सल्यान, २ पुस । सल्यानमा उद्यमशीलता विकास तथा आयआर्जन बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन हुने भएका छन् । आइतबार सम्पन्न जिल्ला उद्योग प्रवद्र्धन विकास समितिको बैठकले बेसार प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग कार्यक्रम सञ्चालन गर्ने, टिमुर संकलन, ग्रेडिङ, प्रशोधन, लेवलिङ, प्याकेजिङ र बजारिकरणका लागि सीपसँग सहयोग कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा सम्पन्न बैठकले कटाइ सिलाइसम्बन्धी सीप प्रतियोगिता तथा औद्योगिक प्रदर्शनी प्रतियोगिता सञ्चालन गर्ने, उद्यमीहरूलाइ मेला महोत्सवमा सहयोग गर्ने, वस्तु विकास प्रशिक्षण कक्ष निर्माणअन्तर्गत टपरी उत्पादनका लागि आवश्यक मेसिनरी उपकरण खरिद गर्ने निर्णय गरेको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए ।
उद्यमशीलता तथा महिला आयआर्जन कार्यक्रमतर्फ सल्यानका दशवटै स्थानीय तहहरूमा विभिन्न विषयका तालिम कार्यक्रमहरू सञ्चालन गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ । जिल्ला समन्वय समिति सल्यानका कार्यवाहक प्रमुख असविर बुढाथोकी सहित जिल्लाका स्थानीय तहका प्रमुख, प्रतिनिधिलगायत सहभागी बैठकमा जिल्लामा घरेलु तथा साना उद्योगीले उत्पादन गरेको वस्तुको प्रदर्शनी, उत्पादन एवं बजारीकरणका सन्दर्भमा महत्वपूर्ण छलफल भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले जानकारी दिए ।