अहिले पर्यटनका धेरै कुरा उठ्ने गर्दछ । घुमफिरको लागि देश विदेशका विभिन्न स्थानको चर्चा हुन्छ । तर ‘नजिकको तीर्थ हेला’ भनेझै आफ्नै जिल्ला वरपरका पर्यटकियस्थलमा भने धेरैजना पर्यटकहरू पुग्दैनन् । लुम्बिनी प्रदेशको दाङ देउखुरी उपत्यकामा पर्ने ऐतिहासिक जंगलकुटी थारू संस्कृति र पर्यापर्यटनको लागि पुग्नै पर्ने स्थान हो । जंगलकुटी गढवा गाउँपालिकाको गोवरडिया गाउँको दक्षिण चुरे–पहाडको डुंडुवा पहाडको काखमा पर्दछ । बाबानाथ बाबाको ध्यान केन्द्र प्राकृतिक हरियाली जंगलको बीचमा चिमचिमे खोला र सुपौला खोलाको बिचमा पर्दछ ।
चारैतिर घना जंगल, दुर्लभ जडिबुटी, सयौँभन्दा बढी प्रजातीका चराचुरूङ्गी र जंगली जनावर पनि जंगलकुटी जंगलमा रहेका छन् । जंगलकुटीमा आँपका बगैचाले पर्यटकहरूलाई मोहित गराई दिन्छ । वन्यजन्तु र पंक्षीका लागि ओहोरदोहोर गर्ने जैविकमार्ग र आश्रयस्थल पनि जंगलकुटीको जंगलमा छ ।
चुरे पहाडको जंगलमा दुर्लभ मानिएका वनस्पतिहरू रानी थाकल अर्थात् साइकस पेक्टिनाटा र रूख उन्यू अर्थात् सेथिया स्पिनुलोसा पनि जंगलकुटीको जंगलमा पाइन्छ । रूदिलो, पाषणभेद, सिकारी लहरो, धएँरोजस्ता औषधिजन्य विरूवा पनि जंगलकुटीको जंगलमा देख्न सकिन्छ । जंगलकुटी पुग्ने कतिपय ग्रामीण पर्यटक वन विहारसमेत गर्न रूचाउँछन् ।
जंगलकुटीको वरपर चुरे श्रृंखलामा रहेको वनमा घुम्ने चरा चुरूङ्गीहरूको आवाजमा रमाउने, चराहरूको फोटो खिच्ने मात्र होइन पर्यटकहरू वनको छहारीमा बसेर रमाइलो समेत गर्दछन् ।
थारू समुदायको धार्मिक आस्थाको केन्द्रविन्दु रहेको जगंलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कुटी क्षेत्रमा अतिथि गृह, शौचालय, पिकनिक स्पोर्ट निर्माण र मन्दिर क्षेत्रलाई सुरक्षित राख्न पुरानो संरचना नबिग्रने गरी भवनको चारैतर्फ पिलरसहितको छत निर्माण भएको छ । देउखुरी उपत्यका धेरै गाउँहरू थारू जातिको पर्दछ । थारू भाषामा गोभडिवाको अर्थ हुन्छ गोभी हुने ठाउँ भन्ने अर्थ लाग्दछ । थारू समुदायले राखेको नाम गोभडिवाबाट बोल्दै जाँदा पछि गाउँको नाम गोवरडिया भएको मानिन्छ ।
जंगलकुटीमा ऐतिहासिक तथा पुरातात्विक महत्वसमेत रहेको छ । सिद्धि प्राप्त गरेका भूवनेश्वरनाथ बाबा बाघमा चढेर जंगलदेखि थारूगाउँमा घुमघाम गर्ने भएकाले उनलाई बाघनाथ भन्न थालिएको हो । कुटीमा बाघनाथ बाबाको पूजाअर्चना हुने गर्दछ । जंगलकुटीमा माघे संक्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ । यो बाहेक दशैँ, तिहार, शिवरात्रि र चैते दशैँमा समेत तीर्थाटनका पर्यटकहरूको भिड लाग्ने गर्दछ । कुटीमा बाबाले प्रयोग गर्ने खराउ, खाट, पूजाको सामग्री, ओछयानलगायत पुरातात्विक सामग्रीहरू रहेका छन् । अर्कोतर्फ आजभन्दा १९८ वर्षअघि बालिएको अगेनाको आगो अहिलेसम्म रहेको छ ।
बाघनाथ बाबा बुटवलको चारपाला कुटीबाट वि.स.१८७९ मा जंगलकुटीमा आएर हुन । सिद्ध बाघनाथ बाबा कुटीमा एक्लै वस्ने गर्नुहुन्थो । गाउँघरमा डुल्दा बाघमा चडेर घुम्नु हुन्थो । जंगलकुटी वरपर रहेको चुरे श्रृंखलाको जंगलमा बाघको बासस्थान थियो । बाघनाथ बाबा वन्यजन्तुहरूको भाषा बुझ्नु हुन्थो । बाबाको कुटीमा वन्यजन्तु बाघ, भालु, मृग, जरायो जस्ता जनावर वरपर घुम्ने गर्दथिए । सुन्दर बगैचा भित्रको कुटीमा बाबाको दैनिक योग अभ्यासका क्रियाकलावमा दिन बित्ने गर्दथियो ।
अबको पर्यटनको विकास इतिहासले मात्र हँुदैन । इतिहाससँग जोडिएका पर्यटकहरूलाई आकर्षण गर्न सक्ने पूर्वाधारहरू निर्माण गर्नुपर्दछ । ग्रामीण विकासका लागि मुख्य आधार पर्यटन हो । तर, पर्यटकलाई तान्न सक्ने अग्ला हिमाल, मनोरम ताल र सुन्दर प्राकृतिक छटाहरू सबैतिर छैनन् ।
त्यसैले बाघनाथ बाबा योगको ज्ञाता हुनुहुन्थो । उहाँले योग साधना गर्दा जमिनमुनी गुफा बनाएर प्राणयाम क्रिया गर्ने बानी थियो । गोवरडियाका उल्टाहा थारूजाति बाबाको सहयोगी थिए । बाघनाथ बाबा गाउँघरमा डुल्दा कुनै मानिस बिरामी भयो भने जडिबुटीको औषधी दिने, किसानहरूको खेतीमा किरा लाग्यो भने तन्त्रमन्त्रबाट किराहरूलाई मारिदिने, सन्तान नभएकाहरूलाई सन्तानको बरदान पनि दिने गर्नुहुन्थो । बाघनाथ बाबाले जंगलकुटीमा करिव नौ बिघा क्षेत्रफलको जमिनमा आँपको बगैचा पनि लगाउनु भएको छ । जंगल फडानी गरी आँपको बगैचा लगाउदा त्यो समयमा उहाँलाई सरकारले पक्राउसमेत गरेको थियो ।
तर सिद्ध बाघनाथ बाबालाई उहाँको योग तपस्या र चमत्कारी साधनाले गर्दा कारवाही भने भएन । जुन कारणले बाघनाथ बाबा थारू समुदायको लागि ईश्वरीय शक्तिको रूपमा हुनुहुन्थो । थारू समुदायले उत्पादन गरेका अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाउने परम्परा अहिले पनि छ । थारू समुदायमा उत्पादन गरेको अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाउँदा बाबाको आशीर्वाद सधैँ प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजभोलि जंगलकुटीमा हरियाली वनमा रमाउने र पिकनिक जाने ग्रामीण पर्यटकहरू पुग्ने गर्दछन् । जंगलकुटीको पिकनिकस्थलमा पुगेर नाचगान गर्न पाउँदा सबै पर्यटकहरू रमाउँछन् । पिकनिक स्पोटमा युवायुवती, स्कुलका विद्यार्थी, संघसंस्थाका मानिसहरू जंगलकुटीमा पुग्दछन् । जंगलकुटीमा पुग्ने पर्यटकहरूलाई चुरे पहाडको टुप्पोमा रहेको भ्यूटावरले अर्को आनन्द दिन्छ । प्राकृतिक रूपमा रहेको भ्यूटावरबाट सेल्फी फोटो लिने मात्र होइन देउखुरी उपत्यकालाई क्यामेरामा कैद गर्नसमेत भ्याउँदछन् ।
यो स्थलबाट हेर्दा देउखुरी उपत्यकाको अधिकांश भू–भागको दृश्य देख्न सकिन्छ । राप्ती नदीको नागबेली आकृती, उर्वरा खेतीयोग्य भूमि, राजमार्ग दायाँ, बायाँमा बाक्लो बस्तीको मनोरम दृश्य पहाडको चुचुरो अर्थात् प्राकृतिक भ्यूटावरबाट अवलोकन गर्न पाउँदा पर्यटकहरू रमाउँछन् । जंगलकुटीमा पुग्ने पर्यटकहरू थारू जातिका बारेमा अध्ययन गर्न रूचाउँछन् । थारू जातिको उत्पत्तिका सन्दर्भमा कतिपय विद्वान्हरू थारू जातिको पूर्खालाई मंगोलियन हुन् भन्दछन् भने कतिले आर्य राजपूतका वंशज मान्दछन् ।
थारू जातिका उत्पत्तिको विषयमा अध्ययन, खोजी लामो समयदेखि चल्दै आएको छ । थारू चितौर, राजपुतानामा मुसलमानको आक्रमण भएपछि राजपूतहरूले १२औँ शताब्दीतिर घरका महिलाहरूलाई सुरक्षाका लागि उत्तर पहाडतिरका जंगलहरूमा पठाएका थिए । ती महिलाहरूले धेरै प्रतीक्षा गर्दा पनि आफ्ना श्रीमान् फर्केर नआएपछि त्यहीँका जातिका र आफूसँग आएका नोकर–चाकरहरूलाई श्रीमान्का रूपमा स्वीकारेर घरजम गर्न पुगे ।
यसरी जन्मेका सन्तान नै थारू भएका हुन् भन्ने भनाइ पनि छ । जुन कारणले थारू जातिमा थरूनी घरमुली हुन्छन् । यो जाति मातृ सत्तात्मक जाति हो । थारूहरू थरूनीलाई रानी भन्दछन् ।
दंगोरिया अर्थात् दङ्गाली थारू जाति धेरैजसो दाङ देउखुरी, बाँके र बर्दियामा छन् । थारू समुदाय चाड, पर्व, संस्कृतिको धनी समुदाय हो । मघौटा नाच, सखिया नाच, लठ्ठी नाच, तरवार नाच, छोक्रा नाच, बर्का नाच, मुङ्ग्रहवा नाच, झुम्रा नाच, हुर्दुङ्ग्वा नाच, राम झुम्मर नाच, दश्या नाच थारू समुदायका मौलिक पहिचान हुन् ।
तर दाङ र देउखुरी उपत्यकामा रहेका थारू समुदायहरूको बीचमा भाषा र संस्कृति पनि केही फरक छ । दाङ उपत्यकाका थारूहरूले माघी पर्व मनाउँछन् भने देउखुरीका थारूले माघी पर्व मनाउँदैनन् । तर दाङबाट बसाइँ सरेकाले भने आफ्नै प्रचलनअनुसार पर्व मान्ने गरेको पाइन्छ । यस्तै दाङका थारूले बड्का नाच नाच्दछन् भने देउखुरीका थारूले बड्की नाच नाच्ने गर्दछन् । यो एउटा उदाहरण मात्र हो । देउखुरी र दाङका थारू समुदाय चाडपर्व, संस्कृतिमा धेरै फरक पाइन्छ ।
जंगलकुटीमा पर्यटनको विकास गर्न थारू जातिको संस्कृतिलाई संरक्षण गर्नु पर्दछ । पर्यटन र वातावरण एकअर्कामा जोडिएको सम्बन्ध हुन्छ । किनभने घुमफिर गर्ने पर्यटकहरूलाई अनुकूलको वातावरण भएन भने ती ठाउँमा जान चाहन्नन् । प्रकृतिबाट प्राप्त वातावरणलाई जंगलकुटीले संरक्षण गर्नुपर्दछ । वन जंगलका जीवजन्तु, वनस्पति हावापानी आदि सबै कुराहरू वातावरणभित्र पर्दछन् । सामान्यतया पर्यटकहरू आफ्नो व्यस्त जीवनबाट समय निकालेर केहीबेर अर्थात् केही दिन त्यस्तो स्थानमा यात्रा गर्न चाहन्छन् ।
पर्यटकहरूले घुमफिरको लागि यस्तो ठाउँ रोज्दछन् जहाँ कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट व्यहोर्नु पर्दैन । स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुशी प्राप्त गर्नुनै पर्यटकको मुख्य उद्देश्य हुन्छ । पर्यटकका लागि अति रोमाञ्चक, आनन्ददायी, अनौठो मनमोहक स्थान मन पर्दछ । जसमा सबैखाले पर्यटकहरू रमाउन सक्दछन् । जगंलकुटीमा पर्यटनको विकास गर्दा यी कुरामा ध्यान दिन जरूरी छ ।
जंगलकुटी दक्षिण र पूर्वि भूभागका चुरे श्रृंखलाको पहाड प्राचिन सभ्यताको धरोहर भूमि मानिन्छ । यस क्षेत्रमा कपिल महर्षिको तपोभूमि मानिन्छ । जुन ठाउँ अहिले कपिलवस्तु जिल्लाको शिवगढी पर्दछ । देउखुरी उपत्यका थारूका सांस्कृतिक सम्पदा पर्यटकीय गन्तव्य हुन् । थारूका सांस्कृतिक सम्पदा संरक्षण सम्वद्र्धन र प्रवद्र्धनको अभावमा थारू लोक कला संस्कृतिहरू हराउँदै जान थालेका छन् । थारू समुुदाय सांस्कृतिक रूपमा निकै धनी मानिन्छ । पर्यटकहरूले थारू संस्कृति अध्ययन गर्न चाहने पर्यटकहरूका लागि देउखुरी उपत्यका थारू बस्ती उत्कृष्ट गन्तव्य हुन्छ ।
तर सांस्कृतिक पर्यटनको लागि आवश्यक पूर्वाधारको विकास हुुन भने सकेको छैन । थारू संस्कृतिलाई प्रवद्र्धन गर्न कतै संग्राहलय कतै थारूग्राम नामाकरण गरेपनि पर्यटनको विकासमा भने ध्यान भने पुगेको छैन । जगंलकुटी रहेको गोवरडियाको चुरे श्रृंखला पहाडभन्दा दक्षिण भारतीय सीमासम्म मानवबस्ती पातलो छ । आधुनिक विकासले छुन नसकेको ती बस्तीमध्ये चिमचिमे गाउँको बस्ती ठूलो गाउँ हो । यो गाउँसगं जोडिएको खोला नै दाङ कपिलवस्तुको सिमाना पनि हो । चिमचिमे गाउँ पार गरेपछि कपिलवस्तु जिल्लाको वौराह र कल्याणपुर गाउँ पर्दछ ।
शिवगढी र जंगलकुटी दुवै धार्मिकस्थललाई चुरे पर्वतको पैदल मार्गले जोड्न सके दुवै ऐतिहासिक स्थलको महत्व बढ्न सक्दछ । साथै चुरे पहाडदेखि भारतीय सिमानासम्मको भूभाग पनि संरक्षण गर्नको लागि सुविधा बन्न सक्छ । तर अहिले दुवै धार्मिकस्थल प्रचारप्रसारकै कारण धार्मिक पर्यटकीयस्थलको विकासमा ओझेलमा परेका छन् । दुवै प्राचिनस्थलको बारेमा खोज, अनुसन्धान हुन जरूरी छ ।
अबको पर्यटनको विकास इतिहासले मात्र हँुदैन । इतिहाससँग जोडिएका पर्यटकहरूलाई आकर्षण गर्न सक्ने पूर्वाधारहरू निर्माण गर्नुपर्दछ । ग्रामीण विकासका लागि मुख्य आधार पर्यटन हो । तर, पर्यटकलाई तान्न सक्ने अग्ला हिमाल, मनोरम ताल र सुन्दर प्राकृतिक छटाहरू सबैतिर छैनन् । तर हामीकहाँ धेरै ठाउँमा धार्मिक, सांस्कृतिक सम्पदाहरू पर्यटन विकासका महत्वपूर्ण आधार भएका छन् । देउखुरी उपत्यकाको ग्रामीण बस्तीहरूमा जंगलकुटी मात्र नभएर थारू समुदायसँग जोडिएका अन्य सम्पदाहरू पनि छन् ।
यस्ता धार्मिक, सांस्कृतिक सम्पदाहरू पर्यटनको विकासमा मद्दत पु¥याउँछ । यस्ता पर्यटनसँग जोडिएका ऐतिहासिक सम्पदालाई अध्ययन, संरक्षण, अभिलेखन, व्यवस्थापन र प्रचारप्रसार गर्नुपर्दछ । धार्मिक, सांस्कृतिक सम्पदालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पूर्वाधारको विकास गर्नुपर्दछ । ग्रामीण पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरू गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले विकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको विकास हुन्छ ।
जंगलकुटीमा पर्यटनको विकास गर्न अब होमस्टे सञ्चालन गर्नुपर्दछ । ग्रामीण पर्यटन विकासमा होमस्टेले ठूलो सहयोग पु¥याउँछ । ग्रामीण पर्यटनको विशेष आधार होमस्टे हो । होमस्टेमा पर्यटकहरूलाई पारिवारिक वातावरणमा स्थानीय उत्पादनका परिकारहरू बनाएर खुवाइन्छ । स्थानीय उत्पादनको उपयोग र त्यसको बजारिकरणका साथै अर्गानिक उत्पादनमा होमस्टेले सेवा पु¥याउन सहयोग गर्दछ । अर्गानिक खानपानले पर्यटकहरूको मन जित्ने, सांस्कृतिक कार्यक्रमहरूले आफ्नो कला, संस्कृतिको प्रचारप्रसार गर्ने र स्थानीयस्तरमा आर्थिक प्रगति गर्नको लागि होमस्टेले विशेष सहयोग गर्ने गर्दछ । होमस्टे बिना ग्रामीण पर्यटनलाई अगाडि बढाउन कठिन हुन्छ । प्राकृतिक रूपमा सम्पन्न र स्थानीय मौलिकताले भरिपूर्ण स्थानमा कलाकौशलको आकर्षणका साथमा पर्यटकहरूलाई लोभ्याउन सकिने र आम्दानी गर्न सकिने हामस्टेको उद्देश्य हुन्छ ।
घरमा आएका पाहुनासँग हाँसेर बोल्नु, पाहुनालाई विशेष स्वागत सत्कार गर्नु, आफ्नै परिवारसँगै बसेर ग्रामीण क्षेत्रमा प्राप्त हुने स्थानीयस्तरको खाना खुवाउनु, भलाकुसारी गर्नु, ग्रामीण जनवजीवन र मौलिक सांस्कृतिक रूपमा सामुदायिक परिचय गराउँदै मौद्रिक मूल्यमा परिणत गरी ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने व्यवसाय नै होमस्टे हो ।
ग्रामीण पर्यटन तथा होमस्टेको विकासले पर्यापर्यटन विस्तार, सीप विकास र कृषिमा विविधिकरण र व्यावसायिकरण, वैकल्पिक श्रोतहरूको पहिचान र रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा ठूलो टेवा पुग्दछ । यी सबैकुरा जंगलकुटीमा पर्यटनको विकासमा लागेका सामाजिक संघ÷सस्थाले कार्यान्वयन गर्न जरूरी छ । जंगलकुटी पुग्नको लागि दाङ–बुटवल सडकखण्डको कालाकाटेबाट १६ किमी पश्चिम गढवा–कालाकाटे सडकमा पर्ने गोवरडिया गाउँदेखि ७ किमी दक्षिण चुरे पहाडको काखमा पुग्नु पर्दछ । अथवा लमही गढवा हुँदै गोवरडिया गाउँ भएर पनि जान सकिन्छ ।