दाङ, ३ पुस । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले हरेक तहमा नीति र नेतृत्व आवश्यक रहेको बताएकी छन् । नीति र नेतृत्व तथा स्थानीय शासन र सुशाशन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले यस्तो बताएकी हुन् ।
उनले नीति नै कानुन निर्माणको खुट्किलो भएको बताइन् । ‘नीति नभई कुनै पनि कार्य सम्पादन गर्न सकिँदैन’ उनले भनिन्–‘त्यसैले नीति नै कानुन निर्माणको खुट्किलो हो ।’ उनले जनताको आवश्यकताका आधारमा नीति बनाउनुपर्ने र सोही अनुरूप कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिन् ।
तुलसीपुर उपमहानगर–पालिकाको आयोजना र मेट्रो कलेजको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा उनले विचारहरूको छलफल र योजना नै नीति भएकाले हरेक क्षेत्रम नीतिको आवश्यकता हुने बताईन् ।
तुलसीपुर उपमहानगर–पालिकाका नगरप्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सहमतिको नाममा लोकतन्त्रलाई उल्झनमा राखिनु गलत भएको बताए । त्यस्तै लेखक तथा पत्रकार हरि बहादुर थापाले बजेट विभाजनमा भिन्नता र तथ्यांक विश्लेषणमा ध्यानु दिनुपर्ने बताए ।
स्थानीय तहले बनाइएका ऐन कानुन अक्षरस कार्यान्वयन नभएको उनले बताए । उनले पालिका प्रमुख र वडा प्रमुखबीच मतभेद भएकोले जनताहरूको मागअनुसार कामहरू हुन नसकेको बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका शासन र सुशासनका हिसाबले अब्बल बन्नुपर्ने र जनतासामु राखिएका एजेण्डाहरू पूरा गर्नतर्फ लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा तुलसीपुर उपमहागरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नम्बर ११ का वडा अध्यक्ष मान बहादुर रावतले स्थानीय तहका जनप्रतिनिधिलाई अधिकार दिएपनि त्यसको प्रयोगका श्रोतसाधन उपलव्ध नभएको भन्दै अधिकार कार्यान्वयमा समस्या रहेको बताएका थिए ।
त्यस्तै लेखक तथा पत्रकार सुदर्शन रिजाल, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य देवेन्द्र बस्नेत, अधिकारकर्मी युवा करारा, ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीले लगायतले स्थानीय तहले बनेका ऐन कानुनहरू कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वलीले गरेका थिए ।