नारायणपुर, २ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा सञ्चालित वडा कप–२०८० को उपाधि लालीगुराँस टोलले जितेको छ । वडा कार्यालयको आयोजनामा सञ्चालन भएको वडा कपको फाइनल खेलमा ठाँटीगाउँ टोल विकास संस्थालाई १ का विरूद्ध ३ गोलले पराजित गर्दै लालीगुराँस टोल विकास संस्थाले उपाधि जितेको हो ।
जनजागृति मावि लमडरूवाको खेल मैदानमा भएको फाईनल खेलको पहिलो हाफमा लालीगुँरास एक शुन्यले अगाडि रहेको थियो । जर्सी नम्बर १० का अनुप घर्तीमगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ठाँटीगाउँको तर्फबाट जर्सी नम्बर ७ का दोर्ण योगीले गोल गरेर खेललाई बराबरी गरे । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा लालीगुँरास टोलले थप दुई गोल गर्दै एकका विरूद्ध तीन गोलले विजयी भएको हो । जसमा जर्सी नम्बर ३२ का सागर पुनले लगातार दुई गोल गरेका थिए ।
विजेता र उपविजेता टिमलाई नगद, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट गोलकर्ता सागर पुन र शरद विष्ट, उत्कृष्ट मिडफिल्डर दोर्ण योगी, उत्कृष्ट गोलरक्षक जुद्धबहादुर डाँगी, उत्कृष्ट डिफेन्डर योगेश बाँठा मगर, उत्कृष्ट फरवार्ड शिशिर पुन मगरलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको रेफ्रीमा खुमबहाखुर पुन, विनोद विक, डिएन दाहाल र आदित्य केसी रहेका थिए ।
वडा अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतल, जनजागृति मावि लमडरूवाका शिक्षक प्रधान चौधरी, समाजसेवी गिरिराज वली, प्रतियोगिताको व्यवस्थापक खुम वली, नारायण विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।