सरद विष्ट
प्यूठान, १२ मंसिर । नेपाल जेसुईट सामाजिक संस्थाले प्यूठानको ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा ग्रामीण शैक्षिक सुुधार कार्यक्रमअन्तर्गत प्राविधिक शैक्षिक सामग्री जडान गर्न सुरू गरेको छ ।
आइतबार स्वर्गद्वारी नगरपालिकाको ग्रामीण बस्तीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय वडा नं. ५, खलधारामा एक कार्यक्रमका बीच संस्थाका निर्देशक फादर रोयले नगरपालिकाको नगर प्रमुख टेकप्रसाद भण्डारीलाई प्राबिधिक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
उक्त संस्थाले स्मार्ट टेलिभिजन एक थान, ट्यापलेट र इन्टरनेट उपलब्ध गराएको त्यसै वडाका वडा अध्यक्ष गिरबहादुर घर्ती मगरले जानकारी दिए । कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालन भएको उक्त विद्यालयमा कक्षाकोठालगायत अन्य भौतिक पूर्वाधारको राम्रो व्यवस्था नभएको अवस्थामा यस्ता सामग्री विद्यालयले प्राप्त गर्नु एउटा शौभाग्य रहेको कुरा विद्यालयका प्रधानाध्यापक डेम प्रसाद उपाध्ययले जानकारी दिए ।
विद्यालयमा हाल आठजना शिक्षक र झण्डै १ सय २० जना विद्यार्थीहरू अध्ययनरत छन् । विद्यार्थीहरूलाई निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरी पठनपाठन गराउँदै आएको यस विद्यालय नगरमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको उपाध्यायले जानकारी दिए । वडा अध्यक्ष घर्तीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख टेक प्रसाद भण्डारी रहेका थिए ।
अहिलेको युग प्रविधिमय भएकोले यसलाई हाम्रो शिक्षासँग जोड्नुपर्ने र शिक्षकहरूलाई पनि सोही अनुसार अपडेट गराउनुपर्ने प्रमुख अतिथिको धारणा थियो । प्रविधि हस्तान्तरण कार्यक्रममा प्यूठानका प्रहरी प्रमुख ईश्वर थापाको पहलमा नेपाल जेसुईट सामाजिक संस्थाले प्यूठानका दुर्गम क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई प्रविधिसँग जोड्न र शिक्षण कार्यमा सफलता प्राप्त गर्न प्रबिधि जडान गरेको संस्थाका निर्देशकले जानकारी दिए ।
नगर उपप्रमुख मिनराज राना, शिक्षा समन्वय प्यूठानका प्रमुख शिवराज पण्डित, अभिभावक, विद्यार्थीलगायत अन्य जनसमुदायको पनि उपस्थिति थियो । वडा अध्यक्ष गिरबहादुर घर्तीमगरले जेसुईट संस्थाले विद्यालय परिवारलाई प्रविधि सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै आम अभिभावकहरूलाई बिलासी सामग्री र घरघडेरी खरिद गर्नुभन्दा बालबालिकाहरूको शिक्षामा लगानी गर्न जोड दिएका थिए ।