ्चालन भएका छन् । न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका गर्दछन् ।
परालका गुन्द्रीमाथि गाउँमै बुनेका राडी र गलैँचामा पलेँटी मारेर पारिवारिक वातावरणमा खानपिन गर्दा पर्यटकहरूलाई साँच्चै रमाइलो अनुभूति हुन्छ । अँगेनाको वरिपरि लहरै पाहुनालाई बसाएर रोजेको परिकार पकाइदिने र कुराकानी गर्दै त्यसको स्वादले पर्यटकहरू रमाउने गर्दछन् । पर्यटकलाई होमस्टे सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् ।
घलेगाउँमा पछिल्लो समय विदेशीभन्दा आन्तरिक पर्यटकहरू धेरै पुग्दछन् । विगतमा चिसो मौसममा पर्यटक संख्या घटने गरे पनि यो वर्ष भने चिसोको समयमा पनि पर्यटक आगमन संख्यामा कुनै कमी आएको छैन । जाडो समय भएपनि घलेगाउँ पुग्ने पर्यटकको संख्या बढेको छ । दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा आन्तरिक पर्यटक घलेगाउँ पुग्ने गर्दछन् । घलेगाउँ जान बेसीशहरबाट तीनवटा मार्ग हुँदै घलेगाउँ पुग्न सकिन्छ ।
पहिलो मार्ग बेसीशहरदेखि बाग्लुङपानी, कपुरगाउँ हुँदै घलेगाउँ, दोस्रो मार्ग बेसीशहरदेखि सिम्पानी, भलामचौर हुँदै घलेगाउँ र तेस्रो मार्ग बेसीशहरदेखि खुदी, रोपलेफाँट, नायुँ हुँदै पनि घलेगाउँ पुग्न सकिन्छ । पृथ्वी राजमार्गको डुम्रेबाट ४२ किलोमिटर लमजुङको सदरमुकाम बेसीशहर पुगे पछि २६ किलोमिटरको यात्रामा घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट साना हल्का सवारी साधन अर्थात् जीप रिजर्भ गर्न सकिन्छ । जीपबाट साँढे २ देखि ३ घण्टा र पैदल यात्रामा ६ देखि ७ घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।