सल्यान, १२ मंसिर । मर्यादित महिनावारी र स्यानेटरी प्याड निर्माणसम्बन्धी तालिम सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरू भएको छ । महिनावारीसम्बन्धी संकुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई पवद्र्धन गर्नका लागि दुईदिने तालिमको आयोजना गरिएको हो ।
छत्रेश्वरी गाउँपालिका, वास इकाईको आयोजनामा सोमबारदेखि सुरू भएको तालिममा महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालयका छात्रा, महिला शिक्षक, धामी, झाँक्री तथा पुजारीहरूको पनि सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरूप्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, स्वास्थ्य संयोजक केशरीदेवी भट्टटराई, वास सम्पर्क व्यक्ति मिलन कुमार वलीलगायतको सहभागिता थियो ।
महिनावारी प्राकृतिक कुरा भएको र यसका बारे सचेतना फैलाउन आवश्यक रहेकाले धामी तथा पुजारीहरूलाई पनि तालिममा सहभागी बनाइएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । घरेलु प्याड निर्माण तालिमसँगै मर्यादित महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखीकरण गरिने उनले जनाए ।
वास संयोजक निमराज केसी र पुष्पा केसीले तालिममा प्रशिक्षण तथा अभिमुखीकरण गरिरहेका छन् । छत्रेश्वरी गाउँपालिका र सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) परियोजनाअन्तर्गत मर्यादित महिनावारी प्रवद्र्धन एवं महिनावारी स्वच्छता सुधारका लागि तालिमको आयोजना गरिएको गाउँपालिकाका वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।
सामग्री प्रदर्शन
यसैबीच छत्रेश्वरीमा सरसफाई तथा स्वच्छता सामग्री प्रदर्शन गरिएको छ । छत्रेश्वरी–६ लान्तीमा भएको कार्यक्रममा कम पानी चाहिने सुधारिएको सौचालय निर्माणका लागि नयाँ स्याटोका उत्पादित सामग्रीहरूको प्रदर्शन गरिएको हो । अशक्त, अपांगता भएका, बालबालिका, ज्येष्ठ नागरिक लगायतका प्रयोगकर्तामैत्री सुधारिएको शौचालय निर्मान गर्न जरूरी रहेको भन्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सरसफाई र स्वच्छता अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
सुस्वा आयोजनाका सरसफाई विज्ञ गोविन्द रोकायले स्याटो उत्पादनका नयाँ सामग्रीहरू आइ ट्रयाप, स्टुल, स्याटो प्यान, स्याटो हात धुने स्थान र एडप्टरको प्रदर्शनसँगै, यी सामग्रीका विशेषता र प्रगोग गर्ने तरिकाको बारे जानकारी गराएका थिए । उनले स्याटोका सबै सामग्रीहरू उच्च गुणस्तरको पोलिप्रोपिलिन प्लास्टिकबाट बनाइएको हुने बताएका छन् ।