मानिस पर्यटकको रूपमा अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगि राखेका हुन्छन् । सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । पर्यटनको क्षेत्रमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिकलगायतका दुर्लभ तथ्य उजागर गरी कीर्तिमान कायम राख्ने आजभोलि होड नै चलेको छ । पर्यटनको लागि नेपालमा प्राकृतिक सांस्कृतिक र ऐतिहासिक सम्पदा लोभ लाग्दा छन् । तिनै कारणले विश्वका पर्यटक नेपालमा आउने गर्दछन् ।
प्राचीन समयमा रोमन रिपब्लिककै समयदेखि ठूला भवनहरू हेर्ने, कलाकौशलको मजा लिन, नयाँ भाषा, रहनसहन सिक्न, नयाँ सस्कृतिको अनुभव लिन र विभिन्न प्रकारका स्वादिष्ट भोजनहरूको स्वाद लिन धनाढ्य मानिसहरू आफ्नो बासस्थानबाट टाढा–टाढाका ठाउँ वा देशहरूमा पुग्दथे । त्यो समयमा रोममा डिसेम्बर महिनालाई मनोरञ्जनको महिनाको रूपमा लिने गरिन्थ्यो । मनोरञ्जनको क्रममा साटुनानिया पर्व मनाउन अफ्गानिस्तान, सुमात्रा, जावा, श्रीलंका आदि स्थानको भ्रमण गर्दथे तर त्यस बखत यसलाई पर्यटक र पर्यटन व्यवसायको रूपमा लिइएको थिएन ।
यसै क्रममा सन् १९७२ मा पर्यटक भन्ने शब्द र सन् १८११ मा पर्यटन भन्ने शब्दको प्रयोग भएका हुन् । फुर्सदको समयमा पर्यटकको रूपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायतलगायतका पश्चिमा देशहरूमा औद्योगिक क्रान्ति पछि शुरू भएको हो । सन् १८३० मा बेलायतको लिभरपुलदेखि मेनचेष्टरसम्म रेल सेवा शुरू भयो । त्यसपछि थमस कुकले ट्राभल ऐजेन्सीमार्फत समूहगत रूपमा भ्रमण गराउन थालेका हुन् ।
विश्वमा पर्यटनको इतिहासमा अठारौं शताब्दीलाई पर्यटनको सुनौलो युग मानिएको छ । विशेषगरी सन् १९४३ देखि सन् १९७३ सम्मको ३० वर्षको अवधिमा पर्यटकहरूको यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ । पर्यटनको इतिहासमा नेपालको भूमिमा टेक्ने पहिलो पर्यटक मञ्जुश्री हुन भने नेपालबाट बाहिर जाने पहिलो पर्यटक भृकुटीलाई मानिएको छ । मञ्जुश्री नेपाल प्रवेश गरेर काठमाडौं उपत्यकाको जलाशयलाई चोभारको डाडालाई गल्छी बनाएर पानीलाई निकास दिएर उपत्यकामा मानव बस्तीको विकास गरेका थिए ।
लिच्छवी शासक अंशु वर्माको छोरी भृकुटीलाई सन् ५९२ मा तिब्बती सम्राट स्रोङचनगम्पोसँग विवाह गरी नेपालसँग सम्बन्ध गासिएको थियो । वैवाहिक सम्बन्धबाट तिब्बत गएपनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पहिलो नेपाली पर्यटक मानिन्छ । सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलो पटक आठ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो । नेपाल संसारभरी हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै छन ।
सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । त्यसपछि रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७÷५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थाले । त्यहिबेला जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिकाको वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो ।
नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ । विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रूप लिदै गएको छ । विभिन्न देशहरूमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरू वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ ।
तर पर्यटन अवधारणा भने सन् १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको बृद्धिसँगै विकसित भएको हो । सन् १९६० को दशकमा युरोपेली देशहरूमा लागूपदार्थ ओसारपोसार र सेवनविरूद्धको कानूनहरू ल्याउने लहरै चल्यो तर नेपालमा भने त्यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच यूरोपेली युवाहरू यूरोपको तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र भारतको गोवाजस्ता क्षेत्रहरूमा स्वतन्त्रपूर्वक गाँजा खान आउन थाले ।
यूरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल/गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रूपमा पनि चिनियो तर आजभोलि नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिन्छ । पछिल्लो समय नेपालमा प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, स्काई ड्राइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिपवायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर अवलोकन गर्न नेपालमा आउने गर्दछन् ।
पर्यटनको लागि नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रमणीय मानिन्छ । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दीऔं पुरानो र विश्वमा पहिचान छ । पर्यटनको विकासले अतिथि देवो भवः संस्कार संस्कृतिमा अभ्यस्त नेपालीको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन वरदान सावित भएको छ । नेपालमा मनाइने चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशका पर्यटकहरूका लागि अनौठो लाग्दछ । कतिपय पर्यटकहरू संस्कृतिकै अध्ययनका लागि पनि नेपाल आउने गर्दछन् ।
नेपाली समाजको विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिको अध्यनमा पर्यटकहरू रमाउँछन् । यहाँको विविधता हेर्न अवलोकन गर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धान–कर्ताका लागि पनि पर्यटकहरूको रोजाइ नेपाल पर्दछ । विश्वमा सानो भूगोलभित्र प्राकृतिक विविधता, असंख्य जातजाति र भाषा संस्कार संस्कृतिले भरिपूर्ण भएको देश नेपाल मात्रै होला । त्यसैले सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व बजारमा स्थापित गराउने खालका आक्रामक कार्यक्रमको खाँचो छ । पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यहरूको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास र प्रवद्र्धनका लागि अब प्राथमिकता योजना ल्याउनुपर्दछ । पर्यटनको विकासका लागि ऐतिहासिक पर्यटकीयस्थल गढी, किल्ला, दरबार आदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गरिनुपर्दछ ।
पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्यापर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनुपर्दछ । पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रूपमा लिइने पर्यटकहरूका लागि सुरक्षित सडक, बासस्थान अर्थात् होटल, होमस्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटनको विकास हुन्छ । अब नेपालमा पर्यटनको विकासका लागि लोपोन्मुख भाषा, कला र संस्कृति, रितिरिवाज आदिको संरक्षण गरी सबै प्रदेशमा सांस्कृतिक संग्रहालयको स्थापना गर्न पर्दछ ।
पर्यटनको क्षेत्रमा प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा भएर पनि त्यसको महत्व पर्यटकहरूलाई बुझाउन सकेका छैनौ । नेपालमा पर्यटकहरूको लागि धेरै आकर्षणका गन्तब्यहरू छन् । नेपालमा यति धेरै प्राचीन मन्दिरहरू, मस्जिदहरू, किल्लाहरू र अन्य ऐतिहासिक स्थानहरू छन् जुन विभिन्न देशका पर्यटकहरूले हेर्न चाहन्छन् । नेपाली मौलिक कला तथा संस्कृतिमा पर्यटकहरू रमाउँछन् । नेपालमा पर्यटन प्रवद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सिङ्गारेको धेरै ठाउँहरू छन् ।
प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधता मात्र होइन् पर्यटकहरूका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, मठमन्दिर र ऐतिहासिक सम्पदा पर्यटनका गन्तव्य बनेका छन् । पर्यटनकै माध्यमबाट संस्कृतिको आदानप्रदान हुन्छ । पर्यटक बढ्ने वित्तिकै देशमा विदेशी मुद्रा भित्रिन्छ । यसले राज्यलाई फाइदा त हुन्छ नै, सँगसँगै पर्यटन व्यवसायीलाई पनि फाइदा पुग्दछ ।
पर्यटन प्रवद्र्धनका लागि प्रकृतिले हामीलाई धेरै चिजहरू प्रदान गरेको छ । जुन पर्यटकहरूले मन पराउँछन् । पर्यटकहरू नेपालमा प्राकृतिक सुन्दरतासँग रम्न चाहन्छन् । नेपालमा पर्यटनको क्षेत्रमा सबै ठाउँमा पूर्वाधार नबन्दा केही समस्याहरू छन् । मुख्य समस्याहरू यातायात र सुरक्षा हुन् । अधिकांश पर्यटकहरूलाई मनपर्ने सौन्दर्य ठाउँहरू दुर्गम क्षेत्रहरूमा पर्दछन् । ती सबै स्थानहरूमा पर्यटकहरू पुग्नका लागि सडकहरू निर्माण भएका छैनन् ।
दुर्गम क्षेत्रहरूमा पर्यटकहरूलाई बस्न सुविधाजनक होटलहरू छैनन् । नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र छन् । साना ठूला गरेर नदी, खोलानालाको संख्या पनि ६ हजारभन्दा बढी छन् । संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा पर्दछन् ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरूको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ । यस विषयमा सबै निकाय गम्भीर हुन जरूरी छ । ऐतिहासिक, पुरातात्विक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ ।
नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ । सरकारले पर्यटन विकासमा लगानी नै गर्न सकेको छैन भन्दा पनि फरक नपर्ला ? किनकी हरेर वर्षमा नेपाली पर्यटकको संख्यालाई नियाल्ने हो भने पनि खासै प्रगति हुन सकेको छैन ।
नेपाल पर्यटनको सम्भावना भएको देश हो । यसमा द्विविधा छैन । यहाँको प्रकृति, संस्कृति, गौतम बुद्धको जन्मस्थल र सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै पनि छैन । विज्ञान, प्रविधि र संचार प्रणालीमा भएको अभूतपूर्व विकासले समुच्च विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको छ । नेपालले यस्ता राष्ट्रिय सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरी अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार हो ।
पर्यटन व्यवसायबाट आमनागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नुपर्दछ । नेपालका गाउँहरू पर्यटनका लागि सुन्दर गहना हुन् । नेपालका हरेक गाउँका फरक–फरक चालचलन, रितिरिवाज, धर्म संस्कृति, भेषभूषा, भाषा, चाडपर्वहरू छन् । ती सबै मौलिक प्रकृतिका छन् । जुन कुरा पर्यटकहरूले मन पराउँछन् । पर्यटकहरूलाई हरेक गाउँले फरक सन्देश र फरक परिचय प्रदान गर्न सक्दछन् । त्यसकारण राज्यले ती सबै गाउँको पर्यटन प्रवद्र्धनको योजना बनाउनु पर्दछ ।
नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा पहिचान छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका हुन्छ । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावटजस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गर्दछन् । नेपालको भूगोलमा प्रत्येक १० किलोमिटरको अन्तरमा फरक–फरक हावापानी पाइन्छ । अर्कोतर्फ सांस्कृतिक रूपमा पनि धनी रहेको नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १३१ र धर्म संख्या १० कायम भएको छ । यसरी हेर्दा नेपालमा पर्यटन व्यवसायको विकास र विस्तारको सम्भावना धेरै छ ।
पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोंचमा परिवर्तनको आवश्यकता छ । यसो हुन सकेको खण्डमा नेपाल रहेका सम्पदाहरूको सम्वद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाइँ र खर्चमा वृद्धि गराई रोजगारीका अवसरको सिर्जना गरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ । तर, त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र सम्वद्र्धनमा स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागिता चाहिन्छ ।
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले फडको मार्दछ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरूरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस् वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरूमा रकम खर्च गर्नुपर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउने गर्दछ ।
त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्चविन्दुमा राख्नका लागि सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरूरी छ । नेपालमा भित्रिने पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा पर्यटकको संख्यामा कमी देखिएको छ । जसले गर्दा पर्यटन व्यवसायीहरूको व्यवसायसमेत धरापमा पर्ने गरेको छ । नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ । विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रूप लिदै गएको छ । विभिन्न देशहरूमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरू वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ ।
पर्यटनबाट लाखौं मानिसहरूलाई रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवनस्तरमा पनि ठूलो अन्तर पार्दछ । त्यसरी पर्यटनले विश्वस्तरमा नै एउटा ठूलो उद्योगको रूप लिँदै गएको छ । नेपालमा पनि पर्यटन क्षेत्रको क्रमश विकास हुँदै गइरहको छ । पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । पर्यटनमा प्रशस्त अवसरहरू हुन्छन् । पर्यटनको क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरू पनि छन् । तसर्थ, समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो ।