सरद बिष्ट
प्यूठान, १७ मंसिर ।
‘विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत ः जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा’ भन्ने मुलनाराका साथ ३८औं जिल्लास्तरीय नेपाल जुनियर/युवा रेडक्रस सर्कल गोष्ठी जनता मावि ऐरावतीमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, प्यूठान जिल्ला शाखाको आयोजना तथा जनता मावि ऐरावती गाउँपालिका, बिजुली प्यूठानको सहभागितामा मंसिर १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सञ्चालन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा माननीय सांसद धनलक्ष्मी श्रेष्ठ, विशेष अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समिति सदस्य तथा प्यूठान शाखा सभापति गुमानराज पुलामी रहेका थिए ।
कार्यक्रको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाईटी प्यूठान जिल्ला शाखा उप–सभापति, मन्त्री, कार्यसमिति सदस्य, नेपाल जुनियर तथा युवा विकास समिति संयोजक, जिल्लास्थित स्थानीय तहहरू ऐरावती, गौमुखी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न वडाका वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा सम्पूर्ण विद्यालय परिवार, प्यूठान जिल्लास्थित ८२ विद्यालय सर्कलका सहभागी शिक्षक नायक तथा सम्बन्धित विद्यालयका प्रतिनिधित्व हुने गरी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको बन्द सत्रमा जुनियर युवा रेडक्रससम्बन्धी महत्वपूर्ण जानकारी, सर्कल गठन तथा पुनर्गठन प्रक्रिया, सर्कलमार्फत गरिने क्रियाकलाप र सो गतिविधिको रिपोर्टिङ सन्दर्भमा समेत चर्चा गरिएको थियो । ३८औं जिल्लास्तरीय गोष्ठीबाट आगामी वर्षको लागि पालिकास्तरीय कार्यक्रम र जिल्लास्तरीय कार्यक्रमसमेत तय गरिएको र आगामी ३९औं जिल्लास्तरीय नेपाल जुनियर युवा रेडक्रस गोष्ठी बलभद्र मावि बाँदिकोट प्यूठानमा सम्पन्न गर्ने गरि सर्वसहमतिले पारित गर्दै ३८औं रेडक्रस गोष्ठी सम्पन्न्न भएको जिल्ला शाखा सभापति गुमानराज पुलामीले जानकारी दिए ।