दंगीशरण, १७ मंसिर ।
दंगीशरण गाउँपालिका वडा नं. ३ मा सञ्चालित वित्तीय शिक्षा र डिजिटल साक्षरतासम्बन्धी ६ महिने तालिमको शनिबार एक कार्यक्रमका बीच समापन गरीएको छ । वडा नं.३ मा सञ्चालित समुन्नति परियोजना अन्तर्गत विभिन्न आठवटा समूहहरूको आयोजना, प्रेक्टिकल एक्सन र डिप्रोक्सको सहजीकरणमा ६ महिने तालिमको समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बदलिँदो समय अनुसार र प्रविधिअनुसार अगाडि बढ्न डिजिटल साक्षरता निकै उपयोगी रहेको बताए । अहिलेको अवस्थामा हरेक कुराको डिजिटलाइज हुने भएकाले आफ्नो व्यवसाय तथा हरेक दैनिक जीवनमा काम लाग्ने कुराहरू तालिमले दिएको प्रति खुशी व्यक्त गरे ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले तालिमले गर्दा आफूहरू मोबाइल चलाउन सक्ने भएको,घरमै बसी विद्युत खानेपानीको बिल तिर्न सक्ने भएको र मोबाइल एप्सबाटै सबै कारोवार गर्न सक्ने भएको बताएका थिए । केही सहभागीले भोलिका दिनमा अझै तालिमको अवधि बढाइ थप तालिम प्रदान गरीदिए आफूहरू अझ धेरै लाभान्वित हुने आशा ब्यक्त गरे ।
समापन कार्यक्रममै बोल्दै प्रेक्टिकल एक्सनका प्रोग्राम अफिसर शिवलाल शर्माले दैनिक जीवनमा काम लाग्ने हरेक कुरामा डिजिटलाइज तवरले अगाडि लगी दैनिक जीवन सहज र सरल बनाउन र परिवर्तित समाज अनुसार अगाडि बढ्न सक्नु आजको आवश्यकता रहेको बताए ।
यस्तै डिप्रोक्स नेपालका उप–निर्देशक कृष्ण न्यौपानेले आम्दानी र खर्चको सही लेखाजोखा गर्न र परिवारलाई सु–व्यवस्थित बनाउन डिजिटल वित्तीय साक्षरता फलदायी हुने बताए । वडा नं. ३ का विभिन्न ८ वटा समूहका महिलाहरूमाझ ६ महिनासम्म दिएको डिजिटल वित्तीय साक्षरता तालिमको समापन अवसरमा प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
समापन कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका सदस्य टोपाराम चौधरीको विशिष्ट आतिथ्यतामा भएको थियो । डब्लुडिसीकी शुष्मा चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण डब्लुडिसीकी सरिता चौधरीले गरेकी थिइन् ।