सम्पादकीय
देशमा रोजगारी गर्ने वातावरण छैन् । रोजगारीका लागि विदेश जानुपर्ने नेपालीको बाध्यता छ । तर विदेश जान पनि सजिलो छैन् । कतिपय वैधानिक बाटो भएर विदेश गइरहेका छन् । कतिपय ज्यानको जोखिम राखेर अवैधानिक बाटो हुँदै विदेश गइरहेका छन् । अझ भनौँ शुक्रबार ललितपुरको बालकुमारीको घटनाले सबैलाई स्तब्ध बनाएको छ ।
कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन पाउनुपर्ने माग गर्दै युवाले गरेको प्रदर्शन चर्किँदै जाँदा भएको झडपमा दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको मृत्यु भएको घटनाले सबै नेपालीलाई स्तब्ध बनाएको मात्रै छैन् भने आक्रोशित पनि बनाएको छ । रोजगारीका लागि विदेश जान्छु भन्दा गोली खानुपर्नेपर्ने बाध्यता नेपाली युवालाई आइपरेको छ ।
शुक्रबारको घटनामा मन्त्रीको गाडी चलेको छ । तर नागरिकका सपना दिनदिनै जलिरहेका छन् । यहि सपना पूरा गर्न विदेश जान पाउँभन्दा पनि गोली खानुपर्ने नियती आइपरेको छ । शुक्रबारको घटना कुनै पनि कोणबाट राज्य पक्षको कमजोरी छ । युवाहरूले मन्त्रीको गाडी जलाउनु गल्ती नै थियो । तर गल्ती गर्ने युवालाई गोेली ठोक्नुपर्ने बाध्यता थिएन । उनीहरूलाई अरू रूपले कानुनी दायरामा ल्याउन सकिन्थ्यो । गोली नै ठोक्दा युवाले ज्यानको बाजी लगाउनु परेको छ । कुनै पनि व्यक्तिलाई विदेश जाने रहर हुँदैन् । स्वदेशमा रोजगारीका अवसरहरू प्राप्त नभएपछि विदेशिनु नेपालीको बाध्यता छ ।
भौतिक क्षति भोलि पनि जोड्न सकिन्छ । मानविय क्षति परिपूर्ति गर्न सकिदैन् । घटनामा ज्यान गुमाउने दुवै जनाका परिवारलाई राज्यले न्याय दिन सक्नुपर्छ । अहिलेको गल्ती फेरि पनि नदोहोरिने गरी काम गर्नुपर्छ । सरकारले सकेसम्म स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सक्नुपर्छ । यदि त्यति हुँदैन भने विदेश जाने वातारण पनि बनाउन सक्नुपर्छ । रहरले विदेश कोहि पनि जाँदैन् । बाध्यताले विदेश जानेलाई सरकारले वातावरण बनाउन नसकेपछि राज्यप्रतिको वितृष्णा अझै बढ्दै जानेछ । भविष्य खोज्दै गर्दा वर्तमानमा अस्ताउने दुवैजनाको परिवारलाई न्याय दिने गरी काम गर्नुपर्छ । घाईतेको उपचार सरकारले गर्नुपर्छ । आगामी दिनमा फेरि पनि यस्तै गल्ती दोहोरिने छैनन् ।