देशमा दक्ष जनशक्तिको अभाव हुन थालेको छ । रोजगारीका लागि युवाहरू विदेश पलयान हुँदा स्वदेशमा आवश्यक जनशक्तिको पर्याप्ततामा चुनौती थपिन थालेको छ । अहिलेकै अवस्था आगामी दिनमा थप समस्या देखिने निश्चित भएको छ । दक्ष जनशक्ति पलायन हुँदा विषेशगरी शिक्षा क्षेत्रमा झन् बढी चुनौती देखिएको छ । उच्च शिक्षा पढ्ने विद्यार्थीको अभाव एकातिर छ भने अर्कोतिर उच्च शिक्षा पढाउने जनशक्तिको अभाव देखिन थालेको छ । शैक्षिक जनशक्तिको सहजता र चुनौतीको विषयमा सरोकारवालाको विचार प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा समेटेका छौं । – सम्पादक
जीतसागर जी.एम.
जनशक्तिलाई रोक्ने नीति बनेन
शिक्षा क्षेत्रमा हामीले अझै पनि जनशक्तिको अभाव भएको छैन् । हामी आफैले पनि जनशक्ति उत्पादन गरिरहेको हुँदा अहिलेसम्म अभाव झेल्नुपरेको छैन् । हामीले उत्पादन गरेको जनशक्ति नै हामी आफैले काम लगाइरहेका छौँ । यसले गर्दा अहिलेसम्म जनशक्ति पूर्तिका लागि ठूलो अभाव झेल्नुपरेको छैन् । तर अब विस्तारै संकट आउँछ कि भन्ने संकेतहरू देखिन थालेको छ । किनभने उच्च शिक्षा पढ्ने विद्यार्थीको अभाव हुन थालेको छ ।
पछिल्लो समय कक्षा १२ पास गरेर विदेश जाने लहर बढ्दै गएको छ । यो संकेत देशका लागि पक्कै राम्रो होइन् । यसले निकट भविष्यमा गम्भीर समस्या ल्याउने निश्चित छ । यस्तो अवस्थामा राज्य, नेतृत्व तह गम्भीर बन्नै पर्छ ।
किनभने योग्य जनशक्ति विदेश पलायन हुँदा भोलि देशमा आवश्यक जनशक्ति पूर्ति गर्न समस्या बनाउने छ । बढ्दो सूचना प्रविधिको विकाससँगै योग्य र दक्ष जनशक्ति उत्पादन गर्नु आजको प्रमुख आवश्यकता नै हो । तर त्यहि जनशक्तिको उत्पादन गर्ने शिक्षकको अभाव हुन थालेपछि स्थिति कस्तो होला ? तपाई हामीले सहजै अनुमान लगाउन सकिने विषय हो ।
तर पनि योग्य जनशक्तिलाई स्वदेशमै रोक्ने कसरी त ? भन्ने मुख्य चुनौतीको विषय पनि हो । किनभने नेपालमा भन्दा विदेशमा आकर्षक तलब, सेवा सुविधा पाउने गरेका छन् । यस्तो अवस्थामा नेपालबाट योग्य जनशक्ति पलायन हुने अवस्था देखिन्छ । स्वदेशमा प्रशस्त रोजगारी गर्ने वातावरण नै छैन् । कतिपय शिक्षक नै पेशाबाट पलायन हुने गरेका छन् । यसले गर्दा भोलिका दिनमा संकट निम्तिने जोखिम बढ्दै गएको छ । यता पढ्ने विद्यार्थी घट्दै जाने, अर्कोतिर पढाउने शिक्षक पनि पलायन हुँदै जाँदा देशका लागि पक्कै पनि शुभ संकेत होइन् ।
योग्य जनशक्ति पलायन हुनबाट रोक्नका लागि राज्य प्रमुख रूपमा जिम्मेवार बन्नुपर्छ । रोक्ने भनेर मात्र भएन । कम्तिमा पनि उचित पारिश्रमिक पाउने वातावरण बनाउन आवश्यक छ । अहिले पनि क्रियाशील जनशक्ति पाउन सकस पर्न थालिसकेको छ । अझै पनि योग्य जनशक्तिलाई रोक्ने नीति बनेन भने भविष्यमा ठूलै संकट ल्याउने निश्चित देखिएको छ । करिब ५÷६ वर्षपछि यो समस्या गम्भीररूपमा देखिने छ ।
त्यसैले पनि योग्य जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्छ । विदेशमा पढ्नका लागि गएपनि स्वदेश फर्किने वातावरण निर्माण बनाउन सबै जिम्मेवार बन्नैपर्छ । ग्रामीण क्षेत्रमा त अहिले पनि समस्या देखिन थालिसकेको छ । सुगम क्षेत्रमा मात्रै अहिलेसम्मको अवस्थामा सहज नै देखिएको छ । किनभने सुगम क्षेत्रमा एक ठाउँमा मात्र नभएर धेरै ठाउँमा रोजगारीको अवसर हुने गर्दछन् । त्यसैले पनि अहिलेसम्म सुगम क्षेत्रमा ठूलो असर देखिएको छैन् ।तर पनि फाट्टफुट्ट रूपमा संकेत चाहिँ देखिन थालेको छ ।
देशमा केही नभएको भन्ने निराशै निराशा पनि होइन् । तर विगतको तुलनामा पछिल्लो समय युवा पलायन हुनेक्रम धेरै देखिन थालेको छ । त्यसैमा पनि विभिन्न पेशा, व्यवसायमा लागेकाहरू पनि छोडेर विदेश पलायन हुने गरेको अवस्था छ । यस अवस्थालाई नजिकबाट हेर्नुपर्छ । आजको भोलि परिवर्तन ल्याउन नसकिएला । कम्तिमा पनि योग्य जनशक्ति विदेश पलायन हुनबाट रोक्नका लागि आवश्यक कदम तत्काल अघि बढाउनै पर्छ ।
दक्ष जनशक्ति रोकौं
शैक्षिक संस्थामा शिक्षक पाउन मुस्किल छ । विज्ञापन खोल्दा भनेजति शिक्षक आउनु हुँदैन् । दरखास्त दिए पनि योग्य र दक्ष शिक्षक आउनु हुँदैन । कतिपयको लाइसेन्स हुँदैन । लाइसेन्स भएका शिक्षक पहिले नै काममा हुनुहुन्छ । शिक्षा क्षेत्रमा जनशक्तिको अभाव देखिन थालेको छ । दक्ष जनशक्ति विदेश पलायन हुन थालेको छ । यतै भएका जनशक्ति काममा लागिसकेको छ । विषेशगरी मुख्य विषय गणित, विज्ञान, अंग्रेजी लगायतका शिक्षक पाउन कठिन हुन थालेको छ । केही दिनअघि मात्रै पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले गणित विषयको शिक्षकको लागि विज्ञापन खोलेको थियो । त्यसमा एकजनाको मात्रै दरखास्त परेको हो ।
विज्ञापन खोलेपछि स्वस्फूर्तरूपमा दरखास्त परेन । एकजना सम्पर्कमा हुनुभएका शिक्षकलाई दरखास्त दिन आह्वान गरेपछि उहाँले निवेदन दिनुभएको हो । त्यस लगत्तै हामीले फिजिक्सको लागि विज्ञापन खोलेका थियौँ । तर एकजनाको पनि दरखास्त परेन । त्यसैगरी जनसंख्या विषयको शिक्षकका लागि विज्ञापन खोलेका थियौँ । त्यसमा पनि एक पटकमा एक पटकमा शिक्षक पाउन सकिएन । यसैगरी सामाजिक विषयको शिक्षक पनि त्यस्तै भयो । विज्ञापन खोलेको एकै पटकमा सम्बन्धित शिक्षकको पदपूर्ति गर्न सकिएन् । यसले पनि पछिल्लो समय जनशक्तिको अभाव हुन थालेको पुष्टि भएको छ ।
उचित पारिश्रमिकको अभावमा योग्य जनशक्ति पलायन हुन थालेको छ । पढलेखेका युवाहरू धमाधम विदेश पलायन हुन थालेपछि दक्ष जनशक्तिको अभाव देखिएको छ । प्राथमिक तहका लागि केही दिनअघि विज्ञापन गरेका थियौँ । त्यसमा पुरूषको तुलनामा महिलाको संख्या बढी देखिएको थियो । माथिल्लो कक्षामा त जनशक्ति नै पाउँदैन ।
अझ अर्को कुरा पछिल्लो समय गणित, विज्ञान, अंग्रेजीजस्ता विषयहरू पढ्नेको संख्या कम भइसकेको छ । त्यो विषय पढेका जनशक्ति शिक्षा क्षेत्रमा हुँदैन । अरू क्षेत्रमा जाने गरेको देखिन्छ । यसकारण पनि शैक्षिक संस्थाहरूमा जनशक्तिको अभाव देखिन थालेको छ । यसले निकट भविष्यमा ठूलै समस्या ल्याउने देखिएको छ ।
यसको समस्या समाधान लागि सबैभन्दा पहिला त युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्छ । रोक्ने भनेर मात्रै हुँदैन । उनीहरूलाई स्वदेशमै रोजगारी गरेर पुग्ने किसिमको पारिश्रमिक उपलब्ध हुनुपर्छ । पढेलेखेका युवालाई सीप अनुसारको रोजगार उपलब्ध गराउनुपर्छ । युवालाई देशमा बस्ने सम्मान किसिमको वातावरण निर्माणमा राज्यले विषेश चासो दिनुपर्छ । शैक्षिक क्षेत्रमा देखिन थालेको जनशक्ति अभावलाई शिक्षा क्षेत्रका सरोकारवाला निकायले पनि ध्यान दिनुपर्छ ।
नेपालमा अहिलेको पारिश्रमिकले गर्दा पनि युवाहरूको विदेश मोह बढेको छ । कम्तिमा पनि योग्यताअनुसारको पारिश्रमिक उपलब्ध हुन सकेपछि स्वदेशमा युवालाई रोक्न सकिन्छ । राज्यले समयमै उचित किसिमको नीति लिन सकेन भने निकट भविष्यमै ठूलो चुनौती समस्या आउने देखिएको छ । योग्य जनशक्ति उत्पादनमै समस्या हुन थालेपछि देशको भविष्य कस्तो होला ? हामीले परिकल्पना गर्न नै सक्दैनौँ ।
सूचना प्रविधिमा जनशक्तिको अभाव
सेन्टर माध्यमिक विद्यालयमा अहिलेसम्म जनशक्ति अभावकै ठूलो समस्या आइपुगेको छैन् । बजार क्षेत्र भएकाले पनि गणित, विज्ञान, अंग्रेजीको शिक्षक अहिलेसम्म सहजरूपमै पाइरहेका छौँ । तर विस्तारै शैक्षिक मात्रै होइन्, अन्य क्षेत्रमा पनि जनशक्ति अभाव हुन थालिसकेको अनुभूति गरेका छौँ । हाम्रो विद्यालयमा पनि प्राविधिक धारतर्फ जनशक्ति प्राप्त गर्न दुई÷दुई पटक विज्ञापन गर्नुपरेको छ । प्राविधिक धारतर्फको पढाइ हामी आफै पढाइरहेका छौँ । तर पनि जनशक्ति पाउन निकै मुस्किल भइरहेको छ ।
करिब दुई महिनाअघि सूचना प्रविधिततर्फ जनशक्ति माग गरिएकोमा एकजनाले मात्रै आवेदन दिएका थिए । यस्तै इलेक्ट्रिकल इन्जिनियरको पनि विज्ञापन गरिएको थियो । तर दुईजनाले मात्रै आवेदन दिएका थिए । विज्ञापन दोहो¥याएर खोल्दा खेरी परिपूर्ति गरेका थियौँ । हाम्रो विद्यालयबाट सूचना प्रविधिको ओभरसियर पदमा ९६ जना जनशक्ति उत्पादन भइसकेका छन् । दुई शैक्षिक शत्रमा गरेर उत्पादन भएको जनशक्ति सबैजना काममा लागिसकेका छन् । कोही पढ्न गएका छन्, अधिकांश काममा लागेका छन् ।
तर अहिले सूचना प्रविधिमा जनशक्ति पाउनै मुस्किल छ । सूचना प्रविधिको क्षेत्रमा सम्भावना राम्रो छ । पछिल्लो समय यसप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । तर उत्पादन भएका जनशक्ति अधिकांशले स्वदेशमै काम पाइहाल्छन् । कतिपय विदेशमा पनि जाने गरेका छन् । जसले गर्दा आवश्यक जनशक्तिको अभाव हुने गरेको छ । गणित तथा विज्ञान शिक्षकमा अहिलेसम्म अभाव देखिएको छैन् । सेन्टर मावि सुगम क्षेत्रमै भएकाले गणित, विज्ञान र अंग्रेजी विषयमा आवश्यक जनशक्तिको अभाव नभएको हो कि जस्तो लाग्छ । तर विस्तारै त्यो पनि समस्याको रूपमा देखिने संकेत देखिएको छ ।
शैक्षिक क्षेत्रमा जनशक्ति अभाव हुनुको मुख्य कारण युवा जनशक्ति विदेश पलायन हुनु नै हो । योग्य जनशक्ति पलायन हुनुको कारण देशमा योग्यता अनुसारको पारिश्रमिक नपाउनु नै हो । यसले गर्दा योग्य जनशक्ति विदेश पलायन भइरहेको छ । अहिले यसको असर शैक्षिक क्षेत्रमा देखिन थालिसकेको छ । अन्य क्षेत्रमा पनि जनशक्ति पाउन छोडेको देखिएको छ । यद्यपि मलाई शैक्षिक क्षेत्रको अनुभव छ । योग्यता भएको जनशक्ति कि त पहिले नै काममा लागिसकेको हुन्छ । कि भने विदेश पलायन भइसकेको छ ।
अब पछिल्लो समयमा त उच्च शिक्षा पढ्नेको संख्या पनि घट्ने स्थिति देखिएको छ । किनभने कक्षा १२ पास गरेपछि विदेश जानुपर्छ भन्ने मानसिकताको विकास हुने गरेको छ । यसले गर्दा पनि तल्लो कक्षामा भन्दा माथिल्लो कक्षाका लागि जनशक्ति पाउन चुनौती देखिसकेको छ । निकट भविष्यमा ठूलो समस्या आउनका लागि सम्बन्धित सरोकारवालाले चासो दिनुपर्छ । योग्य जनशक्तिलाई स्वदेशमै कसरी रोक्न सकिन्छ ? भन्ने रणनीति सरकारले बनाउन आवश्यक छ ।
योग्यताअनुसारको पारिश्रमिक पाउन थालेपछि विदेश जाने मोह घट्दै जाने छ । यसले गर्दा जनशक्ति प्राप्तिमा समस्या हुने छैन् । तर अहिलेको परिस्थिति ठिक उल्टो भइदिएको छ । युवा पलायन हुने क्रम निरन्तर चलिरहेको छ । यसले निकट भविष्यमै संकट आउने निश्चित छ । स्वदेशमै रोक्ने वातावरण निर्माणका लागि सबैको ध्यान जान जरूरी छ ।
मुख्य विषयमा जनशक्ति अभाव
योग्य र दक्ष जनशक्तिको अभाव विगत दुई वर्षयता देखिन थालेको छ । विद्यालयमा विषेशगरी उच्च शिक्षामा आवश्यक जनशक्ति पाउनै मुस्किल छ । जीवन ज्योति मावि रिम, सल्यानले यो समस्या झेलिसकेको छ । कुनै जनशक्ति पाउन तीन पटकसम्म विज्ञापन खोल्नुपरेको छ । त्यो पनि आवश्यक योग्यता घटाएर विज्ञापन खोलेपछि जनशक्तिको परिपूर्ति गरिएको थियो । यसअघि करिब एक वर्षअघिको कुरा हो । विद्यालयमा कृषि प्रशिक्षकको आवश्यकता प¥यो ।
विद्यालयले कृषि प्रशिक्षक आपूर्ति गर्न विज्ञापन खोल्यो । विद्यालयले एमएससी एजी कम्तिमा पनि द्वितीय श्रेणीमा उत्तीर्ण गरेको माग गरेको थियो । तर विद्यालयले माग गरे बमोजिमको जनशक्तिको आवेदन पर्न सकेन । विद्यालयले प्रथम पटक विज्ञापन गरे अनुसारको जनशक्तिको आवेदन नपाएपछि दोस्रो पटक विज्ञापन खोल्यो ।
तर दोस्रो पटक पनि योग्यता बमोजिमको जनशक्ति पाएन । तेस्रो पटक विज्ञापन खोल्दा केही मापदण्ड परिवर्तन गरियो । एमएसजी एजी हुनुपर्नेमा बिएससी एजि अनि एकवर्षे कामको अनुभव भनेर तेस्रो पटकमा मापदण्ड परिवर्तन गरेपछि विद्यालयले जनशक्ति पाएको हो । विद्यालयलाई आवश्यक कृषि प्रशिक्षकको जनशक्ति तेस्रो पटक विज्ञापन गरेपछि मात्रै प्राप्त गरेका छौँ । मागबमोजिमको जनशक्ति पाउनै कठिन भएको छ । त्यसअघि पनि विज्ञान शिक्षक तीन पटक विज्ञापन खोलेपछि पाएका थियौँ । विज्ञान शिक्षक पाउन पनि तीन पटक विज्ञापन खोल्नुपरेको थियो ।
पछिल्लो समय मुख्य विषय गणित, विज्ञान, अंग्रेजी, नेपाली लगायतका शिक्षक पाउनै मुस्किल भएको छ । विद्यालयमा गणित विषयको लागि पनि तीन पटक विज्ञापन खोलिएको थियो । पहिलो र दोस्रो पटकमा गणित शिक्षक पाउन नसकेपछि तेस्रो पटक विज्ञापन खोलेका थियौँ । अहिले तेस्रो पटकमा गणित शिक्षक पनि पाएका छौँ ।
ग्रामीण क्षेत्रमा माथिल्लो योग्यताको जनशक्ति आउन नमान्ने प्रमुख समस्या हो । जो विगतदेखि नै देखिएको छ । थप रोजगारी गर्न नसकिने भएको हुँदा पनि माथिल्लो योग्यताको जनशक्ति ग्रामीण क्षेत्रमा आउन मुस्किल पर्ने गरेको छ । दोस्रो कुरा सहरी क्षेत्रमा पनि पर्याप्त मात्रामा जनशक्ति छैनन् । जति छन् । उनीहरू सम्बन्धित क्षेत्रमा काममा लागि सकेका हुन्छन् । योग्यता भएका जनशक्तिको अभाव नै हो ।
योग्यता भएका देशमा सम्भावना नदेखेपछि पछिल्लो समय अष्ट्रेलिया, अमेरिका पलायन हुन थालिसकेका छन् । किनभने नेपालमा भन्दा विदेशमा सम्भावना देख्ने प्रचलन व्याप्त भइसकेको छ । स्वभाविक पनि हो । नेपालमा पढ्दाखेरीको खर्च नै व्यवस्थापन गर्न मुस्किल हुने गरेको छ । जसका कारण स्वदेशबाट विदेशमा पलायन हुने जनशक्तिको संख्या धेरै छ । यसकारण पनि जनशक्तिको अभाव देखिन थालेको छ ।
देशमा सीमित मात्रामा जनशक्ति हुँदा ग्रामीण भेगका विद्यालयले जनशक्ति पाउन सकस छ । यस्तो अवस्थामा जनशक्तिलाई नेपालमै रहने वातावरण बनाउनुको विकल्प छैन् । नीति निर्माताहरूले यस विषयमा ध्यान केन्द्रित गर्नैपर्छ । युवा जनशक्ति पलायन रोक्ने भनेर मात्र भएन । उनीहरूले योग्यता अनुसारको काम पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो ।
युवाहरू विदेश पलायन हुँदै गरेको अवस्थालाई मध्यनजर गरी स्वदेशमा रोजगारीका सिर्जना गर्नुपर्छ । अनि योग्यता अनुसारको पारिश्रमिक पाउनु पनि पर्छ । दक्ष जनशक्तिको अभाव हुन थालेपछि आवश्यक जनशक्ति उत्पादनमै सकस पर्ने देखिन्छ । किनभने एउटा विद्यालयमा मुख्य विषयकै शिक्षक अभाव भएपछि त्यसबाट उत्पादन हुने जनशक्ति कस्तो होला हामी कसैले सहजै अनुमान लगाउन सकिन्छ ।