दाङसहित देशभर चिसो बढ्दै गएको छ । चिसोको कारण जनजीवन प्रभावित हुन थालेको छ । चिसोले विषेशगरी दैनिक जीवनयापनमा कठिनाइ हुन थालेको छ । बढ्दै गएको चिसोका कारण बालकदेखि बृद्धबृद्धाहरू बढी समस्यामा पर्ने गरेका छन् । चिसोमा विभिन्न प्रकारका रोगहरूको जोखिम हुने भएकाले पनि चिसोबाट बच्न चिकित्सकहरूको सुझाव रहेको छ ।रूघाखोकी र ज्वरोको समस्या सिजन परिवर्तनको बेला प्रायमा देखिन्छ । चिसो र यसबाट बच्न सक्ने उपायबारे प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाको विचारलाई समेटेका छौं । – सम्पादक
जीतसागर जी.एम.
ज्येष्ठ नागरिक र बालबालबालिकालाई समस्या
चिसो बढेसँगै विभिन्न किसिमका समस्या देखिने गर्दछन् । विषेशतः गर्मी समयभन्दा जाडोमा बालबालिका र बृद्धबृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ । चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ । चिसो मौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या भनेको फ्लु, रूघाखोकी, हाइपोथर्मिया, श्वासप्रश्वास सम्बन्धी समस्या, मुटुसम्बन्धी समस्या, कार्वनमनोअक्साइड पोइजनिङ लगायतका समस्या देखापर्ने गर्दछन् । फ्लु इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरूवा रोग हो ।
यो जाडो महिनाको सुरूवात र अन्ततिर बढी मात्रामा देखिने गरेको पाइन्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा संक्रमण हुन्छ । त्यस्तै, संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अर्को व्यक्तिले प्रयोग गरेमा पनि सर्न सक्छ । जाडो मौसममा आगो ताप्ने तर सावधानीपूर्वक, न्यानो लुगा लगाउने, झोलिलो पदार्थ खाने लगायतका काम गर्न सकिन्छ । चिसोको कारण झ्याल ढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ । तर, कतैबाट हावा नै नछिर्ने गरी बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या देखिन सक्छन् वा मृत्यु नै पनि हुन सक्छ ।
जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वाहिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ । जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाइ पनि बढ्न सुरू हुन्छ । चिसोको पारोसँगै दुखाइ पनि बढ्ने भएपछि बिरामीलाई चिसो समय नआइदिए हुन्थ्यो जस्तो लाग्छ । बाहिरी तापमानमा उचारचढाव आएसँगै त्यसले मानिसको शरीरमा सिधै असर गर्छ । तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ ।
जाडोबाट बच्नका लागि न्यानो कपडा लगाउनुपर्छ । टोपी, मफलर, पञ्जा र मोजा लगाउन बिर्सनु हुँदैन । विशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ । त्यसैगरी बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ । जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ । चिसोमा सरूवा रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्छ । नियमित साबुन पानीले हात धुने र शरीर फूर्तिलो राख्न बेला–बेलामा नुहाउनुपर्छ । चिसो पानीभन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ ।
त्यसैगरी मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुँदैन । बिहान–बेलुका बढी जाडो हुने भएकोले घरभित्रै बस्नुपर्छ । स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ । फलफूल तथा तरकारी, भिटामिन सी, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरू लगाउनुपर्छ । साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ । चिसोले छालालाई सोसेर सुख्खा बनाइदिन्छ । जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरि फैलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिए जस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ ।
चिसौ मौसममा रूघाखोकी पनि लाग्ने गर्दछ । रूघाखोकी मात्रै होइन योसँगै एलर्जी पनि हुन्छ । रूघाखोकीबाट बच्न बाटोमा हिँड्दासमेत धुलोबाट जोगिने गरी मास्क लगाएर हिँड्नुपर्छ । साधारण खाले रूघा छ भने घरेलु उपायले नियन्त्रण गर्न सकिन्छ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती रोगी, बूढाबूढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । वातावरण प्रदूषण र चिसोलगायतका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । बढ्दो सवारी साधनको प्रयोगबाट निस्कने धुवाँ, धुलो तथा निर्माणाधिन संरचनाहरूबाट निस्केका धुलोको कणहरूले श्वासप्रश्वासमा समस्या देखिन्छ ।
चिसोको प्रभाव हाडजोर्नीमा पनि समस्या देखिन्छ । मौसम परिवर्तनका कारण मासुलगायत नसामा समस्या देखिन्छ । बाथ, युरिक एसिडलगायतका समस्या देखिने भएकाले विषेश सावधानी अपनाउनुपर्छ । चिसोको समयमा सुगर, रक्तचाप लगायतका समस्या देखिने हुन्छ । यसमा पनि थप संक्रमण हुँदा अवस्था जटिल बन्न जाने हुन्छ । चिसो समयमा देखिने जटिल तथा प्राणघातक रोग हृदयघात पनि हो । चिसोले रागतका नसा खुम्चने तथा साँघुरो हुने गर्छ जसले गर्दा हृदयाघातको जोखिमलाई बढाउँछ ।
जाडोयाममा न्यानो लुगाबाट हुने छालाको एलर्जी पनि प्रमुख समस्या हो । स्वीटर, ज्याकेटलगायतका बाक्ला लुगाहरू प्रकृति अनुसार एकपटक घाममा सुकाएर, धोएर वा इस्त्री लगाएर मात्र ओढ्नुपर्छ । जाडो महिनामा शरीरको तापलाई सन्तुलित राख्न बढ्ता शक्ति चाहिन्छ । त्यसैले, कार्बोहाइड्रेट तथा चिल्लोयुक्त खानाहरू खानु राम्रो हुन्छ । सुगर, उच्च रक्तचाप, कोलेस्टेरोल आदिको समस्या भएकाहरूले चिल्लो पदार्थ भएका खानेकुरा नखानु बेस हुन्छ ।
छालामा आउने समस्याबारे सावधानी
चिसो बढेसँगै धेरै छालाको रोग देखापर्ने गर्दछन् । चिसोले असर गर्ने हुँदा यो मौसममा छालामा धेरै समस्या देखिने गर्छ । त्यही असरका कारण छाला फुस्रो हुन्छ । छाला फुस्रो भएपछि फुट्दै जाने र चिरा पर्ने हुन्छ । कडा औषधि खाएको बिरामी, किड्नी ट्रान्सप्लान भएको, अरू डाइबेटिज भएका व्यक्तिमा छालामा सुख्खा हुने, चिलाउने समस्या धेरै देखिन्छ । मुख्य कारण भनेको चिसो नै हो किन भने बाहिरको आर्द्रता हुन्छ । त्यो पहिला र अहिलेमा धेरै फरक हुन्छ । जाडोमा पसिना पनि आउँदैन, पानी पनि कम पिउने बानी हुन्छ । बाहिरको वातावरण पनि सुख्खा हुन्छ र छालामा सुख्खापन बढ्दै जान्छ । यो समस्या जो घरभित्र नै बस्नु भएको छ कम उहाँहरूमा देखिन्छ । त्यसमा पनि आगो ताप्ने, बाहिर बाइक, साइकल चलाउने र बसमा पनि झ्यालहरू खोलेर बस्दा धेरै हावाले हानेर सुख्खापन बढ्छ ।
जाडोमा तातोका लागि लगाइने उनीको र रङ्गिन कपडाले गर्दा पनि एलर्जी हुन्छ । वृद्धाहरूमा खानपानको समस्याले यो असर देखाउन सक्छ । पानी कम पिउने कारणले पनि छाला सुख्खा हुने र चिलाउने हुन्छ । खेतबारीमा काम गर्ने वा होटलमा काम गर्ने मान्छेहरूमा जाडोको बेला चिसो पानी खेलाउनु पर्ने हुन्छ । त्यो चिसो पानी खेलाए पनि उहाँहरूको छाला चिसो र सुख्खा हुन्छ । जाडो महिनामा चिसो मानेर धेरै ननुहाउने गर्दा धेरै समस्या देखिन्छन् । यस्ता समस्या एकबाट अर्कोमा पनि सर्छन । गर्मीको समस्या पनि जाडोमा आइराख्छ । बढी अल्कोहल पिउँदा पनि पानीको मात्रा कम बनाई दिन्छ । यो इन्फेक्सन कारणले हो । जथाभावी क्रिमको प्रयोगले पनि छालामा समस्या ल्याएको छ । छालामा कुन लेबलको क्रिम हामीले लगाउने, शरीरको कुन भागमा कुन लगाउने, बच्चामा के लगाउने त्यो सबैलाई थाहा हुँदैन । पसलमा जाँदा जुन पनि पाइन्छ । त्यो मिलेन भने छाला नै बिग्रिन सक्छ । त्यसैले छाला रोग विशेषज्ञलाई नै सोधेर उपचार गर्दा धेरै राम्रो हुन्छ ।
कपालमा चाया आउने हुन्छ । कपालमा आउने चाया भनेको छालाको माथिल्लो तह विस्तारै उकिदै जाने हुन्छ । यो फंगस इन्फेक्सन भयो भने ढुसी आउने पनि हुन्छ । यसबाट बच्ने उपाय भनेको सधैँ एउटै स्याम्पुको प्रयोग गर्ने हो । कहिलेकाहिँ चायाँ देखिहाल्यो भने एन्टिडेन्ट्रफ लेखेको स्याम्पुको प्रयोग गर्दा हुन्छ । कसैलाई चाया परेको छ भने उसले प्रयोग गर्ने काइँयो, तौली, हेल्मेट अरूले प्रयोग नगर्ने किनभने यो एकबाट अर्कोमा सर्दै जान्छ ।
कपडा धुँदा पनि आफ्नो सिरानीको खोल, टोपी छुट्टै राखेर धुनु राम्रो हुन्छ । हेल्मेटहरू धोइराख्ने र जैतनको तेल, नरिवलको तेल, तोरीको तेलहरू हाली राख्ने । धेरै नै चाया आयो भने विषेशज्ञ डाक्टरको औषधि अनिवार्य रूपमा लिनुपर्छ । पहाडतिर रिट्ठा भन्ने पाउँछ, त्यो लगाउँदा पनि हुन्छ । एलोभेरा मिसिएको स्याम्पु लगाउँदा पनि हुन्छ । छाला भनेको हाम्रो शरीरको संवेदनशील भाग हो । यसलाई तातो र चिसो दुबैबाट बचाउनु पर्दछ । बिहान उठ्ने बित्तिकै सफा पानीले मुख धुने, मुख पुछ्ने तौली पनि आफ्नो छुट्टै बनाउनुपर्छ । मुख पुछ्दा पनि घोटेर होइन विस्तारै ट्याप–ट्याप गरेर पुछ्ने जसले गर्दा छाला माडिने, रातो हुने हुँदैन ।
अनुहारलाई धेरै सुख्खा नबनाउने । पहिलादेखि जे लगाएको छ त्यो लगाउने । बच्चाको लागि तेल लगाउने, लोसन लगाइदिने गर्नुपर्छ । ठूलो मान्छेहरूले पनि राम्रो फेसवास गर्ने र सन्स क्रिमहरू लगाउने । दिनमा ३ देखि ४ पटक प्रयोग गर्न सकिन्छ । कपालमा पनि ठूलो दाँत भएको काइँयो प्रयोग गर्ने, कपाल धेरै छरिएको छ भने स्याम्पु लगाएपछि कन्डिसन प्रयोग गर्न सकिन्छ । पूरै शरीरमा मोइस्चुराइजर क्रिम लगाउन सकिन्छ । हात र खुट्टामा बाक्लो गरेर लगाउँदा हुन्छ । एक पटक मोइस्चुराइजर लगाउँदा दुई दिनसम्म पुग्छ । पानी धेरै पिउने र पिसाब पनि गरिरहने गर्नुपर्छ । धेरै पानी खाएन भने पत्थरी हुन्छ ।
हामी गहुँ गोरो छाला भएको कारणले क्यान्सर हुन्छ कि भनेर डराउनु पर्दैन । हाम्रो स्किनको लागि खानपिन महत्वपूर्ण हुन्छ । त्यसको लागि रक्सी चुरोटहरू धेरै नखाने, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट वाटर सबै भएको खाने, सागपात बढी खाने, कुन खानाले एलर्जी भयो त्यो पत्ता लगाएर त्यो नखाने । एक पटक कडा क्रिमहरू लगाउँदा पछि नर्मल हुँदैन र धेरै इन्फेक्सन हुन्छ । केही अरू समस्या आएमा नजिकको छाला रोग विशेषज्ञकोमा जाने र सल्लाह लिने गर्नुपर्छ । जाडो बेला गोजीमा सानो बट्टामा मोइस्चुराइजर बोकेर हिँड्ने र समय समयमा हात खुट्टामा लगाई राख्ने गरेमा झन् राम्रो हुन्छ । धेरै चिसोको बेला एकै पटक तातोमा नबस्ने गर्नुपर्छ ।
खानपानमा ध्यान दिऔं
धेरैजसो व्यक्तिहरू चिसो सुरू भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रूघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट प्रायः सबैलाई चिन्तित बनाउँछ । मंसिरको अन्त्य हुँदै गर्दा पुस लाग्दै गर्दा जाडो बढ्न थालिसकेको छ । जाडोमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई छाला, रूघाखोकी र श्वासप्रश्वासको समस्याले बढी सताउँछ । अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, रक्तचाप, हाइपोथर्मिया लगायतका रोगले सताउने गर्दछ ।
जाडो मौसमसँगै सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले मानिसमा तापक्रममा आएको कमीले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर गर्छ । बढी चिसोका कारण हाइपोथर्मिया भएर मानिसको मृत्यु हुनसक्ने भन्दै जाडो मौसमका रोगबाट बच्न बाक्लो कपडा लगाउनुका साथै न्यानो ठाउँमा बस्ने, हिटर ताप्ने, आगो ताप्ने गर्नुपर्छ । खाने कुरामा पनि विषेश ध्यान दिनुपर्छ । आयुर्वेदतर्फ सितोपलादी चुर्ण, चिया खानुपर्दा तुलसीको पात राखेर खानुपर्छ । मह पनि तातो पानीमा मिसाएर खान सकिन्छ ।
यो समयमा दमका रोगिहरू, बाथका रोगीहरू, सुगरका रोगीहरू पनि बढी प्रभावित हुने गर्छन् । सकेसम्म घरबाट बाहिर निस्कुनुभएन् । बाहिर निस्कनै परेमा न्याने कपडा लगाउनुपर्छ । यो समयमा तातो पानी पिउनुपर्छ । चियाँ खाँदा पनि आयुर्वेदिक औषधि बेसार, कागतीघाँस, मह खानुपर्छ । आयुर्वेदकै संस्थामा गएर आयुर्वेदिक औषधि खरिद गर्छु भनेपछि सेतोपलादी चुर्ण र मह किनेर खानुप¥यो । त्यस्तै च्यावनप्रास पनि राम्रो हुन्छ । यो समयमा च्यावनप्रासको सेवनले वृद्धवृद्धा, बालक सबैलाई फाइदा गर्दछ ।
त्यसैगरी यो समयमा ओठ सुक्खा भएर रातो हुने, सुन्निने र फुटेर रगत आउने हुन्छ । जाडोयाममा सुक्खा हावाले छालाको ओसिलोपना हराउँदै जाँदा ओठ, कुर्कुच्चालगायत शरीरका अन्य भागका छाला फुट्ने हुन्छ । त्यस्तो भएको बेला सुन्तला, कागती खाँदा त्यसको रसमा हुने अम्लीय पदार्थले समस्या बढाउँछ । त्यस्तो बेला ओठमा मह, घ्यू वा नरिवलको तेल दल्दा फाइदा गर्छ । जाडोमा घाम ताप्न सबैलाई मन लाग्छ । घर वा अफिसमा ग्याँस वा हिटर प्रयोग भएको छ भने हावालाई आर्द्र बनाइराख्ने उपाय अपनाउनुपर्छ, प्रशस्त पानी पनि पिउनुपर्छ । हात–गोडा फुट्ने समस्या भएकाहरूले एक्कासी धेरै तातो वा धेरै चिसो हुने काम गर्नुहुँदैन । भाँडाकुँडा वा कपडा धुँदा कि तातो कि त चिसो पानी चलाउनुपर्छ ।
जाडोयाममा न्यानो लुगाबाट हुने छालाको एलर्जी पनि प्रमुख समस्या हो । स्वीटर, ज्याकेट लगायतका बाक्ला लुगाहरू प्रकृति अनुसार एकपटक घाममा सुकाएर, धोएर वा इस्त्री लगाएर मात्र ओढ्नुपर्छ । जाडो महिनामा शरीरको तापलाई सन्तुलित राख्न बढ्ता शक्ति चाहिन्छ । त्यसैले, कार्बोहाइड्रेट तथा चिल्लोयुक्त खानाहरू खानु राम्रो हुन्छ । सुगर, उच्च रक्तचाप, कोलेस्टेरोल आदिको समस्या भएकाहरूले चिल्लो पदार्थ भएका खानेकुरा नखानु बेस हुन्छ ।
बालबालिकाको स्वास्थ्यमा चनाखो बनौँ
अहिले जाडो मौसम छ । जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रूघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरूको समस्या हो । रूघाखोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो । बालबालिकालाई स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्छ । तर बालबालिकामा कुनै–कुनै स्वास्थ्य समस्यामा भने मौसमी प्रभाव पनि हुन्छ ।
जाडो मौसममा बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ । बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रूघाखोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ । जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ । शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट अर्कोमा सर्ने सम्भावना बढी हुन्छ। यसले गर्दा जाडो मौसममा सरूवा रोगको जोखिम पनि हुन्छ ।
चिसोमा सरसफाई गर्न बालबालिकाले गल्छी गर्ने र अभिभावकले बेवास्ता गर्दा सरसफाईको कमी हुन जान्छ । जसले गर्दा रूघाखोकी, रूघाखोकीका कारण हुने निमोनिया र सरसफाईको कमीले हुन सक्ने रोग र संक्रमणको जोखिम बालबालिकामा बढी हुनसक्छ । मौसमी रूपमा श्वासप्रश्वासजन्य रोगहरू, मौसमी रूघाखोकी, निमोनिया र भाइरल डायरियाका बिरामी आउने गरेका छन् ।
झाडापखाला भन्ने वित्तिकै मानिसहरूले गर्मी मौसममा फोहोरका कारणले हुन्छ भन्ने सोचाइ राख्छन् तर जाडो मौसममा चिसोका कारण हुने संक्रमणले भाइरल पखाला गराउन सक्छ । बोल्न सक्ने उमेरका बालबालिकाले चिसो लागेको कुरा आफ्ना अभिभावकलाई भन्न सक्छन् । तर नवजात शिशुलाई चिसो लागेको कुरा अभिभावकलाई भन्न सक्दैन । यस्तो अवस्थामा आमाबुबाले नवजात शिशुमा देखिएको लक्षण र व्यवहार हेरेर चिसो लागेको थाहा पाउनुपर्ने हुन्छ ।
विशेषगरी नवजात शिशुको शरीर चिसो छ भने चिसो लागेको हुनसक्छ । आमाले शिशुलाई स्तनपान गराउँदा शिशु न्यानो छ वा चिसो छ भन्ने थाहा पाउन सक्छिन् । शिशुलाई दूध चुसाउँदा आमाको छातीमा टाँसेर राख्ने क्रममा यदि बच्चा चिसो छ भने चिसो लागेको हुनसक्छ । नवजात शिशुमा भएको चिसोपना हातखुट्टा, तालु, पैतालामा छाम्दा आमाले चिसो महसुस गरेर थाहा पाउन सकिन्छ । यस्तै ठूलो बच्चालाई चिसो लागेमा ऊ काम्न सक्छ । शरीरले नछोपिएका भागहरू बढी चिसो हुन्छ, हातका औंलाहरू कठ्यांग्रिएको हुनसक्छ ।
यसरी चिसो लागेको थाहा पाउन सकिन्छ । धेरै अभिभावकले के खायो भने बच्चालाई चिसो लाग्छ ? कस्तो खानपानले चिसोबाट बचाउन सकिन्छ भनेर सोध्नुहुन्छ । चिसो मौसममा बाहिरी वातावरण चिसो हुने भएकाले पानीको प्रयोगले चिसो हुनसक्छ । चिसो मौसममा राम्रोसँग बाक्लो कपडा नलगाउँदा पनि चिसो लाग्छ । कतिपयले चिसो मौसममा यस्तो खानु हुँदैन, उस्तो खानु हुँदैन भनेर छुट्याउनु हुन्छ । खासमा खानेकुराकै कारण चिसो लाग्ने भन्ने हुँदैन । तर चिसो लागेका बालबालिकालाई चिसो खानेकुरा खुवाउँदा भने चिसो बढ्ने र स्वास्थ्यमा समस्या देखिने सम्भावना हुन्छ ।
चिसोबाट बालबालिकालाई बचाउन विशेषगरी टाउको न्यानो बनाउनुपर्छ । त्यसैले बालबालिकालाई कान छोपिने गरी टोपी लगाइदिनु पर्छ । बालबालिकालाई न्यानो राख्न शरीरलाई मात्र नभई हातखुट्टा र टाउकोमा पनि चिसो नपस्ने गरी कपडा लगाइदिनुपर्छ । चिसोको समयमा प्रशस्त मात्रामा झोल खानेकुरा खुवाउनुपर्छ । चिसोबाट बचाउने नाममा धेरै तातो खानेकुरा खुवाउनु पनि हुँदैन । मनतातो खानेकुरा खुवाउनुपर्छ ।
चिसो मौसममा बालबालिकामा लाग्ने कस्तो रूघाखोकी कडा खालको हो भनेर चिन्न सक्नुपर्छ । साधारण रूघाखोकी लाग्ने बित्तिकै अस्पताल नै आइहाल्नु पर्दैन । तर नवजात शिशुमा खतराका लक्षण वा चिह्न अर्थात् शिशु ज्यादै चिसो भएमा, शिशुले आमाको दूध नचुसेमा, शिशुलाई श्वास फेर्न गाह्रो भएमा र शिशुलाई धेरे कोखा हानेमा तुरून्त अस्पतालमा लैजानुपर्छ । ठूला बालबालिकाको हकमा पनि उच्च ज्वरो भएमा, राम्रोसँग खाना नखाएमा, छिटोछिटो श्वास फेरेमा श्वास फेर्दा कोखा हानेमा अस्पताल ल्याउनुपर्छ ।
अभिभावकले बालकालिकालाई चिसोबाट बचाउन विभिन्न उपाय अपनाएका हुन्छन् । चिसोबाट बचाउने पहिलो उपाय भनेको बच्चालाई न्यानो कपडा, पञ्जा, मोजा, टोपी लगाइदिनु पर्छ । जसले गर्दा बालबालिकाको शरीर न्यानो हुन्छ । तर वातावरण नै तातो राख्नलाई कोठा तातो, न्यानो पार्नु पर्छ । त्यसका लागि कोइला, हिटर वा आगो बाल्ने चलन छ । यसरी आगो, कोइला वा हिटरको प्रयोग गर्दा सावधानी भने अपनाउनु पर्छ ।
हिटर आगो वा कोइलाको नजिक बस्दा पोल्ने सम्भावना हुनुका साथै कोठामा कार्बोनमनोअक्साइडको कारणले गर्दा श्वास फर्न गाह्रो भई बालबालिका बेहोस हुने सम्भावना रहन्छ । त्यसैले हिटर, आगो वा कोइलाको प्रयोग गर्दा झ्याल–ढोकाबाट हावा प्रवाह हुने वातावरण बनाउनुपर्छ । कोठालाई तातो बनाउने भन्दै भेन्टिलेसन नै नभएको कोठामा झ्याल–ढोका बन्द गरेर कोइला, आगो वा हिटर बाल्नु हुँदैन । चिसोका कारण बालबच्चाको हातखुट्टा सुन्निएको छ, फोका आएको छ, छालामा समस्या आएको छ वा स्वास्थ्य अवस्था बिग्रिएको छ भने अस्पताल लैजानुपर्छ । बालबालिकालाई चिसोका कारण हुने खतराका चिह्नहरू जस्तैः निमोनियाका लक्षण देखियो, जलवियोजन भयो भने चिकित्सक चिकित्सकले सिफारिस गरेको औषधि खुवाउनुपर्छ ।