दाङ, ९ पुस । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारले कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको बताएका छन् । उनले कानुनको अभावमा कामकाज रोकिने अवस्था हटाई सहजताको बाटो खोजिरहेको बताए । सङ्घीयताको मर्मअनुसार तीनै तहको सरकार अघि बढेको अवस्थामा कानुन नहुँदा हरेक कामकाजले गति लिन नसकिरहेको अवस्थालाई ध्यानमा राख्दै लुम्बिनी प्रदेश सरकारले कानुन निर्माण र कार्यान्वयनको पाटोलाई तीव्रता दिएको बताए ।
आइतबार दाङको बंगलाचुली गाउँपालिकामा आयोजित कानुन निर्माण प्रक्रियाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले प्रदेश निजामती ऐन २०८० जारी गरिसकेको र आउँदो हिउँदे अधिवेशनमा पेश हुने गरी स्थानीय निजामती सेवा ऐन २०८० को निर्माणको काम भइरहेको जानकारी दिए ।
सभामुख तुलाराम घर्तीमगरले स्थानीय तहमा कानुनको सैद्धान्तिक ज्ञानको अभावमा अनेकौ समस्याहरू आएको र त्यसको समाधानका लागि प्रदेशले कानुन निर्माण गरेर बाटो खोल्ने बताए । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकाले प्रदेश सरकारको ऐनलाई टेकेर कानुन बमोजिम कामकाज अघि बढाएको बताए ।
उनले प्रदेश सरकारले समयमै आवश्यक कानुनको निर्माण नगर्दा कतिपय अवस्थामा स्थानीय सरकारको कानुन र प्रदेश सरकारको कानुन बाँझिदा समस्या झेल्नु परेको स्मरण गराए । बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक भक्तबहादुर जिसीले स्वागत तथा विषय प्रवेश गराएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले गाउँपालिकाले निर्माण गरेका कानुनका बारेमा जानकारी गराएका हुन् । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम भएको हो ।