दाङ, २९ मंसिर । घोराही उप–महानगरपालिकाको न्यायिक समितिले न्यायिक सम्पादन र हुँदै आएको अभ्यास र झेल्नुपर्ने परेका समस्या एवं चुनौती बारेमा अध्ययनका लागि काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको अवलोकन गरेको छ । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अन्तर्गतका विवादको निरूपण (कारबाही र किनारा) गर्ने र सोही ऐनको दफा ४७(२) अन्तर्गतका विवादको मेलमिलापको माध्यमबाट मात्र विवाद समाधान गर्ने अधिकार दिएको छ ।
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाको उप–प्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डंगोलसँगको भेटघाटका क्रममा उप–प्रमुख डंगोलले काठमाडौं महानगर–पालिकाको न्यायिक समितिले न्यायिक निरूपणका क्रममा गर्दै आएका अभ्यासका बारेमा जानकारी दिएकी थिइन् । न्यायिक समितिले स्थानीय एवं छिमेकी छिमेकीका विवादहरूलाई मेलमिलापमा जोड दिएको जानकारी उनले दिइन् ।
‘न्यायिक समितिमा विवादको संख्या कम गर्नका लागि हामीले अधिकांश विवाद वडामै मिलाउने वातावरण बनाएका छौँ ।’ उप–प्रमुख डंगोलले भनिन् ‘समा सहजताका लागि प्रत्येक नगरमा ६८ जनालाई मेलमिलापकर्ताको रूपमा सूचीकृत गरेका छौँ । यस्तै विवादलगायत अन्य सेवा सुविधाहरू कुन सेवा कहाँ कसरी लिने भन्ने कुराको जानकारी नभएकाहरूलाई चेतनाको लागि महिला सञ्जालको गठन पनि गरेको जसले गर्दा न्यायिक निरूपणमा अझ सहयोग बढेको जानकारी उप–प्रमुख डंगोलले जानकारी दिइन ।
न्यायिक समितिमा निवेदन दिन एवं लेख्न नजान्नेहरूको सहजताका लागि कानून विषय पढिसकेका विद्यार्थीहरूलाई मासिक कामनपाले ति विद्यार्थीलाई मासिक १५ हजार पारिश्रमिकको व्यवस्था पनि गरी सेवाग्राहीहरूलाई निःशुल्क सेवा दिने गरेको जानकारी उप–प्रमुख डंगोलले जानकारी गराएकी थिइन् ।
काठमाडौं मनपाको न्यायिक समितिमा अधिकांश विवादहरू घर बहालसँग सम्बन्धित विवादहरू आउने गरेकाले त्यस्ता विवाद व्यवस्थापनका लागि घरबहाल व्यवस्थापन निर्देशिका जारी गरेको उप–प्रमुख डंगोलले जानकारी दिइन् ।
जसअन्तर्गत घरबहालमा दिदा सोको सम्झौता, नागरिकताको प्रतिलिपि र घर बहाल कर तिरेको रसिद अनिवार्य गरेको जानकारी गराएकी थिइन् ।
न्यायिक समितिले गरेको निर्णय कार्यान्वयनमा समितिको नियमित तथा आकस्मिक बैठक बसेर कार्यान्वयनमा जोड दिदै आएको उप–प्रमुख डंगोलले जानकारी दिइन् । ‘कुनै विवाद न्यायिक समितिको निर्णयका विरूद्ध पुनरावेदन गर्ने गरेको तर अदालतले पनि न्यायिक समितिको निर्णय सदर गरिदिएको छ’ उप–प्रमुख डंगोलले भनिन् ‘जसले गर्दा अदालतले पनि स्थानीय सरकारको अधिकारलाई सम्मान गरेको छ ।’
अधिकांशले न्यायिक समितिको अधिकार क्षेत्र बाहिरका विवाद दर्ता गर्न खोजेकाले न्यायिक समितिले हेर्न नमिल्ने विवादमा हेल्पडेस्कमार्फत कानूनी परामर्श दिने गरेको उनले जानकारी दिइन् । कुनै–कुनै विवाद न्यायिक समितिको क्षेत्राधिकार बाहिर भएर आउने गरेकाले त्यस्ता विवाद अदालतमा पठाउँदा अदालतले शीर्षक मात्र हेरेर पुनः न्यायिक समितिमा नै पठाउँदा चुनौती रहेकोमा दुःख व्यक्त भएको थियो । इजलासमा बस्दा वादी प्रतिवादी दुवैको मनोविज्ञान पनि बुझ्न आवश्यक रहेको उप–प्रमुख डंगोलले बताइन् ।
काठमाडौं महानगरपालिकाको उप–प्रमुख सुनिता डंगोल र कामनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँगको भेटघाट कार्यक्रम समग्र न्यायिक समितिको न्यायिक निरूपण अभ्यासका बारेमा सीमित रहेको थियो । साथै घोराही उप–महानगरपालिकाको तर्फबाट दाङको थारू समुदायको हस्तकला ढकिया र काठमाडौं महानगरपालिकाको तर्फबाट त्यहाँको काष्ठकला मायाको चिनोका रूपमा दिई लिई भेटघाट सम्पन्न भएको थियो ।
भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसिसहित न्यायिक समितिका पदाधिकारीहरूले भेटघाट गरेका छन् । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणको सिलसिलामा उक्त टोलीसँग भक्तपुर नपाको गतिविधि र न्यायिक समितिको कार्यसम्पादनबारे अनुभव आदानप्रदान भएको थियो ।
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका पुराना संस्कृति र सम्पदाहरूको संरक्षणलाई विकास गरी भक्तपुर नपा अगाडि बढिरहेको बताउँदै पर्यटकहरूबाट उठेको पर्यटन शुल्क समेतबाट भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको प्रष्ट पारेका थिए ।
पर्यटन र स्वास्थ्य क्षेत्रमा नेपालले समाजवादी देश क्युवाबाट सिक्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले क्युवा दशकौं लामो समयदेखि अमेरिकी साम्राज्यवादले नाकाबन्दी गरेको देश भएर पनि शिक्षा, पर्यटन विकास र स्वास्थ्य उपचारमा संसारमा उत्कृष्ट प्रमाणित हुन सफल भएको बताएका थिए ।
भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीकै कारण भक्तपुर शैक्षिक रूपमा अगाडि बढेको बताउँदै प्रमुख प्रजापतिले भने ‘कामदार वर्गलाई माथि उठाउने उद्देश्यले हामी नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू काम गर्दैछौं ।’
उपप्रमुख हुमाकुमारी डिसीले भक्तपुर नपा सुशासन क्षेत्रमा अब्बल भएको आफ्नो ठम्याइ रहेको बताउँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास मोडलबारे अध्ययन गर्ने हेतुले भक्तपुर भ्रमणमा आएको बताइन् । उनले भक्तपुरले देशकै लागि मार्गनिर्देशनको रूपमा काम गरिरहेको बताउँदै अन्य स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, विकास मोडलबारे धेरै कुरा सिक्न सकिने बताएकी थिइन् ।
भेटमा भक्तपुर नपाका प्रमुख, उपप्रमुखसँगै, भक्तपुर नपा ६ नं. वडा अध्यक्ष हरिराम सुवाल (न्यायिक समिति सदस्य), ८ नं. वडा अध्यक्ष कृष्णप्रसाद कोजु (न्यायिक समिति सदस्य), प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, घोराही उपमहानगरपालिकाबाट उपप्रमुख सहित कानुनी मामिला शाखाका प्रमुख प्रतला कुमारी देवकोटा, न्यायिक समितिका सदस्यद्वय मानबहादुर जिसी, पवित्रा विश्वकर्मा, मेलमिलापकर्ता संयोजक कमलप्रसाद भट्टराई, कर्मचारीहरू डिलराज पौडेल, सवि चौधरी, शिला चौधरीलगायतको उपस्थिति रहेको थियो । भेटमा उपहार आदानप्रदान पनि भएको थियो ।