जाजरकोटको बारेकोट रामीडाँडामा केन्द्रविन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प यहि कार्तिक १७ शुक्रबार मध्यरातमा गएको थियो । भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा सयौं मानिसहरूको मृत्यु भएको छ भने कयौँ मानिसहरू घाइते भएका छन् । भूकम्पले धेरै गाउँका घरहरू भत्केका छन् । योभन्दा पहिला असोज ३ गते बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले मानवीय क्षति धेरै नभए पनि सयौँ घर, विद्यालय र सरकारी भवनहरू भत्किएका थिए ।
आजभन्दा ९० वर्ष अगाडि अर्थात् वि.स. १९९० साल माघ २ गते भूकम्प जाँदा नेपालमा सबैभन्दा बढी क्षति काठमाडौंमा भएको थियो । त्यसबेला पनि काठमाडौंमा घनाबस्तीहरू थिए । घरको निर्माण वैज्ञानिक शैलीमा थिएन । वि.स. १९९० को भूकम्पपछि ५५ वर्षमा अर्को २०४५ भदौ ५ गते आयो । पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको त्यो भूकम्प ६. दशमलव ३ रेक्टर स्केल रहेको थियो । बिहानीपख आएको भूकम्पले ४० सेकेण्डमा पूरै नेपाल हल्लाएको थियो ।
त्यसपछि ०६८ असोज १ गते गएको अर्को भूकम्पले पनि नेपालमा मानवीय र भौतिक क्षति पु¥याएको थियो । पछिल्लो पटक २०७२ बैशाख १२ गोरखाको बारपाकमा केन्द्र भएको ७ दशमलव ६ रेक्टर स्केलको विनासकारी भूकम्पले ८ हजार मानिसहरूको ज्यान गयो । ३ सय ५० वटा ऐतिहासिक संरचना पूरै ध्वस्त भए । ३ लाख घरहरू पूर्णरूपमा भत्किए भने २ लाख घर पनि बस्न नमिल्ने अवस्थामा पुग्यो ।
भूकम्पसम्बन्धी इतिहासलाई फर्केर हेर्ने हो भने नेपालीहरू भूकम्पको जोखिम बहन गर्न तयार रहनुपर्दछ । भू–गर्वविद्का अनुसार भूकम्पको कारण नै टेथित सागर रहेको स्थानमा मोडदार पहाडहरूको उत्पत्ति भई नेपालको भूगोल बनेको हो । नेपाली भूमिको गर्भमा युरेसीयन र भारतीय चट्टानी प्लेटको संयोजन रहेको छ । यी दुई प्लेट आपसमा खिचिदा पर्ने चापका कारण भूकम्प जाने सम्भावना भै रहने हुन्छ ।
भू–गर्वविद्का भनाइमा, भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिँडिरहेका हुन्छन् । जब तिनीहरू एकआपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । भूकम्प तीन थरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ ।
बढी क्षति गर्ने ३० किमीसम्मकोले हो । भूकम्पको दुईवटा वेभ हुन्छ । एउटा बडी वेभ र अर्काे सर्फिस वेभ । बडी वेभमा प्राइमरी र सेकेण्डरी तथा सर्फिस वेभमा रेली र लव भन्ने दुई फरक–फरक प्रकार हुन्छ । बडी वेभले कम र सर्फिसले बढी क्षति गर्छ । सिद्धान्ततः भूकम्प होरिजेण्टल र भर्टिकल वे मा जान्छ । तर कहिलेकाहिँ दुवै मिलेर आइदियो भने ठूलो क्षति हुन्छ ।
भूकम्प दैनिकजसो गइरहेको हुन्छ । तर हामीले पत्तो पाउँदैनौं । १ देखि ४ रेक्टर स्केलसम्मको भूकम्पले क्षति गर्दैन । ५ रेक्टर स्केलभन्दा माथिको भूकम्पले क्षति पु¥याउँछ । सामान्य भूकम्पको मापन गरिँदैन । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी । स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । यो धेरै आधिकारिक र विश्वशनीय हुँदैन ।
रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मात्र मापन हुन्छ । हालसम्म संसारमा सर्वाधिक ९.५ रेक्टर स्केलको भूकम्प गएको छ । चिलीमा गएको विनासकारी भूकम्प नै अहिलेसम्मको ठूलो हो । यस्तै इण्डोनेसियामा ९.३ र जापानमा सन २०११ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा विक्रम सम्वत १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलोे भूकम्प आउने गरेको छ ।
नेपाल सबैखाले प्राकृतिक विपत्को उच्चजोखिममा रहेको देश हो । अझ भूकम्पका दृष्टिले त यो जोखिम अझ बढी मानिन्छ । नेपाल भूकम्पीय जोखिमका दृष्टिले ११औँ जोखिमयुक्त क्षेत्रमा पर्दछ । भूकम्पबाट स्कुल तथा अस्पताल बढी असुरक्षित हुन्छन् भन्ने मान्यता रहेको छ । कमजोर भौतिक संरचना, अव्यवस्थित बस्ती, निर्माण संहिता विपरीतका भवन लगायतका कारणले जोखिम बढाउँदै लाने गर्दछ ।
भू–गर्भविद्को भनाइ अनुसार नेपालमा भूकम्प जानुका प्रमुख कारण भारतीय भू–खण्डको उत्तरतिर भइरहेको विस्थापन हो । भारतीय भू–खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ सरिराखेको छ । यो क्रममा करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ । यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भूकम्पका तरंगहरू चारैतिर प्रसारण हुन थाल्छ । भूकम्पले सधैं र सबै स्थानमा एकै किसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्दछ ।
भूकम्प कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिँदैन । तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरूङ्गी एकाएक कराउनु, गाईवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भूकम्प जानसक्ने संकेत हुन सक्छ । यस अवस्थामा सर्तक रहनुपर्ने हुन्छ । असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण आचारसंहिताको पालना गर्ने, दराज, ¥याक आदिलाई राम्ररी बाँधेर वा काटी कब्जा लगाएर नहल्लिने बनाउने, विषादी, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउँमा राख्ने, भूकम्प गैहाल्यो भने ढोकाको चौकोस, खाट, टेबुल आदि स्थान मुनी बस्ने, ग्याँस चुलो, बिजुली आदि तत्काल बन्द गर्ने, यसबाट भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । भूकम्पको भविष्यवाणी गर्न सकिदैन । तर भूकम्पबाट बच्ने उपाय भने भूकम्प पूर्व गर्न सकिन्छ ।
भूकम्प दैवी प्रकोप हो । यसमा मानिसको कुनै संलग्नता रहँदैन । मानिसले रोकेर भूकम्प रोकिने पनि होइन । भूकम्प आइसके पछि मानिसले क्षति व्यहोर्नु शिवाय केही हुँदैन । तर पनि गर्न के सकिन्छ भने सामान्यतया भूकम्पबाट कुन अवस्थामा बढी जोखिम हुन्छ । पुराना अनुभवबाट सिकेर क्षति कम होस् भनी सतर्कता भने अपनाउन सकिन्छ । जब भूकम्प रोकिन्छ, त्यसबाट भएको क्षतिबाट नयाँ जोखिमहरू उत्पन्न हुन्छन् । यस्ता जोखिममा आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी आउनु आदि पर्दछन् ।
मानिसहरूले यस्ता जोखिमहरू छन् भनी ध्यान दिनु पर्दछ र जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ । यदि तपाईं घरभित्र हुनुहुन्छ भने भित्रै बस्नुहोस् । सजिलै फुट्न सक्ने र चोट लाग्न सक्ने चीज, सिसा, धारिला हतियारदेखि टाढा रहनुहोस् । भूकम्पबाट बच्नका लागि टेबुलमुनि वा अन्य बचाउ गर्नसक्ने फर्निचरमुनि जानुहोस् र कम्पन नरोकिएसम्म यथास्थानमा रहनुहोस् । कम्पन रोकिएपछि मात्र बाहिर खुला ठाउँमा निस्कनुहोस् पर्खाल तथा ठूूला भवनहरूबाट पनि बच्ने प्रयास गर्नुहोस् ।
भूकम्पबाट बच्ने केही उपायहरू अब हामीले अपनाउनु पर्दछ । भूकम्प तथा यस्ता प्राकृतिक प्रकोपसम्बन्धी सचेत रही त्यस सम्बन्धी योजना बनाएर मात्र घर निर्माण र अन्य कार्यहरू गर्ने बानीको विकास गर्नुपर्दछ । भूकम्पबाट कसरी बच्ने त ? यो सबैले जान्न पर्दछ । भूकम्प आईहालेको खण्डमा घरबाहिर भएका मानिस भित्र जाने कोसिस गर्नुहुँदैन भने घरभित्र भएका मानिस बाहिर निस्कनु हँुदैन । भूकम्प जाँदा घर बाहिर हुनुहन्छ भने बाहिरै बस्नुहोस् । पर्खाल, सिसा, बोर्डजस्ता भाँचिएर भत्केर चोट लाग्न सक्ने चीजहरूबाट टाढा रहनु होस् ।
पहाडी, हिमाली तथा अग्लो ठाउँमा हुनुहुन्छ भने पहिरो तथा चट्टान खस्ने सम्भावना हुने भएकोले त्यस्तो ठाउँमा नबस्नुहोस् । भूकम्पका कारणले नदीनालाहरूमा बाढी जान सक्ने भएकाले नदी नालाहरूको नजिक नबस्नुहोस् । भूकम्पका पराकम्पहरूले पहिरो जान सक्ने हुनाले त्यस किसिमको स्थानमा नबस्नुहोस् । कम्पन रोकिएकछि इँट्टाका पर्खाल, भवनहरूबाट पर बस्नुहोस् ।
शहर बजारमा घर बनाउँदा नक्सा पास गराएर बनाउने नियम छ । तर पनि मानिस धेरैले नक्सा पास गराउँदैनन् । जसले गर्दा कुन घर भूकम्परोधी छ र कुन छैन भन्ने कसैलाई जानकारी हुँदैन ?
भरपर्दो परिक्षण नभईकन भत्किएका संरचनाभित्र नपस्नुहोस् । भूकम्पका पराकम्पहरूले पनि थप क्षति निम्त्याउन सक्छन् र चोटपटक लाग्न सक्छ । भूकम्प जम्मा ३० सकेण्डदेखि १ मिनेट भित्र मात्रै जाने भएकाले क्षति पनि सोही अवधिमा मात्रै हुन्छ । त्यसैले त्यो अवधिसम्म सुरक्षा सतर्कता अपनाउनु पर्दछ । भूकम्प आएको थाहा पाएपछि नदौड्ने, नहडबडाउने र संयमता अपनाउनुपर्छ ।
भूकम्पले घनाबस्तीमा नराम्रो असर पार्दछ । बस्ती बाक्लो, साँघुरो बाटो, खुला भूमिको कमी र अग्ला–अग्ला भवनको कारण गाउँमा भन्दा घनाबस्तीको शहरमा बजारमा ठूलो क्षति हुन्छ । ठूला शहर बजारमा ठाउँको अभाव हुन्छ र अग्ला–अग्ला घर बनाइन्छ । बस्ती बाक्लो नभएको गाउँ घर अथवा टोलमा भूकम्प आइहाले पनि त्यति क्षति हुँदैन । क्षति भए पनि तुलनात्मक रूपमा शहरका बस्तीमा भन्दा कम हुन्छ ।
भूकम्पलाई कसैले रोक्न नसक्ने भएकोले भूकम्पको बेला तत्काल विचार पु¥याउनुपर्ने पक्ष भनेको आफ्नो र अरूको बचाउ हो । भूकम्प आउने बित्तिकै डराउनु र भाग्नुभन्दा सुरक्षित स्थानमा बस्ने प्रयास गर्नुपर्छ । भूकम्पबाट बच्ने उपाय जनचेतना पनि हो । भूकम्पसम्बन्धी चेतना विद्यालय कलेज र कार्यालयमा मात्र होइन टोल टोल र गाउँ–गाउँको वडामा फैलाउने काम गर्नुपर्छ ।
शहर बजारमा घर बनाउँदा नक्सा पास गराएर बनाउने नियम छ । तर पनि मानिस धेरैले नक्सा पास गराउँदैनन् । जसले गर्दा कुन घर भूकम्परोधी छ र कुन छैन भन्ने कसैलाई जानकारी हुँदैन ? जग्गाको अभावले मानिसहरू घरमाथि घर बनाउँदै छन् । अर्थात् भूकम्पले घर थर्कियो भने भागेर खुला ठाउँमा पुग्ने पनि कतिपय शहर बजारका टोलहरूमा स्थान छैन ।
नेपालको लगभग सबै क्षेत्रमा भूकम्पीय जोखिम उत्तिकै छ । सबै क्षेत्रका बासिन्दाले उत्तिकै पूर्वसावधानी अपनाउनुपर्ने जरूरी छ । अब हामीले भूकम्पको नियम बुझ्नु, हाम्रा संरचनाहरूलाई भूकम्पमैत्री बनाउनु र अर्को महाभूकम्पको सामना गर्न तयारी अवस्थामा रहनुबाहेक अर्को विकल्प छैन ।
नेपालमा भूकम्पको इतिहास
नेपालमा वि.सं १२१८ को भूकम्प रेकर्ड गरिएका मध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । यो भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । वि.स. १३१६ को भूकम्प दोस्रो ठूलो भूकम्प थियो ।
यो भूकम्पले पनि धेरै क्षति पु¥याएको थियो । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो । त्यसपछि करीब १४९ वर्षपछि वि.स. १४६५ को भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर जमिनमा ठूला–ठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए ।
वि.स. १७३७ सालमा पनि भूकम्प गएको थियो । वि.स. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्प गएको थियो । वि.स. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौँ र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने भत्किए । यस्तै वि.स. १८८० यमपञ्चकका दिन भूकम्प गएको थियो । त्यस दिनमा १७ पटक भूकम्प गएको थियो ।
वि.स. १८९० को महाभूकम्प भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो ।
त्यही दिन राति ११ बजे पनि पुनः भूकम्प गयो । जसका कारण हनुमानढोका भित्रको भण्डारखालमा राजाहरूले र टुडिखेलको खुलाचौरमा सर्वसाधारणले रात कटाएका थिए । यो भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपामा ठूलो क्षती भयो ।
काठमाडौँमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । त्यो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प पनि गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस बनायो । भूकम्प गएको एक वर्षपछि वि.स. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गएको थियो ।