सल्यान, १० पुस । सल्यानको कालिमाटी गाउँपालिकामा खुला भलिवल प्रतियोगिता सुरू भएको छ । धान्य पूर्णिमामा लाग्ने चर्चित पौरानिक कालिमाटी मेलाको अवसरमा गाउँपालिकाले भलिवल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर केसीले उद्घाटन गरेका हुन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न १५ वटा समूह प्रतिस्पर्धामा छन् ।
प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले कार्यक्रममा बोल्दै प्रतिस्पर्धी खेलाडि उत्पादनका लागि गाउँपालिकाले लगानी गर्दै आएको भन्दै खेल मैदान निर्माण, मेला व्यवस्थापन तथा पर्यटकीय क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासमा निरन्तर काम भइरहेको बताए ।
आफ्नै पालामा खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष केसीले बालुवा, दमदुवाली, घुइयाबारी, चप्परगौडी सडक निर्माणका लागि आफूहरू लागि परेको भन्दै निकुञ्ज क्षेत्रको समस्या समाधानका लागि प्रदेश तथा केन्द्र सरकारसँग पटक–पटक अनुरोध गरेको उल्लेख गरे ।
गाउँपालिकाले काम गर्ने ठाउँमा छेकबार लगाइएको बताए । विगतमा कालिमाटी मेला ठाउँ अभावमा बाटोमै लाग्ने गरेको भन्दै उनले अहिले फाराकिलो फिल्डसँगै शौचालय, खानेपानीको संरचना निर्माणसँगै मेलालाई व्यवस्थित गरिएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली डिसीले खेल क्षेत्रको विकाससँगै गाउँपालिकाले समग्र पालिकाको विकासको लागि विविध क्षेत्रमा इमान्दारपूर्वक काम गरिरहेको बताइन् । तर विकास विरोधी तथा परिवर्तन नरूचाउनेहरूले अनावश्यक रूपमा जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने उद्देश्यले मुद्दा मामिला र उजुरी गर्ने गरेको उनको भनाइ छ ।
आफु लगाएत १० जनालाई झुठो मुद्दा लागेको ११ महिनापछि सम्मानित अदालतले आफूहरूलाई न्याय दिलाएको भन्दै गाउँपालिका उपाध्यक्ष डिसीले आफूहरू कुनै पनि पक्षपात नगरेर गाउँपालिकाको विकासमा प्रतिवद्ध रहेको जनाइन् ।
कार्यक्रममा वडा अध्यक्षहरूको तर्फबाट कालिमाटी ३ नम्बरका वडा अध्यक्ष शिव बहादुर खत्री, नेपाली कांग्रेसका प्रतिनिधि टोप बहादुर केसी, नेकपा एमालेका प्रतिनिधि केशर सिंह बुढा, माओवादी केन्द्रका प्रतिनिधि शालिकराम भट्टराई, राप्रपाका प्रतिनिधि प्रदिप थापा, एकीकृत समाजवादीका प्रतिनिधि ज्ञान्द्र बहादुर खत्रीलगायतले बोल्दै गाउँपालिकामा खेल मैदानको खाँचो रहेको भन्दै गंगामाला मन्दिर व्यवस्थापनसँगै स्तरिय र प्रभावकारी विकासका लागि गाउँपालिकालाई विभिन्न सुझावहरू दिएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा दिप बहादुर वलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रितु केसी तिमिल्सिनाले गरेकी थिइन् ।