Thursday, February 13, 2025
Homeविचारघोडाघोडी पर्यटन र जैविक विविधता 

घोडाघोडी पर्यटन र जैविक विविधता 

- Advertisement -spot_img
अहिले मानिसहरूमा फुर्सद भयो भने घुमफिर गर्ने बानी परेको छ । घुमफिरमा निस्कने पर्यटकहरू प्रकृतिप्रेमी हुन्छन् । प्रकृतिप्रेमी भएपनि मानिस स्वभावले नै प्रकृतिभित्रको विविधता मन पराउँछ । त्यहि कारणले हो, भूपरिवेष्ठित मुलुकका मानिस समुन्द्र देख्दा रमाउँदछन् अनि सामुन्द्रिक भूगोलका मनिसहरू हिमाल र पहाड देखेर रमाउँदछन् । यो नै विविधताभित्रको मानवहरूको स्वभाव । जुन कारणले पर्यटकहरूको घुमफिर पनि यसैमा भर पर्दछ । नेपालमा पर्यटकहरू हिमाल र जैविक विविधता अर्थात् प्राकृतीक, वनस्पति, जनावर, चराहरू आदि हेर्न रमाउँछन् ।
प्रकृतिप्रेमी पर्यटकको घुमफिरले संस्कृति, रितिरिवाज, परम्परा र भ्रमणका क्षेत्रको रहनसहन मात्र होइन प्रकृतिमा हुने जैविक विविधताको समेत अध्ययन हुन्छ । कैलाली जिल्लाको घोडाघोडी ताल जैविक विविधताको क्षेत्र हो । घोडाघोडी तालमा पर्यटकहरूले जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई नजिकबाट अध्ययन गर्न सक्दछन् ।
ताल वरपर देखिने जैविक विविधताले सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन प्रकार तथा तिनिहरू बीचको अन्तरसम्बन्ध पर्यटकहरूका लागि अध्ययनको विषय बन्दछ । घोडाघोडी तालको घुमफिरले पर्यटकको रूचिअनुसार ऐतिहासिक र धार्मिकस्थलहरूको पनि अध्ययन एवं अनुसन्धान गर्न सक्दछन् । घोडाघोडी तालको घुमफिरको उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधता अर्थात् प्रकृतिसँग रमाउने हो ।
विश्व रामसार सूचिमा सूचिकृत नेपालको तालमध्ये घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दरस्थल हो । कैलाली पुग्ने अथवा जिल्ला बाहिरका पर्यटकहरू पूर्व–पश्चिम राजमार्ग भएर कैलाली पुग्न थाले भने घोडाघोडी नपुग्ने विरलै हुन्छन् । नाम मात्र सुनेका पर्यटकहरूको पनि कर्णाली चिसापानी पार गरेपछि ध्यान घोडाघोडी तालले खिचेको हुन्छ अर्थात् पुग्ने उत्सुकता पैदा गरिदिन्छ ।
कैलालीको घोडाघोडी ताल जिल्लाको सबैभन्दा ठूलो ताल हो । यो तालको आकार ७ कोणमा फैलिएको छ । घोडाघोडी ताल वनबहेडा र सुखडको बीचको जंगलमा पर्दछ । योगी नरहरि नाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएका थिए । योगीले घोडाघोडी ताल महाभारत कालभन्दा पनि पहिले नै पवित्र तीर्थस्थल थियो भन्ने कुरा उल्लेख गरेका छन् । घोडाघोडी तालको इतिहास थारू समुदायसँग गाँसिएको छ ।  घोडाघोडी ताल थारू जातिको ७ गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकार मानिसको हातजस्तै छ ।
तालको किनारमा घोडाघोडीको मन्दिर पनि रहेको छ । जुन मन्दिर आदिवासी थारू समुदायको देव थनुवा हो । थारू समुदायले थनुवामा पूजाआजा गर्दछन् भने मन्दिरमा माटाका घोडाहरूको मूर्तिलाई देवताको प्रतिकको रूपमा मान्दछन् । अहिले पनि घोडाघोडी तालको सिमसार क्षेत्र वरिपरि आदिवासी थारू समुदायको गाउँहरू पर्दछ । घोडी (घोरी) र घोडा (घोरा) आदिवासी थारू समुदायका कुल देवता हुन् ।
घोडाघोडी ताल जैविक विविधता र सिमसार क्षेत्रको रूपमा मात्र नभएर खोज अनुसन्धान गर्ने पर्यटकको लागि महत्वपूर्ण मानिन्छ । राजमार्गसँग जोडिएको घोडाघोडी तालमा पछिल्लो समय घुमफिर गर्न जाने पर्यटकहरू डुङ्गामा सयर गर्दै तालमा पाइने विभिन्न थरीका जलजर र थलचर प्राणीको अध्ययन अवलोकन गर्दछन् । शान्त हरियाली वातावरणमा चराहरूको चिरबिर आवाजले पर्यटकहरू रमाउने गर्दछन् । तालक्षेत्र अवलोकनका लागि तालको चारैतिर पर्यटकहरूका लागि पदमार्ग निर्माण भएको छ । तालमा पुगेपछि फोटो, सेल्फी र भिडियो बनाउने पर्यटकहरूको तछाडमछाड गर्दछन् ।
विशेष गरेर युवा पर्यटकहरू टिकटक र फोटो, भिडिओ बनाउने गर्दछन् । हिजोआज घोडाघोडी तालमा जाने पर्यटकका लागि घोडा सवारको समेत व्यवस्था पनि छ । पर्यटकहरूलाई जनजातिको पोशाकमा सजिएर फोटो खिच्न मगर, थारू, गुरूङ जातिहरूको पोशाकसमेत राखिएको छ । केही युवाहरूले सशुल्क पर्यटकहरूको फोटो खिचिदिने टिकटक बनाइदिने पनि गर्दछन् । यो सेवाले पर्यटकहरू खुशी हुन्छन् ।
  नेपालमा पर्यटकीयस्थल र धार्मिकस्थलका बारेमा इतिहास खोज्दै गयो भने, सपना र विजयउत्सवको किम्बदन्ती जोडिएको पाइन्छ । घोडाघोडी तालको बारेमा पनि यस्तै प्रसंग जोडिएको छ ।   घोडाघोडी ताल भएको ठाउँमा प्राचिनकालमा एउटा सुन्दर गाउँ थियो । कुनै दिन रातभर परेको पानीले गाउँलाई तालमा परिणत गरायो । गाउँनै ताल भएपछि त्यस समयका राजाले एक जोडी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन् । अनुगमनमा पठाएका घोडाहरू गन्तव्यमा नपुगी मरेछन् । त्यसपछि ती राजाले त्यो ठाउँ दैवीशक्ति रहेछ भनि मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो ।
घोडाघोडी तालको बारेमा अर्को प्रसंग पनि छ । सत्ययुगको अन्ततिर उछौ श्रावा नामको पाइनदार घोडामाथि तेजस्वी भाइ रेवन्तक वैकुण्ठतिर आउँदै गरेको देखेर लक्ष्मी आशक्त भइछन् । विष्णु भगवानले त्यसलाई सहन गर्न नसकेर लक्ष्मीलाई मृत्युलोकमा गएर घोडीको भेषमा विचरण गर्नु भन्दै श्राप दिएछन् । लक्ष्मी घोडीको रूपधारण गरी यही घोडाघोडी वरपर विचरण गर्न थालिन् । केही समयपश्चात् विष्णु भगवान लक्ष्मीलाई भेट्न घोडाको भेषधारण गरी आए । दुवै यही घोडाघोडी ताल वरपर विचरण गरेको कथा पनि थारू जातिमा रहेको छ ।
करिब ४ मिटर औसत गहिराई भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरूसमेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ । घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र २ सय ४८ हेक्टर क्षेत्रफल जमिन पर्दछ । यसको कुल क्षेत्रफल २ हजार ५६३ हेक्टर रहेको छ । घोडाघोडी ताल तालहरूको माला हो भन्दा पनि हुन्छ । हवाई यात्राबाट घोडाघोडी ताल क्षेत्रलाई हेर्दा यसको आकृति सुन्दर देखिन्छ ।
तालैतालले बनेको संरक्षित क्षेत्रमा विभिन्न प्रजातिका चराचुरूङ्गीको सुरक्षित शान्तअनुकूल बासस्थान रहेको छ । तालमा हरि हाँस, रैथाने हाँस र धेरै प्रजातिका पाहुना पन्छीहरू तालको आनन्द लिन आउँछन् । साइबेरियादेखि आएका पर्यटक चराहरू सिमसार चर्छन् । सिमसार तालमा पालोपालो पौडी खेलेर आनन्द लिन्छन् । पन्छीहरू दौत्य सम्बन्ध कायम गर्न सिपालु हुन्छन् । प्रेम, मित्रता र सदभाव साटछन् । अर्को साल फर्किने वाचा गर्छन् र फर्किन्छन् ।
जन्मथलो सबैलाई प्यारो हुन्छ । चराहरू पनि आफ्नो पुख्र्यौली थलो भुल्न नसकेर फर्किन्छन् । अर्को वर्ष फेरि अतिथि बनेर आउँछन् । घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रमा रहेका छन् । त्यस्तै रैथाने प्रजातिका दर्जनौं माछाहरू, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजननस्थल बनेको रहेछ घोडाघोडी ताल । ताल र सिममसार क्षेत्र वरपर अतिलोपोन्मुख मानिने जंगली धानसमेत पाइन्छ ।
घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरू, ३२ प्रजातिका पुतलीहरू, ११ प्रजातिका गोहीहरू, ७ प्रजाति घ्रसिने जन्तुहरू, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेको अनुसन्धानले बताउँछ । संसारको दुर्लभ र अन्यत्र कतै नभेटिने हरियो टाउके माछा, रातो टाउको भएको कछुवा, तीनधर्के बाघ, पाटेबाघ, विशेष जातिको चितुवा र स्वच्छ पानीको ताल यसको विशेषता हो ।
संसारमै निकै बहुमूल्य मानिने सतीसाल, साल, खयर साजको जंगलसमेत घोडाघोडी ताल क्षेत्रको अर्को विशेषता हो । पर्यटकहरू लोपोन्मुख वनस्पति र जीवहरूको अनुसन्धानको लागि महत्वपूर्ण प्रयोगशाला हो घोडाघोडी ताल । अर्को शब्दमा भन्नुपर्दा अध्येताका पर्यटकहरूका लागि ठूलो विश्वविद्यालय पनि हो । घोडाघोडी ताल संसारकै समृद्ध जैविक संरक्षण क्षेत्र पनि हो ।
नेपालको दुर्लभ सूचीमा परेको घडियाल गोहीको संरक्षणका लागि तालको मध्यभागतिर गोही प्रजनन केन्द्र निर्माण गरिएको छ । त्यस्तै हिउँदमा आउने फिरन्ते चरा र स्थानीय चराचरूङ्गीको प्रजनन केन्द्रका लागि तालको छेउछाउको जंगलतिर चरा प्रजनन केन्द्र बनाइएको छ । यहाँको मनोरम क्षेत्रले पर्यटकहरू रमाउने गर्दछन् ।
प्रत्येक वर्ष मंसिर महिनाको विवाह पञ्चमीका दिन घोडाघोडी क्षेत्रका चौधरी जातिले तालको छेउमा रहेको घोडाघोडीलाई देवता मानि पूजा गर्ने गर्दछन् । तालको दक्षिण किनार राजमार्ग छेउमा रहेको घोडाघोडी बाबाको मन्दिरमा परेवा, हाँस, बंगुर, कुखुरा आदिको बली पनि दिने गरिन्छ । थारू जातिको ल्वाङी पूजा, मोहत्याल पूजा गरेर बाबाको आशीर्वाद लिने गर्दछन् । शिवरात्रि, माघेसंक्रान्ति र कृष्ण जन्माष्टमीका दिन घोडाघोडीमा मेलासमेत लाग्ने गर्दछ । आदिवासी थारू जाति प्रकृतिको रक्षक र परम मित्र हुन् । थारू जातिको प्रकृतिसित जीवित सम्बन्ध रहेको छ । घोडाघोडीमा अर्को धार्मिक महत्वको स्थल सीताकुण्ड ताल क्षेत्र पनि हो । घोडाघोडी तालको जलस्रोतको भण्डार भनेर सीताकुण्डलाई मानिन्छ ।
कतिपय वाह्य पर्यटकहरू प्रकृति संरक्षणविद्, अनुसन्धानकर्ताका लागि घोडाघोडी आउने गर्दछन् । संरक्षणका साथै प्रचारप्रसार हुन थालेपछि हिउँदमा साइवेरियन चराको अध्ययन गर्न र लोपोन्मुख विभिन्न जातिका जलचर, स्थलचर तथा जैविक विविधताको दृश्यावलोकन र खोज अध्ययन गर्न विभिन्न मुलुकका अध्ययनकर्ता तथा पर्यटकहरू आजभोलि घोडाघोडी ताल पुग्ने गरेका छन् ।
नेपालको सन्दर्भमा भन्नुपर्दा तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र घोडाघोडी हो । विश्वका १ हजार ३१४ वटा रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली घोडाघोडी ताल क्षेत्रमा मात्र पाइन्छ । घोडाघोडी ताल संरक्षण र त्यसको विकासका लागि स्थानीय जनताको सक्रियतामा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको गठन भएको छ ।
अन्तर्राष्ट्रिय महत्व बोकेको घोडाघोडी सांस्कृतिक, धार्मिक र जैविक अध्ययनका हिसाबले अत्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । घोडाघोडी ताल, शहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुमफिर गर्न जाने पर्यटकहरूका लागि सबैभन्दा उपयुक्त गन्तव्य मानिन्छ । तालको मुख्य प्रवेशद्वार अगाडि आकर्षण दुईवटा घोडाको प्रतिमा बनाइएको छ । पर्यटकहरूलाई ताल क्षेत्रमा प्रवेश गर्दा घोडाघोडीले नै स्वागत गरेको झै लाग्दछ ।
घोडाघोडी ताल क्षेत्रमा १९ वटा तालतलैयाले ओगटेको छ । १९ वटा तालहरूमध्ये नखरोड ताल सबैभन्दा ठूलो मानिन्छ । त्यसबाहेक घोडाघोडी तालको वरपर पूर्वीआर्जुवा, आर्जुवा वैसवा, बूढी नखरोड, खर्कटुवा, छिडटुवा, टेडी प्रशिवा, सुनपोखरी, रामफल, टेकनवासमेतका तालहरू रहेका छन् । पछिल्लो समय घोडाघोडी तालको राजमार्ग नजिक मानिसहरूको बसोबास बढ्न थालेको छ । जसले गर्दा प्राकृतिक पानीको स्रोतहरू सुक्दै जान थालेको छ ।
घोडाघोडी तालबाट खेतबारीको सिँचाइको लागि पानीको प्रयोग गर्ने, माछा मार्ने तथा वन्यजीवजन्तुहरूको चोरी शिकारीका कारणले पनि घोडाघोडी तालले आफ्नो सौन्दर्य र विविधतालाई गुमाउँछ कि ? भन्ने शंका उत्पन्न हुन थालेको छ । यसले धार्मिक, पर्यटकीय र वातावरणीय क्षेत्रको अस्तित्व गुम्ने खतरा बढेको छ । यसलाई रोक्न अब स्थानीय तहका जनप्रतिनिधिहरू, समाजसेवी र प्रकृतिप्रेमीहरू लाग्न पर्दछ । घोडाघोडी ताल कैलालीको मात्र सम्पदा होइन । यो नेपालकै धरोहर मानिने सम्प्रदा हो ।
पर्यटकहरूका लागि घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरू पनि सञ्चालनमा छन् । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकहरूका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ । थारू जातिको संस्कृतिमा रमाउन खोज्ने कतिपय पर्यटकहरू बास बस्न माघीगाउँमा पुग्दछन् । माघीगाउँमा होमस्टे सञ्चालनमा आएपछि पर्यटकहरूलाई खान बस्नको सुविधा भएको छ ।
पर्यटकहरू गाउँले परिवेशमा घुलमिल गर्छन्, थारू नाच हेर्छन् र स्थानीय संस्कृतिमा रमाउँछन् । राजमार्गबाट चार किलोमिटरभित्र माघीगाउँ पुगेपछि पर्यटकहरूलाई पाहुनाको रूपमा स्वागत गर्ने प्रचलन छ । माघीगाउँका १४ वटा घरमा होमस्टे सञ्चालनमा छन् । होमस्टेमा पर्यटकहरूलाई थारू समुदायले संस्कृतिका सखिया, लाठीलगायत थारू नाच देखाएउने गर्दछन् ।
कैलालीको घोडाघाडी ताल पुग्न यातायातको दृष्टिकोणले सुविधा मानिन्छ । काठमाडौंदेखि धनगढी दैनिक नेपाल एयरलायन्स, बुद्ध, सौर्य र श्री एयरलायन्सको हवाई सेवा रहेको छ । कम खर्चमा यात्रा गर्न इच्छुक पर्यटकहरूको लागि बसको यात्राबाट पनि घोडाघोडी ताल पुग्न सकिन्छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा रहेको कर्णाली चिसापानी पुलदेखि ३७ किलोमिटर र धनगढीबाट ५३ किलोमिटरको दुरीमा घोडाघोडी ताल पर्दछ । काठमाडांै, पोखरा र विराटनगर क्षेत्रबाट घोडाघोडी घुमघाम गर्न जाने पर्यटकले कम्तीमा एक हप्ताको समय निकाल्न सके राम्रो हुन्छ । यातायात खर्चबाहेक घोडाघोडी ताल घुमफिरको लागि दैनिक १ हजार ५० सय खर्चको आवश्यक पर्दछ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here