निता चौधरी
दाङ, २० पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को राइखलियान तुलसीपुर बजारबाट करिब तीन÷चार किलोमिटरको दुरीमा मात्रै छ । तुलसीपुर बजारदेखि धेरै टाढा छैन् तर पनि उक्त बस्तीमा सहजरूपमा बिजुली बत्ती पुग्न सकेको छैन् । तुलसीपुर सुकौरा रोडदेखि केही मिटर भित्री क्षेत्रमा पर्ने एकता टोलमा पुरानो बस्तीसम्म सहजै बिजुली बत्ती पुगेपनि नयाँ बसेको बस्तीमा विद्युत पुग्न नसकेको हो । राइखलियानको दलित बस्तीको नामले चिनिने एकता टोलमा दलितहरूको घरपरिवार संख्या ३० छ । ३५/४० वर्षदेखि बसेको बस्तीमा अहिलेसम्म विद्युतको सहज पहुँच पुग्न नसकेको स्थानीयहरूको गुनासो छ ।
एकता टोलबासीहरूको लागि घरमा मिटर जोडेर बिजुली बत्ती बाल्ने त परैको कुरा हो । पोलसमेत पुग्न सकेको छैन् । उक्त टोलका नागरिकहरूले एउटै घरमा मिटर राखेर ९/१० घरपरिवारले बत्ती बाल्नुपर्ने बाध्यता रहेको स्थानीय भरत सुनारले जानकारी दिए । ‘नयाँ बसेको बस्तीमा पोल नै छैन’ उनले भने– ‘पोल नभएर बाँसको ९/१० वटा पोल गाडेर लामो तार तानी बत्ती बाल्ने गरिएको छ ।’
एउटै मिटरले धेरै घर परिवारले बत्ती बाल्दा समस्या हुने गरेको उनले बताए । ‘यसरी एउटा मिटरले धेरै घरपरिवारमा बत्ती बाल्दा एमसी फालिरहन्छ, त्यसले गर्दा समस्या छ’ उनले भने– ‘एउटा मिटरबाट धेरै घरपरिवारले बत्ती बाल्दा कम भोल्टेजमा बत्ती आउनेसमेत समस्या हुन्छ ।’ कहाँ जाने, कसरी विद्युतको समस्या समाधान गर्ने भन्ने कुराको जानकारी तथा प्रक्रियाको बारेमा समेत आफूहरूलाई थाहा नहुँदा अहिलेसम्म यस्तो समस्या झेल्नु परेको उनी सुनाउँछन् ।
‘२०७४ को स्थानीय तहको निर्वाचनपछि निर्वाचित हुनुभएको जनप्रतिनिधिहरूले पहल गर्ने प्रतिवद्धता गर्नुभयो’ उनले भने–‘ तर प्रतिबद्धता पूरा गर्न सक्नुभएन ।’ पछि अहिलेको जनप्रतिनिधिहरूले भने आफ्नो प्रतिवद्धता पूरा गर्ने योजनाका साथ आफूहरूको आवश्यकतालाई ध्यान दिएर काम गरिरहेकोे उनले बताए ।
‘अहिलेको जनप्रतिनिधिहरूको पहलमा सर्भेको कामसमेत भइसक्यो’ उनले भने– ‘अघिल्लो जनप्रतिनिधिले पनि बत्ती बाल्नका लागि पहल गर्ने प्रतिबद्धता नगरेको भने होइन तर पनि उहाँहरूले कुरा मात्रै गरेको र व्यवहारमा लागु गर्नुभएन ।’ वडा कार्यालयमार्फत पोल मगाएर लाइन जोेड्ने र सहज रूपमा बत्ती बाल्ने प्रतिबद्धता गरेपछि गएको वर्षदेखि कार्यान्वयन हुँदै गएपछि झनै खुशी भएको सुनारले बताए ।
४२ घरधुरी रहेको उक्त टोलमा ३० घरपरिवार दलितहरूको बसोबास रहेको छ भने अन्य गैरदलितहरू छन् । एकता टोलबासीका स्थानीयहरू धेरैजसो ऐलानी जग्गामा बसोबास गरिरहेका छन् । पहिले खाली जग्गा थियो । पछि जग्गाधनीले प्लटिङ गरेपछि बसेको बस्तीमा भने विद्युत पुग्न नसकेको तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर १० का सदस्य तथा एकता टोलकै स्थानीयसमेत रहेकी सरू सुनारले बताइन् । करिब ५/६ वर्षदेखि बसेको बस्तीमा पानीका लागि धाराको व्यवस्था राम्रो भएपनि विद्युतको समस्या रहेको उनले बताइन् ।
अब टोल र वडाको पहलमा विद्युत विस्तारका लागि सर्भे भइसकेको छ । सर्भे मात्रै हुँदा स्थानीयहरू सहजरूपमा बत्ती पाल्न पाइने भन्दै खुशीसमेत भएका छन् । तुलसीपुर उपमहानगर–पालिका १० नम्बरको वडा कार्यालयको पहलमा विद्युतको लागि पोलहरू पु¥याउने पहल भइरहेको वडा अध्यक्ष यमराज केसीले जानकारी दिए । त्यसका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले सर्भेसमेत गरिसकेको उनको भनाइ छ ।
‘यही पुसको महिनामा नेपाल विद्युत वितरण केन्द्र तुलसीपुरको प्राविधिक टोलीसहितले सर्वेक्षण गरिसकेको छ’ उनले भने– ‘अबको केही दिनमा पोलहरू आउँछ, पोल आएपछि तारहरू तानेर सबै काम हुन्छ र यहाँका नागरिकले सहजै बत्ती बाल्न पाउनुहुन्छ ।’
यसैगरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीले जति सक्दो छिट्टै विद्युतको विस्तार गरेर सहज रूपमा बत्ती बाल्ने वातावरण सिर्जना गर्ने बताएका छन् । वर्षौदेखि विद्युतको समस्या भोग्दै आएका एकता टोलबासीहरूलाई विद्युतको समस्या अब धेरै दिन झेल्न नपर्ने गरी काम गर्ने उनले बताए ।
आफू तुलसीपुरमा सरूवा भएर आएदेखि पहिले कसैले पनि आफूलाई जानकारी नगराएको उनको भनाइ छ । जानकारी पाउने वित्तिकै प्राविधिक र स्थानीय–सहितको टोलीले सर्भे गरिसकेको बताए । अब केही समयमा एकता टोलबासीहरूले प्रत्येक घरपरिवारले आफ्नै घरमा मिटर राखेर सहज रूपमा विद्युत पु¥याउने बाल्न पाउने छन् ।