Wednesday, May 1, 2024
Homeमुख्य खबरलुम्बिनीमा घरजग्गा कारोबारमा गिरावट

लुम्बिनीमा घरजग्गा कारोबारमा गिरावट

- Advertisement -spot_img

दाङ, १३ पुस । लुम्बिनी प्रदेशको घरजग्गाको कारोबारमा १४ प्रतिशतभन्दा कमले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिहीबार आर्थिक वर्ष ०७९/८० को प्रदेशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले समीक्षा वर्षमा लुम्बिनी प्रदेशको घरजग्गा रजिष्ट्रेशन संख्या गतवर्षको तुलनामा १३.२५ प्रतिशतले घटेको जनाएको हो ।

तथापि, घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व भने गतवर्षको भन्दा बढेको बैंकले जनाएको छ । आर्थिक वर्षमा लुम्बिनी प्रदेशको घरजग्गा कारोबार बापतको राजस्व ३७.६७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । यस्तै सेवातर्फ कोभिड–१९ पश्चात् सामान्य बन्दै गएको पर्यटन क्षेत्रमा लुम्बिनी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमनमा सुधार भई समीक्षा वर्षमा ३१.७१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गतवर्ष यस्तो वृद्धि १०.८४ प्रतिशत रहेको थियो । छनौटमा परेका होटलहरूको अकुपेन्सी दर पनि गतवर्षको सोही अवधिको तुलनामा १२.३९ प्रतिशतले वृद्धि भई ४०.२७ प्रतिशत पुगेको छ । २०८० असार मसान्तसम्म यस प्रदेशमा ‘क’ वर्गका ७४८, ‘ख’ वर्गका २५७, ‘ग’ वर्गका ४६ र ‘घ’ वर्गका ११६२ गरी बैंक तथा वित्तीय संस्थाहरूका जम्मा २२१३ वटा शाखा सञ्चालनमा रहेका छन् ।

यस प्रदेशमा वाणिज्य बैंकहरूले २२२ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको यस प्रदेशको निक्षेप परिचालन २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा १८.६६ प्रतिशतले वृद्धि भई ५ खर्ब ६ अर्ब ९६ करोड पुगेको छ भने कुल कर्जा प्रवाह २.७१ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३४ करोड पुगेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा कुल सवारी साधन संख्या गतवर्षको तुलनामा ६.५० प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यस प्रदेशमा टेलिफोन सेवा १८.०७ प्रतिशत र इन्टरनेट सेवामा १८.८४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा नमुना छनौटमा परेका बचत तथा ऋण सहकारी संस्थाहरूको कुल पुँजी ५.०६ प्रतिशत, बचत परिचालन १.४१ प्रतिशत तथा सदस्य संख्यामा १५.८५ प्रतिशतले वृद्धि भएको छ भने कुल ऋण प्रवाह १.४७ प्रतिशतले ह्रास भएको छ ।
समीक्षा वर्षमा परिवत्र्य विदेशी मुद्रा खरिद गतवर्षको तुलनामा ४५.८४ प्रतिशतले वृद्धि भएको छ भने भारतीय मुद्राको खरिदमा २७६.८६ प्रतिशत तथा बिक्री ८६.३३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here