सरीता चौधरी
दाङ, १२ मंसिर । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले चालु वर्षको कार्तिक मसान्तसम्म राजस्व संकलनको ८६ दशमलव ०६ प्रतिशत लक्ष्य पूरा गरेको छ । कार्यालयले चालु वर्षको कार्तिक मसान्तसम्ममा ६७ करोड ९६ लाख १७ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८६ दशमलव ०६ प्रतिशत अर्थात् ५८ करोड ४८ लाख ७९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष ०७९/०८० मा चार महिनाको अवधिमा ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षमा ४ दशमलव ४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी तथा कर अधिकृत प्रेम बहादुर सुनारले जानकारी दिए । उनका अनुसार कार्यालयले गत आर्थिक वर्ष ०७९/०८० को कार्तिक मसान्तसम्म ६८ करोड ७६ लाख ९२ हजार रूपैयाँ राजस्वको लक्ष्य राखेकोमा ५६ करोड ८० हजार अर्थात् ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको थियो ।
कार्यालयले चालु आर्थिक वर्षमा चार महिनामा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गतवर्षको तुलनामा ४ दशमलव ४ प्रतिशत बढी राजस्व वृद्धि गरेको हो । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्मको चार महिनाको अवधिमा आय करबाट २७ करोड १२ लाख ४६ हजार, बहाल करबाट ४९ लाख ७ हजार, ब्याज करबाट १५ करोड ८१ लाख एक हजार, आन्तरिक करबाट १६ करोड ९४ लाख ३१ हजार, आन्तरिक उत्पादन कर १२ करोड ३४ लाख ८४ हजार राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष ०७९/०८० मा तीन अर्ब ७ करोड ३० लाख ९२ हजार रूपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको थियो । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा २४ दशमलव ६७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । गतवर्ष दुई अर्ब ३१ करोड ५१ लाख ५ हजार अर्थात् ७५ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत सुनारले बताए ।
सूचना अधिकारी सुनारले गतवर्ष आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको बताए । ‘गतवर्ष विभिन्न कारणले लक्ष्यभन्दा कम राजस्व संकलन भयो’ उनले भने– ‘कोभिडको कारणले अर्थतन्त्रमा आएको उतारचढावले राजस्व संकलनमा पनि कमी आयो ।’ कोभिडको असर अझै पनि बजार देखिएको र बजारमा आर्थिक समस्या देखिएको उनको भनाइ छ ।
चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा राजस्व संकलनको लक्ष्य कम रहेको छ । चालु आर्थिक वर्ष ०८०/०८१ को राजस्व संकलनको वार्षिक लक्ष्य तीन अर्ब दुई करोड १४ लाख १३ हजार रहेको कार्यालयले जनाएको छ ।
यसैबीच सूचना अधिकारी सुनारका अनुसार आर्थिक वर्ष ०७९/०८० को असार मसान्तसम्म आय करको १४ करोड ९० लाख ५३ हजार नौ सय ८० रूपैयाँ बक्यौता रकम रहेको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ७० लाख ३१ हजार ५ सय ४८ रूपैयाँ बक्यौता रहेको छ । ‘व्यक्तिगत फर्महरूको पनि बक्यौता रहेको छ’ उनले भने–‘सबैमा बक्यौता छ, नियमित करदाताले आफूले घोषणा गरेको मूल्य अभिवृद्धि आयकरहरू र कर कार्यालयले निर्धारण गरेका बाँकी बक्यौता रहेको हो ।’
आन्तरिक राजस्व विभागले यस वर्षदेखि एक करोडभन्दा बढी कर बुझाउने करदाताहरूले मासिक रूपमा कर बुझाउनुपर्ने र एक करोड भन्दा कम कर बुझाउने करदाताहरूले चौमासिक रूपमा विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
एक लाख बढी करदाता
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा एक लाख बढी करदाताहरू रहेका छन् । व्यक्तिगत स्थायी लेखा नम्बर लिने ९९ हजार ९८९ र आयकरमा दर्ता भएका व्यावसायिक रूपमा कारोबारमा रहने गरी ४० हजार ७६३ करदाता रहेका छन् । जसमा मूल्य अभिवृद्धि करमा ४ हजार ७७१, शिक्षामा ७८, अन्तःशुल्क ३ हजार ५१६ र अग्रिम करकट्टी ५७९ गरी एक लाख १३ हजार ३१ करदाता रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यसको कार्यक्षेत्र दाङ, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान र प्यूठान जिल्ला रहेको छ । जसमा करदाता सेवा कार्यालय चकचके प्यूठानले प्यूठान र रोल्पा जिल्ला हेर्ने गरेको छ भने करदाता सेवा कार्यालय सल्यानले सल्यानलगायत रूकुम पूर्व र रूकुम पश्चिम जिल्ला हेर्ने गरेको छ । तुलसीपुरको कार्यालयले दाङको हेर्ने गरेको छ ।