Thursday, April 17, 2025
Homebreaking-newsमहिला श्रमिक र वर्तमान अवस्था

महिला श्रमिक र वर्तमान अवस्था

- Advertisement -spot_img

महिलाले भोग्नुपरेको विभेद अन्त्य हुन सकेको छैन् । उज्यालो नहुँदै उठेर घरको सरसफाई गरेर खानेकुराको जोहो गरेर बालबच्चालाई स्कुल पठाउनेदेखि वस्तुभाउको हेरचाह गर्ने र खेतबारीमा मजदुरी गर्नेसम्मका महिलाले गर्ने तमाम कामहरूको कुनै ज्याला निर्धारित हुँदैन । प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाको विचारलाई समेटेका छौं । – सम्पादक


जीतसागर जी.एम.


गाउँ–गाउँमा जनचेतना आवश्यक


महिलालाई पुरूष बराबर हकका लागि सुनिश्चिता भइसकेको छ । कार्यान्वयनमा मात्रै केही कमजोरी भएको छ । सरकारले श्रमिक महिलाका लागि गाउँस्तरदेखि सीपमूलक कार्यक्रम, गरेको छ कि छैन् भन्ने प्रमुख कुरा हो । पुरूष र महिलाको काम बराबर भएपनि ज्याला पनि बराबर हुन् अहिले पनि सकिरहेको छैन् ।

महिलाको पारिश्रमिकका कुरा गाउँ–गाउँमा जनचेतना जगाउनुपर्छ । कार्यान्वयनका लागि धेरै भइरहेको छ । अधिकार सुनिश्चितताका लागि महिलाका पुरूषको समान व्यवस्था पनि गरेको छ । हाम्रो पार्टीले पनि कार्यान्वयनका लागि कुरा गरिरहेको छ ।

देशमा विद्यमान सबै राजनीतिक दलको साझा प्रतिवद्धता अनुसार नेपालमा आधारभूत रूपमा राजनीतिक अधिकारको आन्दोलन समाप्त भएको छ । अबको दायित्व आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण हो । महिला आन्दोलनको दृष्टिकोणबाट हेर्दा पनि अबको अभियान मूलतः संविधानप्रदत्त अधिकारको व्यवहारिक प्राप्ति र पितृसत्तात्मक मूल्यमान्यताको स्थानमा मानवीय अनुभूतिका साथ महिला–पुरूषबीच सारभूत समानतामा आधारित मूल्य मान्यताको स्थापना हो ।

पितृसत्ताको अन्त्य सामाजिक–सांस्कृतिक रूपान्तरणको पाटो हो, जसको आधार हरेक नागरिकको सोचाइ, बोलाई र गराईमा हुने रूपान्तरण हो । यी कुरामा रूपान्तरण देखिन महिलालाई मातहतको रूपमा होइन, समान नागरिकका रूपमा हेर्ने, लेखाई–बोलाईमा समभावी भाषाको प्रयोग गर्ने, दिइने जिम्मेवारी र गरिने व्यवहारमा प्रतिबिम्बित हुन जरूरी छ ।

यसका लागि मूलतः राजनीतिक नेतृत्वदेखि समाजका हरेक क्षेत्रका अगुवाले आफूलाई रूपान्तरणको मोडेलका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । श्रम क्षेत्रका धेरै महिला अझै पनि अनौपचारिक क्षेत्रमा छन् । अझै पनि महिलाको ठूलो हिस्सा पारिश्रमिक विनाको जीविकोर्पाजनमुखी कृषि, घर आधारित सेवामूलक श्रम र स्वरोजगार क्षेत्रमा संलग्न छ । नयाँ संविधानले सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा व्यवस्था गरेको छ ।

लैंगिक समानताका कुरा गर्दा हाम्रो समाजमा पनि छोरा र छोरीका बीचमा धेरै भेद्भाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरू नै महिला महिलाअधिकार कार्यान्वयनका असरहरू हुन् । जुन हाम्रो मस्तिष्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज–परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला अधिकारका कुरा सुरक्षित हुन सक्ने छैनन् ।

महिला हिंसाका कथाहरू अनि व्यथाहरू धेरैजसो गुपचुप अनि अभिव्यक्त नै नभएर हराउँदछन् । नेपाल सरकारले महिला पुरूष कानुनतः समान र सक्षम छन् भनेको छ । तपाईंमाथि कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ । महिलाका पक्षमा कानुन नबनेका पनि होइन् तर कार्यान्वयनमा भने सकस नै देखिएको छ । कुनै पनि व्यक्तिको सचेतना बढाउन सकेपनि महिला अधिकार सुरक्षित हुन सकिन्छ । महिलाको प्रेम र आत्मीयताविना पुरूष र पुरूषको साथ एवं सम्मानविना महिला पूर्ण हुँदैनन्, अब महिलाअधिकार रक्षाका लागि हामी आफै पनि लाग्नुपर्छ ।

छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन् । अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार र अस्तित्वबाट विमुख हुनु परेको छ । शिक्षा र स्वास्थ्यमा छोरासरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् । हिंसा घरैबाट उत्पन्न हुने गरेको छ । यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ ।


अधिकारमा व्यवहारिक चुनौती


महिला अधिकारका कुरा नेपालको संविधान २०७२ ले धेरै कुरा समेटेको छ । राजनैतिक परिवर्तनसँगै सामाजिक रूपमा महिला चेतनामा आएको परिवर्तन, सार्वजनिक गतिविधिमा बढ्दो महिला सहभागिता र सफलता नेपाली महिला आन्दोलनले गर्व गर्न सक्ने उपलब्धि हुन् । चुनौतीका रूपमा अझै पनि संवैधानिक रूपमा नै महिलालाई समान हैसियतको नागरिकका रूपमा स्वीकार गरिएको छैन् । सबै नेपालीलाई समान हैसियतको नागरिकका रूपमा स्थापित गर्नु नेपाली महिला आन्दोलनको पहिलो र प्राथमिक विषय हो ।

अनि राजनीतिक दल, राज्य संयन्त्रलगायत राज्यका हरेक निकायमा अन्तिम निर्णय गर्ने ठाउँमा महिलाको न्यून र शून्य सहभागिताका कारण महिला निर्णयकर्ता नभएर पुरूषको एकल समुदायले गरेको निर्णयको पालकका रूपमा सीमित गरिएका छन् । आर्थिक रूपमा प्राप्त अधिकारले पनि व्यवहारिक रूप पाएको छैन ।

पैतृक सम्पत्तिमा सबै सन्तानको समानअधिकार र समान कामको समान पारिश्रमिक र सेवासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । यस्तै राजनीतिक प्रणाली परिवर्तन भएर पनि आमरूपमा समाजमा विद्यमान पुरूषप्रधान सामाजिक–सांस्कृतिक पक्षमा रूपान्तरण हुन सकेको छैन् । यस्तै समाजमा हिजोसम्म विविध कारणले सीमान्तकृत गरिएका महिलालगायत समुदायले आफूभित्रको आत्मविश्वास र आवश्यक सीप अनि राजनीतिक रूपमा वैचारिक स्पष्टता र गतिशीलताका पक्षलाई सुदृढ गर्न जरूरी छ ।

व्यक्ति, परिवार र समाज मिलेर मात्रै महिलाअधिकार सुरक्षित गर्न सकिन्छ । संविधानमा महिला अधिकारका कुरा प्रशस्त बनेका छन् । तर कार्यान्वयनमा फितलो देखिएको छ । महिलाले आफ्नो जीवनको निर्णय आफै गर्ने अधिकार पाउनुपर्दछ । तर नेपाली महिलाहरूको भने नेतृत्व विकास हुन सकेको छैन् । नेपाली समुदायमा महिलाहरूको संख्या पुरूषसरह नै देखिए तापनि समाजको नीति निर्माण क्रियाकलापहरूमा महिलाहरूको संख्या अति नै न्यूनतम रहेको देखिएको छ ।

जसले गर्दा महिला वर्ग ओझेलमा परिरहेका छन् किन हुन सकेको छैन त नेपाली महिलाहरूको विकास ? भनिन्छ महिला र पुरूष एक रथका दुई पाङ्ग्रा हुन् भनेर जो एकअर्का बिना अगाडि बढ्न सक्दैन् । जसको अर्थ देश विकासमा दुबैको उत्तिकै भूमिका रहनुपर्ने हो तर देखिएको छैन । देशमा वर्तमान अवस्थालाई नियालेर हेर्ने हो भने पुरूषभन्दा चाहे शिक्षाको क्षेत्रमा होस् या अन्य क्षेत्रमा किन नहोस् महिला धेरै अगाडि भएको देखिएको छ । सन्तान चाहे छोरा होस् या छोरी दुवै एक हुन् तर समाजमा छोरीलाई भन्दा बढी छोरालाई महत्व दिएको पाइन्छ । समय परिवर्तन भइसकेको छ । छोराले गर्न नसक्ने काम पनि छोरीले गर्न थालेका छन् ।

यति हुँदाहुँदै पनि महिलाले छोरासरह अधिकार पाउन सकेका छैनन् । आज पनि नियालेर हेर्ने हो भने परिवारमा छोरा पाउने रहर महिलामा नै बढी देखिएको छ । सन्तान चाहे छोरा होस् या छोरी दुवै एक हुन् तर समाजमा छोरीलाई भन्दा बढी छोरालाई महत्व दिएको पाइन्छ । छोरीलाई सम्पत्ति होइन शिक्षा दिनुभयो भने भोलि छोरासरह उसले पनि आफ्नो भूमिका निभाउन सक्नेछन् ।

नेपाली समुदायमा छोरालाई अंश दिने परम्परा छ तर यसलाई हटाएर शिक्षा नै आवश्यक छ । यसले आफै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुन सक्नेछ । स्वतन्त्र रूपमा महिलाहरू पनि पुरूषसरह हरेक कुरामा अघि बढ्छन् । नेपाली समुदायमा महिलाहरूको जनसंख्या झण्डै पुरूषभन्दा अलि बढी नै देखिए तापनि समाजको नीति निर्माण क्रियाकलापहरूमा महिलाहरूको संख्या अति नै न्यूनतम रहेको अवस्थाले गर्दा महिलाहरूको विचार र मान्यता समाज र देश निर्माणका कामहरूमा आउन सकिरहेको अवस्था छैन ।

अहिलेको आधुनिक एवं वैज्ञानिक युगमा महिला कमजोर छैनन् । हाम्रो नेपाली समाजको सोच्ने शक्ति कमजोर हो । यसलाई परिवर्तन गर्न समानता र विकासमा विश्वास राख्ने सोचहरू एकजुट भएर महिला र पुरूषको हकअधिकार र अवसरमा बराबरी ल्याउनुछ । महिलाले पनि स्वाभिमान, स्वस्तित्व एवं स्वतन्त्र जीवन जीउनु छ । त्यस्तै परिवार, समाज र राष्ट्र निर्माणको हरेक क्रियाकलापमा महिलाको विचार र भूमिका समावेश हुन अति नै महत्वपूर्ण छ, किनकी एउटी महिलाको विकास भनेको एउटा परिवार, समाजको विकास हो ।


महिला पत्रकारमा चुनौती


संविधानमा महिला र पुरूषको समान अधिकारको व्यवस्था गरेको छ । तर पनि समाजमा पुरूषको सम्मान र स्तरलाई प्राथमिकता दिने नाममा महिलाले हिंसा व्यहोर्न बाध्य छन् भने श्रममा पनि विभेद हुने गरेको छ । विगतको अवस्थाभन्दा सुधार धेरै भएको छ । दक्षता र सीपको आधारमा पारिश्रमिक भुक्तानी हुनुुपर्छ ।

मानव सृष्टिको समान सिर्जना हो पुरूष र महिला । तर लैंगिकताको आधारमा अनेक तवरले महिला पछाडि पर्नुको कारण भने हाम्रो सभ्यता र समाजको प्रचलन नै हो । परम्परादेखि नै समाजको सभ्यता र संस्कृतिमा पुरूषलाई प्रधान बनाइनु र महिलालाई पुरूषसरह मान्यता, स्वतन्त्रता र अधिकार दिनु हुन्न भन्ने धारणाले गर्दा महिलालाई शिक्षा, सभ्यता, संस्कार र सहभगितामा पछाडि पारिएको छ ।

छोरी मान्छे अर्काको घरमा जाने जात हो । पढाउनु हुन्न भन्ने हाम्रो समाजले घरबाट छोरी हिडेको र सामाजिक क्षेत्रमा कलम चलाएर समाजलाई परीवर्तनको आवाजहरू बुलन्द गरेको पटक्कै मन पर्दैन किनकि, छोरी घरमा काम गर्ने मेसिन सोच्ने यो समाजले छोराछोरी बराबर भन्नु केवल भाषण र कागजको पानामा सीमित देखिन्छ ।

आज २१औँ शताब्दिमा आईसक्दा पनि छोरी भएकै कारण धेरै पेशामा चुनौतीसँग मुकाबिला गर्नुपरेको छ । भनिन्छ, आमसञ्चार माध्यम समाज तथा राष्ट्रकै ऐना हुन् । आवाजविहीनको आवाज हुन् । सूचना, मनोरञ्जन र ज्ञान प्रदान गर्ने सशक्त माध्यम हुन् । पत्रकारिता क्षेत्र पनि चुनौतीपूर्ण र जोखिमपूर्ण त छ नै । यो उत्तिकै संवेदनशील तर सम्मानित पेशा पनि हो ।

जनताका कुरा राज्यसम्म पु¥याउने र राज्यले त्यसबारेमा चाल्ने कदमलाई पुनः जनतासम्म पु¥याएर पुलको भूमिका खेल्ने पनि यस क्षेत्रका ठूलो भूमिका रहन्छ । जनताका अधिकार, समानता, स्वतन्त्रताको रक्षासँगै भ्रष्टाचार न्यूनीकरण, विभेदको अन्त्य र राज्यलाई निरन्तर खबरदारी गर्ने यस पत्रकारिता क्षेत्र विवेकले भरिएको प्रतिपक्ष पनि हो । त्यसैले हामी पत्रकारितालाई चौथो अंग पनि मान्छौँ । तर त्यहि चौथो अंग मानिने महिला पत्रकारलाई भने यस पेशामा धेरै चुनौती र समस्या रहेको पाईन्छ । वास्तवमा नेपालको परिवर्तनकारी आन्दोलनमा महिला सञ्चारकर्मीले खेलेको भूमिका अविस्मरणीय तथा प्रशंसनीय छ ।

नेपाली महिलाहरू निकै लामो समय चुलोचौकोमा नै सीमित रहे । तितो यथार्थ आज पनि महिलालाई घरायसी काममा नै सीमित रहनु पर्ने सोंचबाट नेपाली समाज ग्रसित छ । महिला मान्छे भएर यो क्षेत्रमा बाहिर हिड्ने, डुल्ने काम भएकोले र समाजले मन नपराउनु नै पहिलो चुनौती हो ।

पुरूषहरूसँग जानुपर्ने, महिला पुरूष मान्छेहरूसँग संगत गर्दा समाजले छुट्टैखाले नजरले हेर्ने, आम महिला पत्रकारहरूले भोगिराखेकै समस्या हो । अर्को कुरा एकदमै व्यावसायिक समस्या भनेको हामी महिलाहरूलाई प्रशिक्षणको अवसरहरू कम हुने, र मौका दिन नखोज्ने । तालिम, प्रशिक्षण र अभिमुखीकरणमा पनि पुरूष पत्रकारहरू नै हावी हुने कुरालाई ल्याउन सकिन्छ ।

इज्जत र अस्मिताको धम्की महिला पत्रकारले भोगिरहने समस्या हुन् । खासगरी महिला भएकै कारण पुरूष पत्रकार अर्थात् ठूला पत्रकारहरूले विश्वास नगर्ने, जिम्मेवारी दिन नखोज्ने, रिपोर्टिङहरू पनि हल्का खालको दिन खोज्ने यसको मतलव अवसर नदिदा पनि महिलाहरू पत्रकारितामा दबिएका छन् ।

२१औँ शताब्दीमा पनि यो समाजले बनाइदिएका केही सामाजिक मापदण्ड र प्राकृतिक रूपमा महिलाले पाएका जिम्मेवारीका कारण पत्रकारितामा महिला–पुरूष भन्नु परेको हो । महिला पत्रकारले काम गर्ने वातावरण पनि सुरक्षित बन्न सकेको छैन ।


काम एउटै, ज्याला फरक


पुरूषले पाउने जति काम गरेको पैसा हामीलाई दिइदैन् । नेपालमा नयाँ व्यवस्था आयो, अब भने आफ्नो पसिनाको मूल्य आफ्नै हातमा आयो भनेका थियौँ तर त्यसो हुन सकेको छैन् । समस्या सकिनेभन्दा पनि थपिँदै गएको पो देखिन्छ । आफूले नै आर्जन गरेको ज्याला सही ठाउँमा पु¥याउने या भोलिको लागि कसरी बचत गर्ने भन्ने बेग्लै चुनौती छ ।

एकजना पुरूषलाई आफूले आर्जन गरेको श्रमको मूल्य जोगाउन गाह्रो हुँदैन तर महिलाको लागि आफ्नै श्रमको मूल्य जोगाउनु पनि अर्को चुनौती नै रहेछ । तरपनि आफ्नो श्रमको मूल्य सञ्चित हुँदै जाँदा आर्थिक रूपमा आफूलाई बलियो भएको महसुस भइरहेको छ ।

जब कोही आर्थिक रूपमा मजबुत हुन्छ तब समाजमा उसको उपस्थिति प्रभावकारी हुने रहेछ भन्ने अनुभव पनि मैले गर्न पाएकी छु । आर्थिक रूपमा कमजोर हुँदा समाजले हेर्ने नजर र आर्थिक रूपमा सबल भइसक्दा त्यही समाजले हेर्ने नजरमा धेरै ठूलो अन्तर रहेको हुने रहेछ । त्यसैले हरेक मान्छेको सामाजिक हैसियत उसले गर्ने श्रमको ज्याला र त्यसको बचतसँग जोडिएको हुने रहेछ ।

आफूलाई श्रमिक महिला भनेर चिनाउन पाउँदा गर्व लाग्छ– श्रम गर्न लाज नमान्नुस् र श्रमको मूल्य बचाउन कोसिस गर्नुस् यो मलाई समयले सिकाएको कुरा हो । कुनै एउटा समय थियो । आधा रातमा उठ्यो । दैलो कुचो ग¥यो । पानी पँधेरो आफ्नै भागमा छँदैछ । वस्तु भाउ र गोठ झन् महत्वपूर्ण जिम्मेवारी हुने नै भयो ।

गोठको काम सकेर लखतरान भएको ज्यान अलिकति खाना खाएपछि सुस्ताउनसमेत नपाई काममा जानुपर्ने बाध्यता । काम नगरे वर्षभरि के खाने ? त्यो समस्या झन् विकराल त्यसमाथि सन्तानको रेखदेख, सरसफाई र समयसँगै उनीहरूको पठनपाठनको झन् ठूलो जिम्मेवारी– एउटी आमा, एउटा ज्यान तर काम भने आफूले गर्न सक्नेभन्दा कति हो कति धेरै । हाम्रो समाजको बनोट त्यस्तै त छ ।

हाम्रो समाजको बनोट र केही सामाजिक कुरितिहरूको कारण महिलाहरू ज्यालाबाट वञ्चित त हुन्छन् नै । पाउँदै आएको माया र सुरक्षाबाट समेत तत्काल वञ्चित हुने अवस्था आइपुग्छ त्यो अवस्थामा काम आउँथ्यो । आफ्नो श्रमको मूल्य तर हामीकहाँ त दुःख परे माइत जाने चलन छ ।

लोग्नेले सौता ल्याए पनि माइत जाने, पिटे पनि माइत नै जाने बरू फर्केर आउने पिटाइ सहने र फेरि उसैको लागि श्रम गर्ने यही त छ हाम्रो चलन । जे कुराको आशा र जुन कुराको भरोसामा मान्छेले पसिना बगाउँछ त्यो नै नपाउने भएपछि मान्छेको मन न हो झन् निराश हुने रहेछ । पुरूषसरह ज्याला नपाए पनि केही सक्षम बन्दै गएको छु । अब समान कामको समान ज्याला हुनुपर्छ भन्ने हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here