सल्यान, ६ मंसिर । सल्यानमा अन्तरपालिकास्तरीय पुरूष भलिबल प्रतियोगिता सोमबारदेखि सुरू भएको छ । जिल्ला भलिबल संघ सल्यानको आयोजनामा त्रिवेणी गाउँपालिका वडा नं. ६ लुहाममा अन्तरपालिका स्तरीय पुरूष भलिबल खेलाडी छनौट प्रतियोगिता सुरू भएको हो ।
सोमबारदेखि उद्घाटन भएको प्रतियोगिता आज ६ गते समापन हुनेछ । कर्णाली प्रदेश भलिबल संघको आयोजनामा २०८० मंसिर २० देखि २५ गतेसम्म वीरेद्रनगर सुर्खेतमा सञ्चालन हुने ३४औं राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता तथा २०८० मंसिर ७ देखि ९ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगितामा सल्यान जिल्लाबाट टिम सहभागी गराउन जिल्लामा अन्तरपालिका–स्तरीय खेलाडी छनौट प्रतियोगिताको आयोजना गरिएको आयोजनकले जनाएको छ ।
जिल्ला भलिबल संघ सल्यानका अध्यक्ष खेमराज केसीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम रहेका थिए । अन्य अतिथिहरूमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सीता खडका पुन, विभिन्न पालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सुरक्षाकर्मी, खेलाडी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।