दाङ, १० पुस । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्र लुम्बिनी प्रदेशबाट ३० जनाभन्दा बढी आकांक्षी देखिएका छन् । राष्ट्रियसभाको उम्मेदवारका लागि माओवादी केन्द्रले तीनजनाको नाम सिफारिस गरी पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको थियो ।
अहिले लुम्बिनीबाट हाइप्रोफाइल नै आकांक्षी देखिएका हुन् । जसमा जयपुरी घर्ती, गणेशमान पुन, हकिकुल्ला खान, दलजित सिर्पाली, कुवेर ओलीलगायतका नेताहरूले नै उम्मेदवार बन्ने आकांक्षा देखाएका हुन् । घर्ती, पुन र सिर्पाली पूर्व मन्त्रीसमेत हुन् ।
यस्तै अर्घाखाँचीबाट ठाकुर विक, नवलपरासीबाट घनश्याम यादव, सीता पौडेल आकांक्षी रहेका छन् । विकलाई यसअघि नै राष्ट्रियसभामा लैजाने गरी गठबन्धन दलहरूले सहमति गरेको उनको दाबी छ । त्यस्तै गुल्मीबाट मीनबहादुर पाण्डे, नारायणसिंह अधिकारी, कृष्ण अधिकारी, रूपन्देहीबाट रितु श्रेष्ठ रहेका छन् । श्रेष्ठ समानुपातिकको पहिलो सूचीमा नाम समावेश गराएर पनि नाम काटिएको थियो । दाङबाट शेषुराम भण्डारी, बर्दियाबाट भवन थारू आकांक्षी देखिएका छन् ।
लुम्बिनीमा फागुन २० गते एमाले तर्फबाट कुमार दसौदी र कांग्रेसका अनिता देवकोटाको पदावधि सकिँदैछ । माओवादीबाट लुम्बिनीमा कोटा छैन । यद्यपि उम्मेदवार बन्ने आकांक्षी अझै बढ्न सक्ने प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताए । पार्टीले तीनजनाको नाम सिफारिस गरेर पठाउन भनिए पनि त्यो सम्भव नभएको उनको भनाइ छ ।
सिट बाँडफाँटमा गठबन्धन दलहरूबीच सहमति नजिक पुगेको नेताहरूले दाबी गरे पनि लेनदेनमा कसलाई कहाँ दिने भन्नेबारे सहमति भइसकेको छैन । यसअघि निर्वाचित भएको दलहरूको सिट यथावत् राखी एमालेबाट रिक्त हुने ९ सिट बाँडफाँट हुन बाँकी छ । पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ ।