
विकास भनेकै परिवर्तन हो । बन्दीपुर पुरानो बजार हो । अहिले बन्दीपुर तनहुँ जिल्लाको एक गाउँपालिका भएको छ । बन्दीपुर ऐतिहासिक व्यापारिक केन्द्र पनि हो । मूलतः राणाकालमा बन्दीपुर भारत र तिब्बतबीचको व्यापारिक मार्ग थियो । यही बाटो हुँदै भोटको व्यापारमा नेपाली र भारतीयहरू पुग्ने गर्दथे । तिब्बततिर ब्रिटिश साम्राज्यका औद्योगिक उत्पादन निकासी हुन्थ्यो भने तिब्बतबाट जडीबुटी, धातुलगायतका सामान पैठारी हुन्थ्यो ।
त्यसैले बन्दीपुर कुनैबेला भोट र भारतीय सामान व्यापारको ट्रान्जिट प्वाइन्टकै रूपमा चर्चित थियो । लमजुङ, गोरखा, मनाङ र तनहुँकै मानिसहरू नुनतेल लिनको लागि चितवनको ठोरी जाँदा बन्दीपुर बजारको बाटो नाकानै थियो । बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो । तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट वि.सं.२०२५ सालमा दमौली सारिएको थियो । ती पुराना कुरा अहिलेको युवा पुस्ताहरूलाई कथा बनेको छ ।
आजभन्दा ठीक २५० वर्षअघि नेपाल एकीकरणको क्रममा १ मंसिर १८२६ मा गोरखाका राजा पृथ्वीनारायण शाहले भक्तपुरमाथि आक्रमण गरे । तीन दिनसम्मको युद्धपछि भक्तपुरका राजा रणजित मल्लले हार स्वीकार गरे । नेपाल एकीकरण गर्ने समयमा राजा पृथ्वीनारायण शाहले भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिंंह थापा, कालीदास खडका आदिका साथ १५०० सशस्त्र फौज पठाएका थिए ।
त्यहि समयमा काठमाडौँका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल सुरक्षित हुनको लागि भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगेका थिए । राजा रणजित मल्लले आत्मसमर्पणको सट्टा छिमेकी राज्य र अग्रेजसँग समेत सहयोग मागेका थिए । भक्तपुरमा युद्ध भयो जसमा ठूलो जनधनको क्षति भयो । पृथ्वीनारायण शाहले उपत्यकामा आक्रमण गरेपछि भक्तपुरबाट भागेर प्रधान, जोशी, पिया, श्रेष्ठ र मल्लहरू सुरक्षित बसोवासका लागि बन्दीपुर आएका हुन् ।
सयौ वर्षदेखि भोटसँग भारततर्फ व्यापार गर्ने ठाउँ बन्दीपुर भक्तपुरे नेवारहरूले बसोवासको लागि बन्दीपुर रोजे । नेवारहरूको पहिलो समूह विसं १८३२ देखि १८५७ को बीचमा बन्दीपुर पुगेको इतिहास छ । नेवारहरूको प्रवेश पछि बन्दीपुरमा भक्तपुरे शैलीका घरहरू बन्न थाले । भक्तपुर शैलीमा नै मन्दिर बनाए । व्यापारिक सोंचमा आएका नेवारहरूले बन्दीपुरलाई क्रमश गाउँलाई शहरको रूपमा परिवर्तन गराए ।
भक्तपुरका नेवारहरूले बन्दीपुरमा बसाइँ मात्र सारेनन् आफूसँगै भक्तपुरका विभिन्न जात्रा र मेला पनि भित्राए । भक्तपुरे नेवारहरूले भक्तपुरे शैलीका घर निर्माण गर्नुका साथै त्यहाँका विभिन्न चाडवाड पनि भित्राए । अहिले बन्दीपुरमा मनाइने विस्केट जात्रा, लाखे नाच, गाईजात्रा आदि भक्तपुरबाट नै बन्दीपुरमा भित्रिएको संस्कृति हो । बन्दीपुरको अर्काे पाटो भनेको नेवारी संस्कृति हो । बन्दीपुरमा भक्तपुरे नेवारको संस्कृतिका जात्रा लाखेनाच, बाघ जात्रा, रोपाईँ जात्रा, पुतलीको बिहे, विस्केट जात्रा लाग्ने गर्दछ ।
गुरूङ र मगरको नाचले पनि बन्दीपुरलाई स्थानीय संस्कृतिलाई बचाएको छ । चुट्का नाच र घाटु नाच मात्र होइन नेवार जातिको डोका नाचले पनि बन्दीपुरलाई संस्कृतिको बचावट गरेको छ । बन्दीपुरमा विन्ध्यवासिनी, गणेश मन्दिर, महालक्ष्मी थान, थानीमाई, चामुण्डा, तीनधारा महादेव र गुम्बादेखि चर्चसम्म रहेको छ । थानीमाईबाट देखिने मस्र्याङ्दी नदीको आकर्षक शब्दमा वर्णन गरेरै सकिन्न । बन्दीपुरको अर्काे आकर्षक स्थल भनेको दक्षिण एसियाकै सबैभन्दा लामो गुफा सिद्ध गुफा पनि हो ।

पृथ्वी राजमार्गमा पर्ने बिमलनगरमा रहेको योे गुफा ४ सय ३७ मिटर लामो छ । नेवारी संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना पुराना तर सुन्दर घरहरू बन्दीपुर बजारको पहिचान हो । अहिले बन्दीपुरको मुख्य बजार क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेर यस्ता घरहरूको संरक्षण गरिएको छ । जुन कार्यले इतिहासको सुरक्षा र पर्यटकहरूलाई लोभ्याउने काम गरेको छ ।
राजा मुकुन्द सेनको शासनकाल देखिनै इतिहास जोडिएको बन्दीपुरको नाम मगर भाषामा रहेको छ । समुन्द्री सतहभन्दा एक हजार ३० मिटरको उचाईमा बन्दीपुर पर्दछ । बन्दीपुर बजारभन्दा केही माथि रामकोट गाउँ पर्दछ । जुन गाउँमा मगरहरूको पुरानो बस्ती छ । वनको अर्थ जंगल दीको अर्थ पानी र पुरको अर्थ गाउँ हो । तर बन्दीपुरको नामका बारेमा अनेकौ किम्वदन्दी छन । तर विश्वास लाग्ने केही कुरा यस्ता रहेका छन् । गण्डकी क्षेत्रका अधिकांश ठाउँका नाम डी बाट उच्चारण हुन्छन् ।
जस्तै, राम्डी, माडी, मस्र्याङ्दी, चुदीँ, दरौदीँ आदि … । मगर भाषामा डि लाई पानी भनिन्छ । बन्दीपुर वरपर मगर जातिको बस्ती भएको र परापूर्वकालमा वनको पानी खानपर्ने भएकोले ठाउँको नाम बन डी अर्थात् वनको पानीबाट बन्दीपुर भएको भन्ने भनाइ छ । भने राणाकालीन समयमा अपराधीहरूलाई थुन्ने अर्थात् बन्दी गर्ने स्थान भएकोले बन्दीपुर भनिएको हो भन्ने कुरा पनि पाइन्छ । तर बन्दीपुरको बारेमा अनुसन्धान गर्ने इटालीका लिण्डा इटालिएनले खडक देवीको पुजारीको नाम बन्दी थियो र उनकै नामबाट बन्दीपुर हुन गएको कुरा उल्लेख गरेका छन् ।
बन्दीपुरको इतिहास खोज्दै जाने हो भने राजा मुकुन्द सेनको शासनकाल समेत जोडिन्छ । बन्दीपुरभन्दा माथि रहेको मुच्चुक डाँडा अर्थात् गढीमा मगरहरू तथा कामीहरूको बस्ती रहेको थियो । मुकुन्द सेन केही दिन राजकाजदेखि छाडेर शान्तिसँग बस्न मुच्चुक डाँडामा आएका थिए । एकदिन नजिकैको ब्राह्मण बस्ती झाप्री फाँटको एक बृद्धाले एक्लो बसेको देखेर खाना खान बोलाए छन् ।
बृद्धाले चौरासी ब्यञ्जन सजाएर खाना पस्काए छन् । मुकुन्द सेनले सबै एकै ठाउँमा मुछेर खान लागेको देखिर भनेछन्, तिमी त राजा मुकुन्दसेन जस्तै रहेछौँ । सबैलाई एकै ठाँउमा मिसाउन खोज्ने । राजाले पनि विभिन्न जातजाति संस्कार धर्म भएका जनतालाई एकै ठाउँमा मिसाएर राज्य चलाउन खोजे । तिमी पनि सबै खानेकुरालाई एकै ठाउँमा मिसाएर खाना खान खोज्दैछौ ।
प्रत्येक व्यञ्जनको आफ्नै विशेषता हुन्छ आफ्नै स्वाद हुन्छ । त्यसलाई अलग–अलग खानुपर्छ । त्यसपछि राजा केही नबोली उठेर हिडे । बृद्धाको कुरा सुनेर राजकाज त्यागेर योगी बनेर देवघाटमा मन्दिर बनाएर बसे । देवघाटमा बसेको केही समयपछि मुकुन्द सेनको मृत्यु भयो । अहिले पनि मुच्चुक डाँडामा मुकुन्द सेन बसेको गढीमा मन्दिर रहेको छ । जुन मन्दिरलाई मुकुन्देश्वरीको मन्दिर भनिन्छ । मुकुन्देश्वरी मन्दिरमा खासगरी मगरहरूले पूज्ने गर्दछ ।
पृथ्वी राजमार्ग निर्माणको सुरूवात र बन्दीपुरमा रहेको सदरमुकाम २०२५ सालमा दमौलीमा सार्दाको बखत स्थानीय बासिन्दाको विरोध भयो । त्यतिबेला तनहुँको पहिलो स्कुल थियो भानु हाइस्कुल । केही युवा र बिद्यार्थीको सक्रियतामा बन्दीपुरमा ठूलो विरोध भयो । प्रहरीको गोलीबाट निर्मल श्रेष्ठको मृत्युसमेत भयो । विरोधमा उत्रनेहरूलाई केही दिन प्रहरीले नियन्त्रणमा लियो । त्योबेला बन्दीपुरमै सदरमुकाम राख्न धेरै मिहिनेत गरे । सदरमुकाम दमौली सारेपछि बन्दीपुर सुनसान हुन धेरैबेर लागेन । बन्दीपुरेको व्यापार सुक्दै गयो ।
बन्दीपुरेहरू पोखरा, चितवन र काठमाडौं मात्र होइन पृथ्वी राजमार्गमा पर्ने डुम्भ्रे, बिमलनगर लगायत ठाउँमा बसाइँ सरे । केही पुराना व्यक्तिहरू जो थातथलो छोडन सक्दैनन् उनीहरू मात्र बन्दीपुर बजारमा बस्न पुगे । बन्दीपुरमा पुरानो खानेपानी ०१७ सालमा सुरूवात भई ०१९ सालमा सम्पन्न भएको हो । यसको मुहान छिम्केश्वरी नजिक बडस्वारामा पर्दछ । अहिले त्यो खानेपानी बन्दीपुर बजारदेखि ४ किमी पूर्व भञ्ज्याङ गाउँसम्म मात्र आएको छ ।
बन्दीपुरमा राजा महेन्द्र २०१५ साल पुस महिनामा पुगेका थिए । बन्दीपुरको विकास निर्माणका लागि प्रत्यक्ष जनताहरूसँग राजा महेन्द्र भेटघाट गर्न जाँदा बन्दीपुरेहरूले बजारभरी तुलको कपडा बिछ्याएर स्वागत गरेका थिए । यी कुराहरू बन्दीपुरका पुराना बासीहरूलाई मात्र थाहा हुन सक्दछ । अहिले बन्दीपुरमा विकासका पूर्वाधारहरू थपिदै छन् । गाउँपालिकाले बन्दीपुरको विकासका लागि २० वर्षे दीर्घकालीन गुरूयोजना निर्माण गरेको छ ।
बन्दीपुरमा विस २०५४ सालदेखि इको टुरिजमको सुरूवात भयो । बजार क्षेत्रमा ढुंगा बिछाउनेदेखि लिएर पर्यटन विकासका लागि होटल र होमस्टे सञ्चालनमा आए । त्यसपछि बन्दीपुरमा विदेशी पर्यटकहरू भित्रन थाले । पर्यटकहरूको आगमन पछि बन्दीपुरमा चहलपहल सुरू हुन थाल्यो । कुनै बेलाको व्यापारिक केन्द्र, सात सालको क्रान्तिमा बिगुल फुक्ने क्षेत्र बन्दीपुरको प्रचार हुन थाल्यो ।
मगर र नेवारहरूको बस्ती छर्लङ्गै देखिने हिमाली श्रृंखलाका कारण बाह्य र आन्तरिक पर्यटकहरूको बन्दीपुर लोकप्रिय हुन थाल्यो । अहिले बन्दीपुरमा तमुखोलाको पानी लिफ्टिङ गरी पुरानो टेङकिबाटनै वितरण गरिदै आएको । अर्को योजना मस्र्याङ्दी नदीबाट समेत लिफटिङ गर्ने काम पनि भइरहेको छ ।
पर्यटनकै लागि अहिले बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा १२ वटा समूहले होमस्टे चलाएका छन् । तीमध्ये पाँचवटा बजार क्षेत्र वरपर नै छन् । बजार क्षेत्रको वडा नं. २ र ४ मा मोहरीया, बन्दीपुर, विन्दवासिनी, तीनधारा र बन्दीपुर पाहुना घर नामका होमस्टे चलेका छन् । एउटा समूहमा १० वटासम्म घर छन् । बजार क्षेत्र बाहेक वडा नं. ३ को रामकोट, वडा नं. ६ को धरमपानी, कमलवारी र डाँडाछाप लगायतका ठाउँमा पर्यटकहरूका लागि होमस्टे सञ्चालनमा छन् ।
बन्दीपुर घुम्न जाने पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र संस्कृति देखाउने उद्देश्यले होमस्टे सञ्चालनमा आएका हुन् । होमस्टे समूहमा ४० देखि १ सय जनासम्म बस्न मिल्छ । लोकल कुखुराको मासुसहितको खाना खाएर, एट्याच ट्वाइलेट बाथरूमसहितको कोठामा बसेर, बिहान कोदोको रोटीसहितको नास्ता खाएर जम्मा १ हजार रूपैयाँ भए पुग्छ । पर्यटकहरू फर्कने बेलामा स्थानीय महिला दिदीबहिनीहरूले फूलमाला र टीका लगाएर विदाइ गर्नुहुन्छ ।
बन्दीपुरमा साना ठूला गरी ३० वटा होटल र ४० वटा रेष्टुरेन्टहरू पनि छन् । एक रातमा होटल र होमस्टे गरेर बजार क्षेत्रमा १५०० जनासम्मलाई राख्न सक्ने क्षमता छ । पछिल्लो समयमा उज्यालो बन्दीपुर अभियानअन्तर्गत बजार क्षेत्रका विभिन्न ठाउँमा आकर्षक सडक वत्तीहरू राख्ने अभियान चलेको छ । बजारका विभिन्न ठाउँमा बन्दीपुरे ढुंगा छाप्ने कामलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।
निर्माणधीन केबलकार पनि बन्दीपुरको अर्को आकर्षणको केन्द्र बन्न थालेको छ । केबलकार अब सञ्चालनको तयारीमा छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकारमा रेष्ट्रो–कार र तारे होटल बनाइरहेको छ । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित साँझ ६ बजेबाट राति ९ बजेसम्म केबलकार चल्ने छ भने बिहान ६ बजेबाट साँझ ६ बजेसम्म केबलकार चल्ने छ ।
बन्दीपुरका पुराना घरले भक्तपुरका घरकै झल्को दिन्छन । त्यस्तै, बन्दीपुरको मिठो खाना र रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खडदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा पर्यटकहरू पुग्दछन् । बन्दीपुरमा जाने पर्यटकहरूको लागि ऐतिहासिक धार्मिक स्थलहरूले आकर्षण गराउँछ । बन्दीपुरमा १८औँ शताब्दीमा स्थापित खडक देवीको मन्दिर विन्दवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरमाका मुख्य धार्मिकस्थल मानिन्छन् ।
बन्दीपुरको रानीवन सामुदायिक वनको काखमा रहेको तीनधारामा आजभोलि पिकनिक स्पोट भएको छ । बन्दीपुरबाट सुकौरा केशवटार, गुदी पोखरी भञ्ज्याङ हुँदै दमौली पुग्ने मोटर मार्ग पनि छ । खडगदेवी मन्दिर बन्दीपुरको ऐतिहासिक सम्पदा हो । खडगदेवी मन्दिरमा दुईजना पुजारी हुन्छन् । एक मगर पुजारी जसले वर्षको एक पटक दशैमाँ खडगलाई छुन सक्छन् । तर ब्राह्मण पुजारीले खडगलाई छुन पाइदैन । दशैँमा पूजापछि खडग लिएर मगर पुजारी मन्दिर बाहिर निस्केर सबैलाई देखाएपछि खडग कामीलाई दिइन्छ । कामीले खडग लिएर बजार परिक्रमा गर्ने गर्दछ ।
बन्दीपुरको खडगदेवी मन्दिरमा कामी र मगर पुजारीले देवीलाई बोकी शोभायात्रा गराउने, नेवारहरूले मंगलधुन बजाई भजनकीर्तन गर्ने तथा व्यवस्थापन पक्ष हेर्ने, दमाईले मंगलधुन र नगरा बजाउने, सुनारले देवीका गहना उजिल्याई शोभायात्राको अन्तिममा देवीलाई चढाउने र अन्य जातिकाले शोभायात्राभर सेवा, धुपबत्ती बाल्ने र गुरूङ समुदायले शोभा यात्रामा पहरा र सुरक्षा दिने अनि रातमा चुडका नाच प्रदर्शन गर्ने गर्दछन ।
पोखरा घुम्न जानेले प्रायः बन्दीपुर हेर्न छुटाउँदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर पुग्ने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरू लगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । बन्दीपुरबाट सूर्योदयको सुन्दर दृश्य देख्न सकिन्छ । बन्दीपुरकाट मनोरम हिमश्रृंखला, पहाड, टाकुरा हेर्न सकिन्छ । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ ।
हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बिदाको समयलाई सदुयपोग गर्ने र सहरको कोलाहल, धुवाँधुलोबाट छुट्कारा पाउन गाउँले परिवेशमा रमाउन पर्यटकहरू बन्दीपुर पुग्ने गर्दछन् । अर्काेतर्फ बन्दीपुरका स्थानीयले गर्ने स्वागत र आत्मीय व्यवहार झनै राम्रो छ । केही टाढा घुम्न जाने सोंच बनाएकाहरूलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्दछ । बन्दीपुर पुग्ने पर्यटकहरू बन्दीपुरको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुन्छन् ।