आशिष के.सी.
सल्यान, २३ मंसिर ।
नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले देशका नेताहरूले चुनाव ताका चुनाव जित्नकै लागि गठबन्धन गरेर जनताको अधिकार हनन भएको बताएका छन् । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिम जनतालाई सहयोग गरी फर्किने क्रममा सल्यानको श्रीनगरमा नेपाली कांग्रेस सल्यानले गरेको स्वागत कार्यक्रममा बोल्दै नेता शाहीले यस्तो बताएका हुन् ।
कार्यक्रमा बोल्दै शाहीले गठबन्धन गरी चुनाव जितेर नेपाली कांग्रेसले घाटा व्यहोर्नु परेको बताए । अब पार्टी पुरानै शैलीमा चल्न नसक्ने बताउदै नेतादेखि कार्यकर्ताहरू जनताको घर–घरमा पुग्नुपर्ने बताए । दुःखको बेला पार्टीको निर्देशनभन्दा पनि जनतालाई कहाँबाट सकिन्छ त्यहीबाट सहयोग गर्नुपर्ने बताए ।
अझै पनि जनताको जीवनशैली परिवर्तन नभएको सवाल उठाउँदै नेताको मात्रै जीवनस्तर परिवर्तन हुने हो भने जनताले जहाँ जुनसुकै बेला पनि नेताको विरूद्धमा आवाज उठाउने उनले बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टले जिल्लाको पार्टीमा देखिएको समस्या सावधान गर्नको लागि हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।