दाङ, १७ मंसिर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखाको आयोजनामा शनिबार लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । केन्द्रीय प्याब्सनको आयोजना हरेक वर्ष हुँदै आएको राष्ट्रिय लोक नृत्य प्रतियोगिताका लागि जिल्लास्तरीय लोकनृत्य छनौट चरणको कार्यक्रम घोराहीस्थित मेचीकाली आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
प्रतियोगितामा गोरखा मोडेल लमही प्रथम, लिटल एञ्जल राप्ती भालुवाङ द्वितीय र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले तृतीय स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय भएका विद्यालयका विद्यार्थी आइतबार बुटवलमा हुने लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेशको छनौट चरणबाट प्रथम समूह समूह केन्द्रीय प्याब्सनले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुनेछन् ।
जिल्लामा उत्कृष्ट भएका तथा सहभागी विद्यार्थी र विद्यालयलाई आगामी पुस २४ गते प्याब्सनको स्थापना दिवसका अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्द, मेचीकाली आवासीय माविका अध्यक्ष धर्मबहादुर केसीलगायतले मन्तव्य राखेका थिए । प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।